काठमाण्डौ । नेपाल पुनर्बिमा कम्पनीले आइपीओ निश्कासन गरेको तेश्रो दिनमै मागभन्दा झण्डै ३ गुणा बढीको हाराहारीमा आवेदन परेको छ ।

मंगलबारदेखि खुलेको आइपीओमा लगानीकर्ताले मरिहत्ते गरी आवेदन दिइरहेका छन् । तेश्रो दिन अर्थात बिहीबार साँझ ५ बजेसम्म आइपीओमा २.६२ गुणा बढी आवेदन परेको हो ।

सिडिएससीका अनुसार नेपाल पुनर्बिमा कम्पनीको आइपीओमा २ लाख ९९ हजार आवेदकबाट ३ करोड ९६ लाख ४५ हजार ५४० कित्ता खरीदका लागि माग भएको हो ।

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १०० अंकित दरका १ करोड ६० लाख कित्ता आइपीओ निश्कासन गरेको हो । कुल निश्कासित साधारण सेयरमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता सेयर ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी रहने १ करोड ५१ लाख २६ हजार ५०० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गरिएको हो ।

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सकिनेछ।

आइपीओमा चैत ७ गतेभित्र आवेदन दिन सकिनेछ ।

यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ प्रदान गरेको छ। ग्रेड २ रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको जनाउँछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ।