सर्वहारा वर्गका महान् नेता तथा दार्शनिक माओत्सेतुङले भन्नुभएको थियो– “संसारका सबैभन्दा ठुला विश्व विद्यालय प्रकृति र जनता हुन् ।”
माओको साहित्य र दर्शनसम्बन्धी यो लेख÷रचना पढ्नुभन्दा पहिलेदेखि नै मलाई प्रकृति र जनतामा घुलमिल भएर नयाँभन्दा नयाँ जानकारी लिन तीव्र रुचि हुने गर्दथ्यो । जुन दिन माओका रचना पढ्दापढ्दै माओ यो भनाइ भेटे, तब मन अझ खुसी भयो । अनि, सोही विचारको आधारमा आफूलाई परिष्कृत गरे ।
बलवान समयले डाेर्याउँदै  लैजान्छ । कहिले पूर्व लैजान्छ, कहिले पश्चिम पुर्याउँछ । कहिले पुर्याउँछ, हिमालको काखमा कहिले पुग्छ, तराईका फाँटमा । यसरी यसपटक पश्चिम नेपालको रोल्पा जानुपर्ने कार्यक्रम तय भयो । करिब एक हप्ता अगाडिदेखि रोल्पा जाने निश्चित नै थियो । मेरो स्थायी बासस्थान प्युठान भएको हुँदा र यसभन्दा पहिला पनि रोल्पा पटक पटक गएको हँुदा खासै नौलो लागेको थिएन ।


हाम्रो समूहमा जाने केही साथी पहिले पहिले रोल्पा जानुभएको थियो भने कोही साथीका लागि रोल्पा नयाँ थियो । रोल्पा छिमेकी जिल्ला पनि र न्याय, समानता र मुक्तिको नाममा भएको जनयुद्धमा रगतले रोल्पाली भूमिमात्र होइन, नेपाली भूमि सिँचाइ गर्ने वीरको जिल्लासमेत भएको हँुदा सबै साथीका लागि रोल्पा अनौठो नै थियो तर म रोल्पा र रोल्पालीको बारेमा गफ गरिरहन्थेँ– ढुक्क हुनुहोस्, म भएपछि रोल्पा मात्र होइन, कहिँ पनि नो टेन्सन ।
रक्तिमका गीत गुनगुनाउन र बजाउन कुनै समय कुरिँदैन । सायद बालापनमा ब्याट्रीको उचित सदुपयोग गर्नका लागि समय मिलाएर सुनिथ्थो, टाइगर र इभ्रिडे ब्याट्री टोकी टोकी । जब मोबाइल आयो, त्यसपछि गीत बजाउन कुनै समय कुरिएन । कुरियो मात्र मोबाइलको ब्याट्री हेरेर ।
पेशागत कामले गर्दा देशका विभिन्न जिल्लाका अनकण्टार र अति नै दुर्गम ठाउँमा जाँदा म काम सकिसकेपछि र थकान मार्दा रक्तिमका गीत र अन्तर्राष्ट्रिय गीत बजाउने गर्दछु । कुनै समय टोलीका साथीहरू जिस्काउनु हुन्छ– ‘सिमली छाया’ र ‘झरनाको चिसो पानी’ सुनौ न हो सर । यहाँ हालत उस्तै उस्तै भयो । तब म खुसीले गद्गद् नै हुन्छु, गीत सुनाउन पाएकोमा । तर म नयाँ ठाउँमा रक्तिमका गीत र अन्तर्राष्ट्रिय गीत बजाउनु कारण भोलि विज्ञान प्रविधिको विकास हुँदै जाँदा त्यो ठाउँको वायुमण्डलमा आवाज पहिला पहिला के सुनिन्थ्यो भन्ने प्रविधि आएमा रक्तिमका गीत र अन्तर्राष्ट्रिय गीत सुन्दा त्यो पुस्ताका न्यायप्रेमीलाई गर्व होस्, जनताका गीत यहाँ पनि सुनियो भनेर ।


यही समयमा एउटा घटनाको याद आयो । प्रायः ठाउँमा म रक्तिमका गीत र अन्तर्राष्ट्रिय गीत घन्काएर सबै साथीलाई सुनाउँछु । एकपटक भने एक्लै यति सानो आवाजमा सुनेँ कि म आफै अचम्म पर्छु । दोस्रो संविधान सभाको निर्वाचनको समयमा निर्वाचन गराउनका लागि काभ्रेपलाञ्चोक जिल्लाको डाडापारी फोक्सिङटार जानुपर्ने भयो । समूहमा सबै साथीहरू नयाँ नयाँ थियौँ । पूर्व परिचित हामी थिएनौँ र स्थान पनि बिल्कुल नयाँ ठाउँ परेकाले र निर्वाचनको समय परेको हुँदा गीत ठुलो आवाजमा सुन्न नसकिएको समय याद आइरहन्छ । अन्य समयमा गीत बजाउँदा वातावरणलाई नचाउन र जगाउन सकिन्छ कि भनेर नै आवाज अधिकतम नै बनाउने गर्दछु ।
रोल्पा यात्रामा हामी २०७६ मङ्सिरको १८ गते जाने तय भएपछि १७ गते समूहमा काठमाडौँको रुट तय गयौँ । त्यसपछि मलाई जुन यात्रा हामी गर्दै छौँ, सोसँग सम्बन्धित कामको बारेमा मात्र योजना आएन, कता कता रोल्पा जाने भनेपछि रोल्पाको थवाङसँग सम्बन्धित र जनवादी गीत–सङ्गीतलाई माया गर्नेको माझमा यो लोकप्रिय गीत मनमा आयो । अनि, गुनगुनाए :
“त्यो काख जलजलाको फौजी परेड खेल्छन
चिङकाङ झैँ यो बस्ती अडिग भइरहन्छ
गल्लीभरि सिपाही बन्दुक लिएर घुम्छन
हाम्रो फलामे किल्ला किल्ला बनिरहन्छ ।”
त्यसका साथै मोबाइल झिकेर गीत घन्काए पनि, त्यसपछि चुनु गुरुङको शब्द, स्वर र सङ्गीत भरेको जलजला रोल्पासँग सम्बन्धित गीत “तिमीसँग गहिरो माया बस्यो जलजला” सुनेँ ।
अर्को दिन अर्थात् १८ गते हाम्रो यात्रा रोल्पाका लागि तय भयो । मनमा गीत गुन्जाउँदा गुन्जाउँदै, गाडीमा गीत घन्काउँदै साथीहरूलाई गीतको पृष्ठभूमि बताउँदै यात्रा गरियो । गाडी आफ्नोमा गति अगाडि बढिरहेको थियो । हामी पनि सोहीअनुसार नै थियो । रोल्पा जाने साथीहरू कुरा गर्दै हुनुहुन्छ, सबै ठाउँ थाहा छ त तपाईलाई ? धेरै त थाहा छ, बाँकी पनि थाहा भएजस्तै हो भनेर जवाफ दिइयो । तर मेरो मानसपटलमा गाडीको बेगभन्दा बेसरी मूलत रक्तिमका गीत र अन्य जनवादी गीत घन्किरहे, जुन गीतले आवाजविहीनलाई आवाज माग्न सिकायो । अधिकारविहीनलाई अधिकार माग्न सिकायो । जुन गीतहरूले देश चिनायो, माटो चिनायो र सम्पूर्ण शोषित–पीडितका लागि र समुन्नत मानव समाजका लागि न्याय, समानता र मुक्तिको बाटो अघि बढ्न सिकायो । ती गीत निरन्तर आइरहे ।
मुग्लिङ पार गरिसकेपछि नेपाली युवाहरूले विदेशको तातो खाडीमा पसिना पोख्न जानुपर्दाको वर्तमानको समयमा पनि बेहाल अवस्था भएको आजभन्दा दशकअगाडिको जीवन शर्माको गीत “कालीगण्डकी, आँसुको समुद्र भयो जिन्दगी ” मस्तिष्कमा बज्न थाल्यो ।
गाडीको रफ्तार आफ्नै गतिमा छ । साथीहरू आ–आफ्नो धुनमा हुनुहुन्छ । जब नारायणघाट पुग्न थालियो, तब फेरि रक्तिमको अर्को कालजयी गीत “सागर भेट्न जाँदै छ नदी, सँगसँगै जाऊ” घन्कियो । गाडीको गति र मेरो मनमा गीतको घन्काइ आ–आफ्नो पारामा छ । जब गीत मगजमा घन्किन्छ, अनि रोल्पा सोच्छु, प्युठान सोच्छु । अनि, देशका पाखापखेरा, ती तमाम जोशिला युवाहरू सोच्छु, जुन मानवजातिका लागि लडे र लड्न चाहान्छन् ।
यात्रा हँुदै दाउन्नेको ओरोलो झरियो । देशको सौन्दर्यका कुरा गर्दै गयो । बर्दघाट पुग्दा फेरि रक्तिमको अर्को चर्चित गीत बज्न सुरु भयो– “कहिले त हिमालचुलीमा, कहिले मधेस फाँटमा ।”
गीत बजिरहेका छन् । रोल्पाको बारेमा र कामको बारेमा छलफल गर्दै हामी अगाडि बढ्यौँ । समयको गति र गाडीको गति आ–आफ्नै छ । हामी रोल्पा पुग्ने आँट र साहसका साथ अगाडि बढेका थियौँ । तर हामी महेन्द्र राजमार्गबाट रोल्पा छुट्टिने स्थान दाङ जिल्लाको भालुवाङ पुग्दा नै रात परिसकेको हुँदा हामी राप्तीको किनारामा बस्ने निर्णय ग¥यौँ । हामी राप्तीको सहायक नदी माडीको दायाबाया पुग्नु थियो तर सकेनाँै । माडीकै पानीको गुनगुन र आफ्नो गाउँको खोला छापे झिमरुकमा मिसिएको आवाज सुन्दै कहिले आफ्नो गाउँको भान र कहिले रोल्पाको पहिलाको अनुमान गर्दै भालुवाङमा बास बसियो ।
अर्को दिन, प्युठान हुदै रोल्पाको बाटोमा अगाडि बढियो । “अप्ठ्यारो घुमाउरो बाटो वनैवन, त्यो भन्दा राम्रो त तपाई–हाम्रो मन” भन्ने रक्तिमको पुरानो गीत मगजमा घन्काउँदै रोल्पातिर लागियो ।


रोल्पा प्रवेशसँगै हामी खुङ्ग्रीमा रोकियौँ, जहाँबाट हामीले हाम्रो कामको सुरुवात गर्नु थियो । रोल्पामा कामसँगै मनमा थवाङ जलजला आइरहन्थ्यो । रोल्पालीले मातृभूमिप्रति देखाएको अगाध माया, स्नेह, समर्पण मात्र मनमा दौडिने थिएन, मनमा दौडिन्थ्यो, रोल्पाली योद्धाले झै हामीले पढेका राता किताब, अन्यायका विरुद्ध लडेका रोल्पाली र अन्यायका विरुद्धमा न्यायोचित लडाइँ भए बलिवेदीमा हाम पाल्न तयार म र मजस्तै तमाम सचेत युवाहरू । हिजो न्याय, समानताका लागि ती योद्धाले लडेको समय र अहिले मातृभूमिलाई रगतले सिँचाइ गरे पनि आएको कति प्रतिशत परिवर्तन हो ? मापन गर्न कठिन परिवर्तनको वर्तमान समय । अनि सोच्छु, अन्याय, अत्याचार र सामन्तवादका विरुद्ध लडेको ठुलो जमात आज आफै अन्याय, अत्याचारमा मात्र पिल्सिएको छैन, नयाँ नयाँ प्रकारको सामन्तवादबाट दबिएको देख्दा आफै झसङ्ग हुन्छु । अब भोलिको दिनमा सबैखाले विकृतिका विरुद्धमा क्रान्तिको मसाल बाल्ने हाम्रो वा अर्को पुस्ताले सबैखाले अन्याय र विकृतिलाई मानवजातिको सीमाभित्र नराखोस् र ती सबैखाले असमानता मानव समुदायको परिधिमा कहिल्यै नआओस् ।
अनि, मनमा सोच्छु, यी रक्तिमका लगायत अन्य जनवादी गीतले दिने क्रान्तिकारी उर्जा के कार्यकर्तालाई दिन्छ ? नेतृत्वलाई दिदैन ? या नेपाली कम्युनिस्ट नेतृत्व गीतको भावलाई मान्दैनन् ? प्रश्न गर्न मन मलाई त लाग्दैन तर सदैव शान्ति र क्रान्तिको गीत गाउने माडी र झिमरुक, रोल्पा र प्युठानले मलाई बारम्बार सोध्छन्– मेरा बालापनदेखि झिमरुकले सोध्यो । अहिले रोल्पाको माटो छु । रोल्पाले फेरि सोध्यो– मेरो प्रश्नको उत्तर दे । माडीले सोध्यो– म कति पटक समुद्रमा पुगेर आकाशभरि घुमेर संसार डुलेँ ? खै त मेरो युगौँ पुरानो प्रश्नको उत्तर ?
गीत कार्यकर्तालाई र जनता नचाउन मात्र होइन, मातृभूमिमा नाच्न, हाँस्न, हसाउने नेतृत्वले कहिले सुन्छन् ? प्रकृतिको जवाफ म एक्लै दिन गाह्रो छ तर मजस्ता सचेत युवाले दिने छौँ । फेरि तिमी माडी र झिमरुक निरन्तर हिँड, शान्ति र क्रान्तिको बाटोमा । हामी उत्तर दिने छाँै, रोल्पा र प्युठानको आँगनबाट हामीले पनि तिम्रो सङ्गीतमा रक्तिमका गीत गाएका छौँ जनताको उत्तरका लागि ।


खुङ्गीपछि काममा ध्यान र तोकिएको समयभित्र काम सम्पन्न गर्नुपर्ने बाध्यता उत्तिकै थियो । पहिला पहिला रोल्पा जाँनुभन्दा यसपाली मलाई ती रक्तिमका गीत, जो न्याय, समानता र मुक्तिको आलोकमा गाइएका थिए, बेस्सरी मानसपटलमा गुञ्जिरहे । शायद देशमा देखिएको राजनैतिक अवस्था पनि हुन सक्छ । करिब दुई दशकको वरपरमा २०५२ मा जन्मिएका शिशुहरू अहिले २४ वर्षका लक्का जवान भएका होलान् । तर देश, समाज र विश्व परिवर्तनको दृष्टिकोण भएको माक्र्सवादको व्याख्या र विश्लेषण अहिले पहिलेभन्दा मापनीय रूपमा व्यक्त गर्न नसकिने भएको छ । शायद त्यही भएर नै गीतले मलाई सम्झाएको हुनुपर्छ :
मेघ झै गर्जी भेल झैँ उर्ली
जनयुद्ध आउँदै छ कुर्ली कुर्ली
च्यातिएर एक दिन पर्दा कालो
आउने छ भोकानाङ्गा गरिबको पालो ।


रक्तिम परिवारको यो कालजयी गीत आम युवा, किसान, मजदुर, शोषित वर्गलाई आशा भर्ने मात्रा गरेर तमाम युवालाई विभिन्न खाले आन्दोलनमा लाग्न पनि जागरुक गरेको छ । एक प्रकारले साथीहरूले जनयुद्ध भनेर गर्नुभयो । जनयुद्धले गीतमा भने जस्तो के कति कालो पर्दा च्यातिदियो ? त्यो सिंहदरवारबाट होइन, रोल्पाको भूमिबाट हेर्दा लाग्छ, अझै भोका–नाङ्गा गरिबको पालो आउनका लागि एउटा ठुलो सङ्घर्ष गर्नु आवश्यक देखिन्छ । त्यसका लागि समयको अनुकूलता लामो समय नै हेर्नुपर्ने देखिन्छ । जनताको पिरलो र देशको अवस्था उस्तै नै देखिन्छ ।
फेरि रक्तिमकै गीतले मगज तताउँछ :
उस्तै हामीलाई पिरलो उस्तै छ देशको अवस्था
उस्तै छ शासन हामीलाई उस्तै छ फेरि व्यवस्था
देशमा पिरलोको अवस्था उस्तै छ । विदेशी साम्राज्यवादीहरूको विभिन्न बहानामा चलखेल बढ्दो रूपमा छ । भारतीय विस्तारवादद्वारा देशका सीमामा भइरहेको अतिक्रमण उस्तै छ भने पछिल्लो समय भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेर नक्सा प्रकाशित गरेको छ । जनस्तरबाट देशव्यापी विरोध निरन्तर जारी छ । तर इतिहासकै शक्तिशाली सरकार ठोस कदम र मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकिरहेको छैन । देश राजतन्त्रात्मक व्यवस्थाबाट लोकतन्त्र हुँदै गणतन्त्रमा पुगिसक्यो तर न्याय, समानता, मुक्ति चाहने जनता र जसका सन्तान र अभिभावकले छातीको रगत यो धर्तीमा पोखे । तर आज नेपाली समाजको अवस्था देख्दा हामी जनयुद्धमा बन्दुक बोकेर नहिडेका तर विभिन्न प्रकारले सहयोग गरेका र जनवादी आन्दोलनको मर्म बुझेकालाई त यो मन दुख्छ भने ती सिहदका आफन्तजन र योद्धाको मन कति भावविह्वल भएको होला ? त्यो अनुमान कुनै क्रान्तिकारी कसरी गर्छ सक्छ भने यी गीत सुनेर आफूलाई सम्हानुको विकल्प के छ ?
जनताको निम्ति काँधमा बन्दुक बोकेर
छातीको रगत यो धर्तीमा पोखेर
लालकिल्ला घुम्नेलाई हाम्रो लालसलाम !
गीत मन–मस्तिष्कमा गाउँदै, नचाउँदै रोल्पाको खुङ्ग्री गोगनपानी, हरिगाटिना, कोटगाउँ, घर्तिगाउँ, बाघमारा, पाछाबाङ, इरिबाङ, कालापोखरालगायत रोल्पाको दक्षिणदेखि उत्तरसम्मको हावापानी, माटो ती सहयोगी आत्मीय मनसँग भेट भयो । बाटोमा देखिएका वालपेन्टिङ देख्दा हिजो आफूले गरेका वालपेन्टिङको पनि याद आयो । शायद मजस्तैले नै त गरेका होलान्, यी वालपेन्टिङ । मेरो उमेरका युवा, जो राजनैतिक परिवर्तनका लागि लागे, जो नौलो जनवादी क्रान्तिमा विश्वास गरे, त्यो समूहका युवाले आफ्नो नामभन्दा बढी उच्चारण गरेको शब्दमा पर्छन् ः
भारतीय विस्तारवाद मुर्दावाद !
अमेरिकी साम्राज्यवाद मुर्दावाद !
नौलो जनवादी क्रान्ति जिन्दावाद !
वालपेन्टिङले मलाई पनि जिस्काएको लाग्यो । अनि, म पनि मोबाइल झिकेर वालपेन्टिङका अक्षरमा साथ दिँदै राष्ट्रियताले ओतप्रोत सम्पूर्ण न्यायप्रेमी देशभक्तले गाउन चाहने रक्तिमको गीत बजाउन थाले ः
छोड छोड विस्तारवाद नेपाल भूमि छोड
भारतीय सेनाहरू कालापानी छोड
करिब करिब धेरै पैदल यात्रा गरिएको रोल्पामा शायद रक्तिमका सम्झना नगरेका कुनै गीत बाँकी भएनन्जस्तो लाग्यो । सेतै कपाल फुलेका वृद्धहरू देख्दा रक्तिमको गीत बुढो किसानको याद आयो । शायद यी वृद्धहरू पनि सहिद परिवारका सदस्य होलान् । तर आशाका किरणहरू कता गए खै ?
कामको सिलसिलामा जब हामी रोल्पा र रुकुम जिल्लाको सिमाना कालापोखरा पुग्यौँ, त्यहाँ पुग्दा त्यहाँको मौसम, स्थानीयवासीसितको भेटघाटले मन आन्नदित हँुदै थियो । मौसमले फेरि रक्तिमका गीतहरू पुनर्ताजगी गरिदियो । कालापोखरा समुद्री सतहबाट २,४०० मिटरको उचाइमा रहेको मनोरम ठाउँ हो । प्रायः प्रत्येक वर्ष हिउँ पर्दा यहाँ पनि हिउँले आफ्नो कार्य नवीकरण गर्दो रहेछ र यस पटकको नवीकरण समयको साक्षी हामी नै भयौँ, मतलव बेस्सरी हिउँ प¥यो ।
हिउँ फुटे हिमनदी, जनता जुटे जनसागर
औँसीको यो रात पनि हट्छ छिट्टै चिन्तै नगर
एक हिसाबको औँसीको रात त हट्यो । तर पनि औँसीपछिको दिन बिहानी उषाको लालीजस्तै सबैका लागि उपयोगी हुने भिटामिन डीको किरण न रोल्पाले पा¥यो, न रोल्पालीले । विकासको अवस्थामा र जनताको दैनिक जीवन, अवस्था हेर्दा आँैसीको महशुस हुँदै रह्यो । कुनै न कुनै औँसीले अझै पनि नेपाली राजनैतिक आकाशमा दृश्य वा अदृश्य रूपमा शासन गरेको त छैन ? अब हामी जुट्नु छ । फेरि काला बादल, काला विचार, काला नियम सदाका लागि फाल्नुपर्ने छ । तर वर्गसङ्घर्ष निरन्तर चल्ने हुँदा काला विचार तह लगाउँदै रङ्गिन यात्रामा जानुको विकल्प छैन । हिजोको समयमा भएका उपलब्धिको रक्षा गर्दै संसारका ठुलो विश्व विद्यालयबाट सिकेको ज्ञान पुनः त्यहीँ विश्व विद्यालय (जनता र प्रकृति) मा लागु गर्न दुखेका मन सिलाउँदै फेरि पनि रक्तिममा गीत घन्काउँदै देशमा न्यायको नयाँ ज्योति बाल्नका लागि रक्तिमका गीतले निरन्तर उर्जा दिइरहेका छन् ।
अन्तमा रक्तिम परिवारको यो गीत सुन्दै अगाडि बढ्नुको विकल्प पनि छैन :
सहिदका बाबु सहिदका आमा शहिदका जहान
दुखका आँसु नझार्नु होला दुश्मनको सामुमा
करोडौं जनता बढ्दै छन अघि रङ्गिन त्यो बाटोमा
फुल्ने छ एकदिन क्रान्तिको फूल नेपाली माटोमा ।