काठमाडौँ — कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि पूर्वतयारीको रूपमा नेपाली सेनाले बिहीबारबाट सैनिक मुख्यालय जंगी अड्डामा ‘विपद् व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । कोरोना भाइरस नेपालमा देखा परे कसरी अघि बढ्ने भन्ने बृहत् छलफल गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा बिहीबार बसेको सेनाका उच्च अधिकृतहरुको बैठकले विपद् व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मेवारी युद्ध कार्य निर्देशनालयलाई दिएको छ । उक्त निर्देशनालयले कोरोना रोकथाम र नियन्त्रणलाई आवश्यक पर्ने औषधि र औजारहरुको पनि व्यवस्था गर्ने छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विपद् व्यवस्थापन केन्द्रलाई आपत्कालीन क्वारेन्टाइनको रुपमा प्रयोग गरिने छ। उक्त बैठकले पछि आवश्यक पर्ने सामग्रीहरुलाई मध्यनजर राखेर नपुग सामग्रीहरु पनि खरिदका लागि बजेट छुट्याएको छ। ‘आवश्यक सामग्रीहरु के–के छन्, खरिद प्रक्रिया पनि अगाडि बढाइने छ,’ पाण्डेले भने। उनले १० ओटा आइसियू बेड राख्नको लागि पनि पहल भइरहेको बताए।

सेनाले मंगलबार र बुधबार सैनिक मुख्यालयमा ‘कोरोना भाइरस रोकथाम प्रशिक्षण’ दिएको थियो। जसमा मुलुकभरका संगठन मातहतका अस्पताल र युनिटहरुबाट करिब ५० डाक्टरहरू भेला भएका थिए। उनीहरूलाई बिरामीलाई क्वारेन्टाइनमा राख्ने र आइसोलेसन वार्डहरु कसरी व्यवस्थित गर्ने विषयमा प्रशिक्षण दिइएको थियो। ‘उनीहरू प्रशिक्षण लिएर आफ्नो कार्यक्षेत्रमा फर्किसकेका छन्। त्यहाँ गएर उनीहरूले आफू मातहतका लागि प्रशिक्षण दिने छन्,’ पाण्डेले भने।

सेनालाई आफ्ना युनिट र अस्पतालहरुमा क्वारेन्टाइनका आवश्यक आइसोलेसन वार्डहरुको तयारी गर्नका लागि निर्देशन दिइसकेको बताए। सेनाले काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १० तथा पोखरा, इटहरी र नेपालगन्जका सैनिक अस्पतालहरुमा २/२ आइसोलेसन बेड तयार गरेको छ। यस्तै, अन्य १८ वटा फिल्ड एम्बुलेन्सहरु पनि तयारी गरिएको पाण्डेले बताए। सेनाका युनिटहरूमा २/२ वटा गरी ३६ आइसोलेसन बेड तयारी हुने उनले बताए।

यस्तै, पूर्वी पृतनामा २ सय बेडमा तयार पारिएको छ। ‘मोरङको टाँडीमा एक सय २ ओटा टेन्ट गाडेर बेड राख्ने व्यवस्था बुधबार सकिएको छ,’ पाण्डेले भने। झापाको कृषि प्रशिक्षण केन्द्र कलबलगुडीमा ४० ओटा बेड तयार गरिएको छ। उदयपुरको बेलसुद गणमा दुई सय ओटा बेड तयार हुने क्रम जारी छ।सेनाले विपद् पर्दा आवश्यक तयारीमा रहन भूतपूर्व सैनिकहरूलाई पनि भनिएको छ। यस्तै, राष्ट्रिय सेवा दलमा तालिम लिएका सम्पूर्णलाई पनि आवश्यक पर्दा काम गर्न तयारीमा रहन भनेको छ। ‘सेनाले आफ्ना सम्पूर्ण पृतना, गण, वाहिनीलगायत सम्पूर्ण विभाग, निर्देशनालयहरुमा पत्र पठाउँद जोसँग मेडिकल शिक्षासम्बन्धी ज्ञान छ, उनीहरूको नामांकन गर्ने काम गरेको छ,’ पाण्डेले भने,‘आवश्यक पर्दा उनीहरूलाई परिचालन गर्नु पर्ने हुन्छ।’

पाण्डेका अनुसार सेनाले नाकामा नेपाल सरकारले गरिरहेको स्वास्थ्य परीक्षणमा पनि सहयोगका लागि सैनिकहरु खटाएको छ। पाण्डेले आफ्नो संगठनका हरेक स्थानमा धेरै जना भेला नहुने, ५ जनाभन्दा कम मात्र एक स्थानमा काम वा व्यायम गर्ने, बिदामा गएर फर्कनेका लागि केही दिन छुट्टै राख्नेलगायतका क्रियाकलाप गर्न निर्देशन दिइएको पनि बताए।