डा. सिरा मेदद/ डा. स्टिफिन मोर्स

कथनः कोरोना भाइरस सङ्क्रमित हुनु भनेको मृत्युपत्र हातमा ठम्याइनुजस्तै हो ।
वास्तविकताः कोरोना भाइरसको विषयमा हामीलाई अझै पनि धेरै कुरा थाहा भइसकेको छैन । तर, अहिलेसम्म आएको तथ्याङ्कको आधारमा यो एउटा नरम खालको भाइरल सङ्क्रमण हो । यसको मृत्यु दर २ प्रतिशत छ र १८–२० प्रतिशत बिरामी गम्भीर अवस्थामा पुग्छन् । यो रोगबाट मरेका दुई प्रतिशत पनि अस्पतालमा निधन भएका छन् । त्यसकारण, अस्पताल पु¥याए यो रोगको सङ्क्रमणबाट बाँच्ने सम्भावना ९८ प्रतिशत छ अर्थात् यो रोगको सङ्क्रमण हुनु आफँै मृत्युपत्र ठम्याइनु होइन ।

कथनः चिनियाँहरूलाई मात्र यो भाइरसको सङ्क्रमण हुन्छ ।
वास्तविकताः यो भाइरस चीनबाट उत्पत्ति भएको हो । तर, यो सबैतिरको भाइरसको हो । रुघाखोकीजस्तै यो रोग सबैतिर लाग्न सक्छ । रोगले कुनै सिमाना मान्दैन । त्यसकारण यो रोगबाट जोकोही पनि सङ्क्रमित हुनसक्छन् ।

कथनः कोरोना भाइरस निकै खतरनाक भाइरस हो ।
वास्तविकताः यो सही कुरा होइन । संसारमा धेरै थरी भाइरसहरू छन् । यो भाइरसलाई अरू भाइरससँग तुलना गरौँ । इबोला भाइरसको मृत्युदर यसको भन्दा बढी छ । कोरोना भाइरसबाट सञ्चो भएका बिरामीको आधिकारिक सङ्ख्या ६ हजार (यो केही हप्ताअघिको तथ्याङ्क हो) पुगेको छ । रोचक कुरा के हो भने हामी सामान्यतः अस्पतालबाट डिस्चार्ज गरिएका मानिसको बारेमा समाचार लेख्दैनौँ । सङ्क्रमणबाट सञ्चो हुने मानिसहरू अरू पनि थपिनेछन् ।

कथनः मास्क लगाएपछि हामी यो भाइरसबाट जोगिन सक्छौँ ।
वास्तविकताः धेरै मानिस यसरी नै सोच्छन् । मास्कले एक प्रकारको सुरक्षा अनुभूति गराउँछ । तर, समस्या के हो भने मास्क लगाउने मानिसहरूले यसलाई सही तरिकामा लगाउने गर्दैनन् । उनीहरूलाई कहिल्यै त्यसको तालिम दिइएको हुँदैन । मानिसहरूलाई कस्तो खालको मास्क लगाउने भन्ने कुरा थाहा छैन ।
मास्क दुई प्रकारका हुन्छन्ः पहिलो, सामान्य वा सर्जिकल मास्क । हामी सामान्य मानिस यही प्रकारका मास्क लगाउने गरेको देख्छौँ । अर्को प्रकारको मास्क पनि हुन्छ । त्यस्तो मास्क स्वास्थ्यकर्मीहरूले लगाउने गर्छन् । त्यस्तो मास्कलाई एन ९५ मास्क भनिन्छ । त्यसले हावामा भएका धुलकण ९५ प्रतिशतसम्म छान्ने क्षमता राख्छ । स्वास्थ्यकर्मीहरूले विभिन्न थरी परीक्षण गर्नुपर्ने भएकाले कुनै पनि सङ्क्रमण पूर्णतः रोक्न यस्तो मास्क प्रयोग गर्छन् ।
मानिसहरू एन ९५ मास्क लगाउँदा केही बेरमै उकुसमुकुस भएको अनुभव गर्छन् ।
मास्क भनेको कोरोना भाइरसबाट सङ्क्रमित मानिसको लागि हो, कोही स्वस्थ व्यक्तिको लागि मास्क होइन । सावधानीको सबभन्दा राम्रो तरिका भनेको बेलाबेलामा हात धुनु नै हो । घर बस्नुभएको छ वा बिरामी हुनुहुन्छ भने पटक – पटक हात धुनु उपयुक्त हुन्छ । त्यस्ता अरू पनि उपाय छन्, जो ज्यादै प्रभावकारी प्रमाणित भएका छन् ।

कथनः कोरोना भाइरस चमेरोको सूपबाट आएको हो ।
वास्तविकताः यो अत्यन्त गलत कुरा हो । अहिलेको कोरोना भाइरस चीनको उहानस्थित एउटा बजारबाट फैलिएको हो । त्यो बजारमा विभिन्न थरी जीवजन्तुको किनबेच हुन्थ्यो । त्यसकारण धेरै थरी अनुमान लगाइएका हुन् । तर, कसैले चमेरोको सूप सेवन गरेकै कारण यो सङ्क्रमण फैलिएको होइन । हामीलाई थाहा भइसकेको एउटा कुरा के हो भने जब तपार्इँ कोरोना भाइरसबाट सङ्क्रमित हुनुहुन्छ भने तपाईँको शरीरभित्रबाट आउने छिटाहरूबाट यो भाइरसको सङ्क्रमण हुने गर्छ । कोरोना भाइरसको सङ्क्रमण भएको मानिसको सम्पर्कमा र त्यस्ता व्यक्तिको छिटाबाट तुरुन्तै सम्पर्कमा आए सङ्क्रमणको सम्भावना हुन्छ ।

कथनः चीनबाट आएका सामानबाट पनि सङ्क्रमण फैलिन सक्छ ।
वास्तविकताः चीनमा प्याक भएर आउने सामान कुनै पनि देशमा पुग्ने अवधिसम्म यस्तो हुने सम्भावना हुन्न । सङ्क्रमितको छिटाबाट फैलिने यो भाइरस धेरै लामो समयसम्म मानिसको शरीरभन्दा बाहिर टिक्न सक्दैन । कहींबाट आएको सामानमा कतै छिटा परेको भए पनि त्यो लक्ष्यसम्म पुग्दा भाइरस बाँचेको हुँदैन । तर, अझै पनि हामीलाई थाहा नभएका कुरा धेरै हुनसक्छ ।

कथनः सिमाना बन्द गरेर भाइरसको सङ्क्रमण रोक्न सकिन्छ ।
वास्तविकताः यस्ता श्वासप्रश्वासबाट सर्ने भाइरसले कुनै सिमाना मान्दैन । यो कुनै सरकारको कमजोरीले फैलिने पनि होइन । भाइरसको स्वभाव वा प्रकृति नै यस्तो खालको हुन्छ । यात्रामाथि रोक लगाएर यस्ता सङ्क्रमण रोक्न खोज्नु त्यति प्रभावकारी नभएको विगतका अभ्यासबाट पुष्टि भएका छन् । बरु ठीक उल्टो प्रभाव भने परेको देखिन्छ । किनभने यात्रामा रोक लाग्दा मानिसमा भय र अराजकता फैलिन्छ । कोही मानिस बिरामी परे पनि आफू बिरामी भएको भन्न अनकनाउँछ । अमेरिकाको सङ्घीय सरकारले मूलभूमि चीनमा अत्यावश्यक बाहेकका भ्रमण रद्द गर्न सूचना जारी गरेको छ । चीन भाइरस सङ्क्रमणको केन्द्र हो । त्यहाँ सामुदायिक सङ्क्रमण भएको छ । तर, त्यहाँबाहेक सामुदायिक सङ्क्रमण नभएका अरू देशहरूमा सर्वसाधारण डराइहाल्नुपर्ने अवस्था छैन । सम्बन्धित निकायका वेभसाइट भने नियमितरूपमा हेर्ने गरौँ । त्यहाँ भ्रमण रोकसम्बन्धी सूचना राखिएको हुन्छ । त्यसबाट पनि आधिकारिक जानकारी प्राप्त गर्न सकिन्छ । त्यसबाहेक आफ्नो स्वास्थ्य सेवा प्रदायकहरूबाट पनि जानकारी हासिल गर्न सकिन्छ । उनीहरूले कोरोना भाइरससम्बन्धी पछिल्लो अवस्थासम्बन्धी जानकारी दिई भ्रमणको लागि उपयोगी सल्लाह दिनसक्छन् ।

कथनः भाइरसले ज्येष्ठ नागरिकलाई मात्र पिरोल्छ ।
वास्तविकताः यो एक प्रकारले अर्धसत्य हो । भाइरसले केटाकेटीदेखि सबैलाई प्रभावित पार्छ । तर, ज्येष्ठ नागरिकलाई यो रोग लाग्ने सम्भावना भने बढी हुन्छ । यो रोगमात्र होइन, अरू रोग पनि लाग्ने सम्भावना ज्येष्ठ नागरिकमा बढी हुन्छ । त्यसकारण सावधान हुनुपर्छ । तर, यसले प्रभावित भने सबै उमेरका मान्छेलाई बनाउँछ ।

कथनः कोरोना भाइरस सार्सजस्तै हो ।
वास्तविकताः कोरोना भाइरस सार्सकै परिवारको सदस्य हो । मानव शरीरमा निकै घातक हिजोसम्म दुई थरी कोरोना भाइरस थिए, अहिले एउटा थपिएको छ । सार्स त्यस्तै एउटा भाइरस थियो । मेर्स अर्को त्यस्तै भाइरस हो । अहिले थपिएको कोरोना भाइरस पनि त्यस्तै प्रकृतिको भाइरस हो । मृत्युदरको हिसाबले सबभन्दा प्राणघातक भाइरस सार्स हो । सार्स भाइरसको मृत्युदर १० प्रतिशत थियो । कोरोना भाइरसको मृत्युदर २ प्रतिशतमात्र छ । तर, सबै कुरा अहिले नै निक्र्योल गरिहाल्ने अवस्था भने छैन ।
अहिलेको कोरोना भाइरस अलि फरक खालको छ । यो रुघाजस्तै फैलिन्छ । यो सहजै सङ्क्रमण हुने भएकोले यसबाट धेरै मानिस सङ्क्रमित हुनसक्छन् । मानिसको मृत्युको आधारमा कुनै पनि भाइरसलाई प्राणघातक भाइरस भन्न मिल्दैन । धेरै मानिस सङ्क्रमित भएर दुर्भाग्यवश केही मानिसको निधन भएको हुनसक्छ ।

कथनः कोरोना भाइरस र कोरोना भालु सम्बन्धित हुन् ।
वास्तविकताः होइन । कोरोना भालुले तपाईँलाई यो सङ्क्रमणबाट जोगाउन सक्नेछैन । कोरोना शब्दको अर्थ मुकुट हो । यो ल्याटिन शब्द हो । यो भाइरसको आकृति मुकुटजस्तै हुन्छ । यसको कोरोना भालुसँग कुनै सम्बन्ध छैन । यो एउटा संयोगमात्र हो ।

कथनः घरपालुवा प्राणी कोरोना भाइरसको स्रोत हुनसक्छ ।
वास्तविकताः कोरोना भाइरसबारे अझै पनि धेरै कुरा हामीले थाहा पाउनुपर्ने छन् । तर, अहिलेसम्म कुनै पनि घरपालुवा प्राणीले यो रोग आफ्नो मालिकलाई सारेको कुनै घटना छैन । घरपालुवाबाट भन्दा अरूतिरबाट तपाईँ सङ्क्रमित हुने सम्भावना हुन्छ । आफ्नो घरपालुवाको राम्रो स्याहार गर्नुहोला ।

कथनः कोरोना भाइरस जानाजान बनाएर फैलाइएको भाइरस हो ।
वास्तविकताः यो तर्कले मानिसलाई अलि बढी नै अब्बल देखेको छ । बितेका तीन दसकमा हामीले तीन थरी कोरोना भाइरस देख्यौँ । प्रकृतिमा यस्ता भाइरस अरू पनि धेरै हुन्छन् । अहिलेको भाइरस पनि कुनै विशेष कोटीको होइन । यो पनि सार्सजस्तै हो । भाइरसको थुप्रोमा यो एउटा भाइरस थपिएको मात्र हो ।
सरुवा रोगको सङ्क्रमण विभिन्न कारणले हुनसक्छ । यसका प्राकृतिक कारण हुनसक्छन् । जलवायु परिवर्तन पनि यसको कारण हुनसक्छ । पर्यावरणीय र कृषिजन्य कारणबाट पनि भाइरस सङ्क्रमण हुनसक्छ । मानिसको व्यवहारले पनि यस्तो हुनसक्छ । हाम्रो वरपर यी सबै नियमित गतिमा भइरहेका छन् । त्यसकारण, यस्ता सङ्क्रमण अपराजयी छन् ।
कसैले यस्तो भाइरस बनाए यो आश्चर्यको विषय हुनसक्छ किनभने हामी मानिस प्रकृतिभन्दा धेरै पछाडि छौँ ।

कथनः एन्टिबायोटिकले यो रोग निको पार्नसक्छ ।
वास्तविकताः भाइरस र व्याक्टेरिया दुई फरक जीवाणु हुन् । एन्टिबायोटिक व्याक्टेरिया नियन्त्रणको लागि प्रयोग हुन्छ । भाइरसको लागि हामीले एन्टिभाइरल औषधि प्रयोग गर्नुपर्छ । उदाहरणको लागि मौसमी रुघालाई लिऔँ । यो भाइरसको कारण लाग्छ । यसको उपचार वा केही लक्षणमा नियन्त्रण तामिफ्यु नामको औषधिबाट गर्नसक्छौँ । त्यो भाइरस प्रतिरोधी औषधि हो । त्यसकारण, तपाईँलाई भाइरसको समस्या छ भने एन्टिबायोटिकले काम गर्र्दैन जबसम्म तपाईँलाई व्याक्टेरियाबाट सर्ने कुनै अरू थप रोग लागेको हुँदैन । यसबारेमा धेरैलाई भ्रम छ ।
केही औषधिको प्रयोगशालामा प्रयोग हुँदै छ । निश्चित प्रकारका भाइरसविरुद्ध ती औषधिले काम गरेको देखाएको छ । यो अझ विकासकै चरणमा छ ।
कोरोना भाइरसबाट हुने रोगको हामी निकै प्रारम्भिक चरणमा छौँ । धेरै थरी हल्ला फैलाइएको छ । कति कुरा तथ्यसङ्गत छैनन् । त्यसकारण, विश्वसनीय स्रोतमा मात्र भरपर्नुहोला । विश्वसनीय जनस्वास्थ्यसम्बन्धी वेभसाइट हेर्नुहोला । विश्व स्वास्थ्य सङ्गठनको वेभसाइट हेर्नुहोला । तपाईँको ठाउँका स्थानीय स्वास्थ्य केन्द्रको वेभसाइट हेर्नु होला । तपार्इंँको नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्यकर्मीबाट तपाईँले बुझ्न सक्नुहुन्छ ।
सार्सजस्तो भाइरसको कुरा सुनेको हुनाले पनि हिजोआज एकप्रकारको भय सञ्चार भइरहेको छ । तर, भय र पीडा वास्तवमा अनावश्यक कुरा हुन् । यस्ता सङ्क्रमण भइरहनेछन् । त्यसको निम्ति हामी तयार भएर बस्नुपर्छ । हामीले विश्व स्वास्थ्य सुरक्षामा लगानी बढाउन आवश्यक छ । धेरै चाँडै अहिलेको यो महामारी पनि नियन्त्रणमा आउने आशा गरौँ । आशा गरौँ, यसको खोप पनि चाँडै बन्नेछ । अरू औषधि पनि बन्ने आशा गरौँ । अहिलेको अनुभवबाट भविष्यको लागि केही कुरा सिकौँ पनि ।


(डा. मेदद न्यु योर्क सिटी हेल्थ एन्ड हस्पिटल सिस्टम वाइड स्पेशल प्यथोजिन कार्यक्रमका वरिष्ठ निर्देशक र डा. मोर्स कोलम्बिया विश्वविद्यालय, मेलमेन स्कूल अफ पब्लिक हेल्थका सरुवा रोग विशेषज्ञ हुनुहुन्छ ।)
स्रोतः इनसाइडर
अनुवादः अनिल