हरेक दिन एक अर्ब महिलामाथि हिंसा हुन्छ । त्यति हिंसा विश्वयुद्धमा पनि भएको थिएन । यो हिंसा इतिहासकार र समाजशास्त्रीले नलेखेको विश्वयुद्ध हो ।

सन् १८५७ मा अमेरिकाका गार्मेन्ट महिला मजदुरहरूले हडताल गरे । त्यहाँ केही बलिदान पनि भयो । महिला मजदुरले लिएको त्यो पहलकदमी त्यतिवेला निकै नै महत्वपूर्ण थियो । त्यसको सम्झनामा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनले क्लारा जेट्किनलगायतका महिलाको प्रस्तावमा सोही दिनलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गर्‍यो । त्यसैवेलादेखि ८ मार्च मनाउन सुरु भयो, तर यो दिवस विश्वव्यापी भएको थिएन ।

सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता नै दिएर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने घोषणा गर्‍यो । सन् १९२० मा लेनिनले त्यसको आवश्यकताबारे एउटा लेख पनि लेखे । त्यसपछि संसारभरका कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थाले ।

बिस्तारै कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएपछि कम्युनिस्टले ल्याएका थुप्रै राम्रा नीतिहरू पुँजीवादीहरूले खोस्न थाले । पञ्चवर्षीय योजनालाई खोसेर पुँजीपतिले आफ्नो बनाए, जुन कम्युनिस्टहरूले रुसबाट सुरु गरेका थिए । कम्युनिस्टहरूले निर्माण गरेका नयाँ चिजहरूलाई आफ्नो बनाउने क्रममा सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक शब्द हटाएर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ नामाकरण गरी शोषक वर्गका महिलाको पनि दिवसका रूपमा यसलाई प्रचार गर्‍यो । त्यही सिलसिलामा नेपालमा पञ्चायतले पनि यसलाई मनाउन सुरु गर्‍यो ।

संसारको सबैभन्दा ठूलो हिंसा
संसारको अहिलेको सबैभन्दा ठूलो हिंसा के हो ? त्यो महिलामाथिको हिंसा हो । तथ्यांकले भन्छ– एक अर्ब महिलामाथि हरेक दिन हिंसा हुन्छ । त्यति हिंसा विश्वयुद्धमा पनि भएको थिएन । हरेक दिन एक अर्ब महिलामाथि हिंसा हुनु भनेको आठ हजार वर्षदेखि चल्दै आएको वर्गसंघर्षको इतिहासमै सबैभन्दा ठूलो हिंसा हो । यो हिंसा इतिहासकार र समाजशास्त्रीले नलेखेको विश्वयुद्ध हो ।

८ हजार वर्षदेखि महिलाहरू उत्पीडनमा छन् । जब निजी सम्पत्तिको उत्पत्तिसँगै वर्गीय समाजको उत्पत्ति भयो, त्यो निजी सम्पत्ति आफ्नै सन्तानलाई हस्तान्तरण गर्न पुरुषलाई निजी श्रीमती चाहियो । निजी श्रीमती भएन भने बच्चा मेरै हो भन्ने जानकारी पाउने भएन । त्यसैले आफ्नो भनी चिनिने बच्चालाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्न जबरजस्ती निजी श्रीमती बनाउने चलन सुरु भयो । महिलाको निम्ति निजी पुरुष भन्ने भएन । उसको हैसियत दासीसरह भयो । पुरुषको निम्ति निजी श्रीमती प्रथाको रूपमा सुरु भयो । यसरी जबर्जस्ती महिलामाथि लादिएको प्रथा नै कालान्तरमा आजको विवाह प्रथामा विकसित हुन पुग्यो ।

समाजबाट दास युगको अन्त्य भयो । तर, दास युगभित्रको महिला सामन्तवादी युगमा पनि उत्पीडित भए । मोही किसानहरू सामन्तवादबाट मुक्त भएर पुँजीवादी स्वतन्त्रताको युगमा आए, तर महिलाहरू पुनः पुँजीवादी शोषण उत्पीडनको चक्रमा पिसिइरहेछन् । यसरी महिला उत्पीडितको पनि महाउत्पीडित समुदाय बन्न पुग्यो । प्रत्येक परिवारभित्र महिला उत्पीडित भए । हरेक वर्गभित्र महिला उत्पीडित भए । बितेको ८ हजार वर्षमा महिलाहरू कुनै पनि व्यवस्थामा कहिल्यै मुक्त भएनन् । अहिलेको भूमण्डलीकृत पुँजीवाद झनै डरलाग्दो ढंगले महिलाको शोषण गर्न उत्रियो । आजको पुँजीवादले महिलाको श्रम शोषण गर्ने मात्र होइन, बरु स्वयं महिलालाई ‘माल’मा परिणत गरिदिएको छ ।

सामन्तवादी समाजको सुरुमा वेश्यावृत्ति भन्ने थिएन । व्यभिचार धेरथोर जुनैसुकै युगमा रहँदै आएको पाइन्छ । व्यभिचार भनेको प्रचलित मान्यता छलेर गरिने यौनव्यवहार हो । तर, वेश्यावृत्ति जनस्तरमा थिएन । जबदेखि राज्यले नियमित सेना ब्यारेकमा राख्ने प्रचलन सुरु गर्‍यो, त्यही बिन्दुबाट परिवारबाट वर्षौं अलग रहन बाध्य पुरुष सैनिकको आवश्यकता पूर्ति गर्न वेश्यावृत्तिमा महिलालाई धकेलियो ।

अहिले संसारका विकसित र मानव अधिकारको ग्यारेन्टी भएको भनिएकोे अमेरिका, नर्बेजस्ता पुँजीवादी मुलुकहरूमा पनि महिलाहरू वेश्यावृत्तिमा धकेलिन बाध्य छन् । त्यसमध्येका कतिपय स्थानमा वेश्यावृत्ति मात्र हुने होइन, प्रत्यक्ष वेश्यावृत्ति भएको हेर्न टिकटसमेत काटिन्छ । जसले आफूलाई संसारकै मानवतावादी, महारथी भनेर दाबी गर्छन्, तिनीहरूले हाकाहाकी लाखौँलाख महिलालाई संसारभर बेचिरहेका छन्, बेच्न बाध्य पारिरहेका छन् ।

महिला मुक्तिका बारेमा सबैभन्दा स्पष्ट र वैज्ञानिक अवधारणा मार्क्सवादले अघि सार्‍यो । निजी सम्पत्तिका कारण महिलाहरू उत्पीडित भएकाले महिला मुक्तिको प्रश्नलाई निजी सम्पत्ति उन्मूलनको दिशामा अघि बढ्न वर्गसंघर्षसँग जोड्नुपर्छ भन्ने सिद्धान्त अगाडि ल्यायो । विगतका समाजवादी क्रान्ति भएका मुलुकहरूमा महिलाहरूलाई विगतको तुलनामा असाधारण अधिकार पनि दिइयो ।

महिलालाई भोट हाल्ने अधिकार कम्युनिस्ट पहलमा नै व्यापक भएको हो । महिलालाई राजनीतिमा सबैभन्दा धेरै अधिकार कम्युनिस्टहरूले नै उपलब्ध गराउन सुरु गरेको हो । तर, कम्युनिस्ट पार्टीभित्रै रहेको पितृसत्ताको प्रश्न गम्भीर समस्याको विषय थियो । महिलालाई सुविधा दिने, राजनीतिक रूपमा अगाडि बढाउने, पदमा लानेलगायतका काम त भए, तर पितृसत्ताविरुद्धको वैचारिक अभियान कम्युनिस्टहरूले जुन मात्रा र महत्वका साथ चलाउनु आवश्यक थियोे, त्यसो भने हुन सकेन ।

महिला समस्याको प्रकृति
महिला समस्या लिंगीय उत्पीडनको समस्या मात्रै होइन, यो त वर्गीयस्तरकै समस्या हो । महिला वर्ग होइन, तर महिलाको समस्या वर्गकै स्तरको उत्पीडनको घनत्व भएको समस्या हो । महिला उत्पीडनको समस्या नितान्त वर्गीय समस्या होइन, तर वर्गीय समस्याभन्दा कम पनि होइन । त्यसैले महिला समस्याबारेको बुझाइलाई सैद्धान्तिक रूपमै उठाउनुपर्छ ।

पुँजीवादी राजनीतिमा पार्टी वा संगठन बनाउँदा मजदुरलाई पनि संलग्न गर्नुपर्छ भनिन्थ्यो । तर मार्क्सवाद ले भन्यो– सबैभन्दा क्रान्तिकारी वर्ग मजदुर हो, अर्थात् मजदुर वर्गले नेतृत्व नगरी क्रान्ति नै हुँदैन । ठीक यसरी नै अब सैद्धान्तिक रूपमा संश्लेषण गरिनु जरुरी छ कि महिला पनि मजदुर र श्रमिक वर्गसरह नै हो । महिला समस्या छेउ–किनाराको समस्या होइन, यो आधारभूत क्रान्तिकै समस्या हो । समाजवादी क्रान्ति गर्न आवश्यक सबैभन्दा आधारभूत समुदायमध्येको एक हो, महिला । यो विचारधाराकै स्तरबाट प्रस्ट हुनुपर्छ, त्यसपछि मात्र महिला आन्दोलनको नयाँ युगको नयाँ जग सुरु हुन सम्भव हुन सक्छ ।

नेपाललगायत संसारैभरि नारीवादबारे चर्चा हुने गरेको छ । हरेक विचारको एउटा राजनीति हुन्छ । राजनीतिक व्यवस्थाको परिकल्पना हुन्छ । त्यो विचारलाई अगाडि बढाउने एउटा दर्शनशास्त्र हुन्छ । यी कुरामा प्रस्ट नभई अँध्यारोमा ढुंगा मात्र हानेर सही यात्रा कसरी सम्भव हुन्छ ?

पुँजीवाद र महिला मुक्ति
पुँजीवाद सुरु भएको करिब पाँच सय वर्षमा उसले के राम्रो काम गर्‍यो भने सामन्तवादले घरमा थुनेर राखेको महिलालाई समानता, स्वतन्त्रता, भातृत्वको नारा दिएर कारखाना र स्कुलमा ल्यायो । पुँजीवादले बाहिर त ल्यायो, तर श्रम शोषण गर्‍यो, यौनशोषण गर्‍यो, जुन अहिलेसम्म जारी छ । विकसित भनिएको देशदेखि राज्य नियन्त्रित पुँजीवादी देश चीनमा पनि महिलाको अवस्था दयनीय छ । महिलाहरू बेचिन बाध्य छन् । त्यसैले महिला मुक्तिका निम्ति पुँजीवादी व्यवस्थाको विकल्प खोज्नुबाहेक अर्को उपाय छैन ।

त्यो विकल्पको व्यवस्था वैज्ञानिक समाजवाद नै हुन सक्दछ किनभने त्यस व्यवस्थाले मात्र महिला उत्पीडनको जरो कारण निजी सम्पत्ति उन्मूलनको वकालत गर्दछ । त्यस्तो समाज व्यवस्थामा पुग्न मार्क्सवादमा आधारित कम्युनिस्ट आन्दोलनबाहेक अरू विकल्प छैन । तर, अहिले कम्युनिस्ट आन्दोलनबारे कुरा गर्दा थुप्रैले नाक खुम्च्याउने अवस्थासमेत बनेको छ । त्यस्तो अवस्था एकातिर स्थापित कम्युनिस्ट सत्ताहरू ढले र अर्कोतिर बनेका कम्युनिस्ट पार्टीहरू पुँजीवादीहरूभन्दा निकृष्ट देखिएका कारण उत्पन्न भएको हो । यस्तो अवस्था आज मात्र आएको होइन, सन् १९०० तिर योभन्दा खराब अवस्था थियो ।

त्यतिवेला माक्र्सवादका प्रवर्तकहरू मार्क्स र एंगेल्सको मृत्युु भइसकेको थियो, कम्युनिस्टहरूले कतै राजनीतिक क्रान्ति सम्पन्न गर्न सकेका थिएनन् र तत्कालीन मार्क्सवादीहरूको ठूलो जमात मार्क्सवाद मर्‍यो भन्दै भागाभाग चलेको थियो । त्यस्तो विकट अवस्थामा लेनिनहरू अगाडि आएर मार्क्सवादको सच्चाइ पुनः प्रमाणित गर्न दार्शनिक, सैद्धान्तिक र राजनीतिक क्षेत्रमा अथाह मिहिनेत र दुनियाँ हल्लाउने संघर्षको कष्टसाध्य आँधी सिर्जना गरेपछि मात्र मार्क्सवाद पुनः मानव मुक्तिको केन्द्रीय बाटो बनेको हो । आज फेरि मार्क्सवादी विज्ञानलाई नयाँ युगमुताविक विकसित सम्पूर्ण ज्ञानविज्ञानका निष्कर्षसहित समृद्ध गर्नुपर्ने आवश्यकता जन्मिएको हो । त्यो समृद्धिको क्रम सानदार ढंगले सुरु भइसकेको छ, त्यसलाई व्यापक छलफल र संघर्षको व्यवहारबद्ध गर्ने काम पनि थालनी भएको छ । त्यसैले यो अवस्था मार्क्सवादीहरूका निम्ति चुनौती र अवसर दुवै हो, तर मार्क्सवादको असफलता होइन ।

बितेको आठ हजार वर्षमा महिला कुनै पनि व्यवस्थामा कहिल्यै मुक्त भएनन् । अहिलेको भूमण्डलीकृत पुँजीवाद झनै डरलाग्दो ढंगले महिलाको शोषण गर्न उत्रियो । आजको पुँजीवादले महिलाको श्रम शोषण गर्ने मात्र होइन, बरु स्वयं महिलालाई ‘माल’मा परिणत गरिदियो ।

अब नेपालको महिला आन्दोलनले आफूलाई मार्क्सवादी महिला आन्दोलनमा रूपान्तरण गर्नुपर्छ । त्यसका लागि पुरानो कम्युनिस्ट आन्दोलनले हुँदैन, नयाँ कम्युनिस्ट आन्दोलनको आवश्यकता छ । पुरानो कम्युनिस्ट आन्दोलनले लड्न चाहिने वेला महिला बोलायो । लडे । मरे । त्यसपछि पुनः पार्टी वा समाजमा पितृसत्ता कायम ! यो दुर्भाग्य नियतभन्दा पनि पुरानो कम्युनिस्ट आन्दोलनको वैचारिक सीमाले निम्तिएको समस्या हो । त्यस समस्याको समाधान अब पनि व्यक्ति कोही सही भएर हल हुँदैन बरु नयाँ कम्युनिस्ट आन्दोलन र नयाँ महिला आन्दोलनले विचार, संगठनात्मक प्रणाली र प्रतिनिधित्वको नयाँ अवधारणा नै तयार पार्न सक्नुपर्दछ । त्यसको एउटा आधारभूत सिद्धान्त यहाँ सारमा उल्लेख गर्न सकिन्छ, व्याख्या गर्न भ्याइन्न । त्यो के भने प्रतिनिधित्व केवल विचारको मात्र हुन सक्दछ, स्वार्थ र सरोकारको हुन सक्दैन ! यस नयाँ सिद्धान्तका आधारमा अब उप्रान्त महिलाको स्वार्थ र सरोकारको विषयमा महिलाले मात्र निर्णय गर्न पाउने संगठन, पार्टी र आन्दोलनको ढाँचा निर्माण गर्नुपर्दछ ।

महिलाविरोधी अवधारणाहरू
अबको महिला आन्दोलनले पितृसत्ता र पुँजीवादले निर्माण गरेका सबै महिलाविरोधी अवधारणामाथि प्रहार सुरु गर्नुपर्छ । महिला सुन्दर अनि पुरुष बलवान् प्रजाति, महिला कोमल र पुरुष कठोर मनको, महिला पारिवारिक र पुरुष अराजक, महिला सहनशील र पुरुष असहिष्णु, महिला कामुक र पुरुष कम कामुक, आमाहरू महान्, छोरीहरू जिम्मेवार …आदि अवधारणाभित्र लुकेका पितृसत्तात्मक स्वार्थहरूको भण्डाफोर गरिनुपर्छ । पार्टीहरूभित्र महिलाहरू पुरुषजस्तै गरी अगाडि बढ्न पर्‍यो भनिन्छ जुन बिल्कुल गलत छ । पितृसत्ताले आफू जस्तो–जस्तो हो, त्यस्तै–त्यस्तै चाहन्छ ।

संगठनको बैठक कतिवेला राखिदिने भन्दा बच्चालाई स्कुल पठाउने वेला राखिदिने । बच्चालाई स्कुल पठाउने वेला बैठक राखिदिएपछि त्यो महिला कसरी आउँछ ? राज्य सत्ता, पार्टी सबैतिर यस्तैखालको संरचना र संस्कृति बनेको छ । समग्र क्षेत्रमा संरचना र कामको शैली महिलाविरोधी छ । अवधारणा महिलामैत्री छैन । त्यसलाई महिला आन्दोलन अगाडि बढ्दैन ।

पितृसत्ता भनेर जेलाई भनिन्छ, त्यो तीनवटा कुरा हो । पहिलो, महिला भनेको जन्मिँदै पुरुषभन्दा बुुद्धि र शरीर दुवै कमजोर हुन्छ । यो पितृसत्ताको मूल मान्यता हो । दोस्रो, महिला भनेको भोग्या हुन् । पुरुषले भोग्नका लागि जन्मिएको हो । तेस्रो, महिला भनेको सुन्दर प्रजाति हो । अहिले पनि धेरै शिक्षित महिलाहरूलाई समेत बौद्धिक रूपमा त महिला बराबरी नै हुन्छन्, तर शारीरिक रूपमा पुरुषभन्दा कमजोर नै हुन्छ भन्ने परेको छ ।

महिला र पुरुषको शरीर फरक हो । जसरी लालीगुराँस र चमेली फूलमा कुन बलियो भन्ने प्रश्न हास्यास्पद हो । लालीगुराँसको ठाउँमा लालीगुराँस र चमेलीको ठाउँमा चमेली नै राम्रो हुन्छ । त्यसलाई दाँज्न मिल्दैन । त्यसैगरी महिलाको शरीर भनेको प्रजजनसहित बच्चा हुर्काउने आवधिक जिम्मेवारी पूरा गर्नका लागि बनेको शरीर हो । पुरुष त्यसका निम्ति बनेको शरीर होइन ।

फरक–फरक कार्याभारको निम्ति बनेका शरीरहरूबीच दाँज्न थालेपछि त विकृत निष्कर्ष मात्र निस्कन्छ । यस्तो सोच्ने तरिका लागू गरेर मातृसत्तात्मक शासनको कल्पना गर्दा कस्तो चित्र देखिन्छ त ? त्यहाँ महिलाले पुरुषलाई अपमानित गर्दै भन्नेछ । बच्चा जन्माउन नसक्ने पुरुष तल बस्, हामी माथि बस्छौँ ! यस्तो तर्कलाई बेठिक कसरी मान्न सकिन्छ त्यस्तो भएमा ? यदि महिलालाई जबर्जस्ती कम दर्जाको मान्ने पितृसत्तात्मक परिभाषालाई सही मान्ने हो भने त मातृसत्तामा पुरुषविरुद्धमा निर्माण गरिने तर्कलाई पनि सही मान्नुपर्ने हुन्छ नै । तर न त पुरुषविरुद्ध त्यसरी निर्माण गरिने तर्क सही हुनेछन्, न त आज महिलालाई कमजोर र नालायक देखाउन रचिएका पितृसत्तात्मक दलील नै सही हुन् ।

यसप्रकार महिला समुदायका विरुद्धका तमाम गलत अवधारणाको खण्डनसहित वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा समेत नवीन महिला आन्दोलन अबको अनिवार्य आवश्यकता हो। हिजोको समयमा यस्तै कठिन आवश्यकता पूरा गर्ने क्रममा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जन्मिएको थियोे, त्यसको क्रान्तिकारी परम्परागतलाई आज पुँजीवादी र श्रमिक वर्गको गफ गर्ने अवसरवादी शासकहरूले धुमिल्याउन लगातार लागिपरेका छन् । तर महिला, श्रमिक वर्ग र तमाम न्यायप्रेमी जनसमुदायले ‘आठ मार्च’को वास्तविक मुक्तिको आगोलाई जाज्वल्यमान बनाउन पुनः लागिपर्नु जरुरी छ ।