जनकपुर — विषाक्त मदिरा सेवन गरी धनुषामा मृत्यु हुनेहरुको संख्या २१ पुगेको छ । उपचारार्थ प्रादेशिक अस्पताल जनकपुर भर्ना गराइएकामध्ये २ जनाको अस्पतालमै तथा एक जनाको घरमा गरी आइतबार तीन जनाको मृत्यु भएको छ । यसरी जिल्लामा विषाक्त मदिरा सेवन गरी मृत्यु हुनेको संख्या २१ पुगेको हो ।

फागु पर्व भन्दा एक साताअघिदेखि क्षिरेश्वरनाथ नगरपालिका १ र २ को रमदैयामा सुरु भएको विषाक्त मदिरा सेवन गर्दा उक्त गाउँका १४ जनाको मृत्यु भइसकेको छ भने दुई दिन यता जनकपुर उपमहानगरपालिका-७ मुसहरी टोलका ६ जनाको तथा फागु पर्वकै दिन बुधबार रातिपरवाहामा एकजनाको मृत्यु भएको थियो।

विषाक्त रक्सी सेवन गरी क्षिरेश्वर नपा १ का ४५ वर्षीय रामबहादुर यादव,जनकपुर-७ का जितेन्द्र सादा र रामो महराको आइतबार मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साहका अनुसार– विषाक्त रक्सी सेवनगरी वडामा झगरु सदा, मिथिला सदा, बनारसी सदा तथा रामरती सदागरी कूल ६ जनाको मृत्यु भएको छ।