लामो समयदेखि चिकित्सा पेसामा रहेका प्रा. डा प्रेमराज ज्ञवालीका लागि बुधवारको दिन महत्त्वपूर्ण रहँदै आएको छ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधवारकै दिन प्राय: मिर्गौला प्रत्यारोपण गरिने हुँदा पनि यो दिन उनका लागि अन्य दिनभन्दा केही फरक हुनु स्वाभाविक हो।

सन् २००८ मा शिक्षण अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दादेखि अहिलेसम्म त्यहाँ भएका झन्डै ७०० वटा प्रत्यारोपणमा आफू ५०० वटाजतिमा सहभागी भएको उनी बताउँछन्।

त्यसबाहेक एउटा निजी अस्पतालमा उनले थप ५५ वटा सफलापूर्वक मिर्गौला प्रत्यारोपण गरिसकेका छन्।

सन् २००८ को अगस्ट ८ मा बेइजिङ ओलम्पिक्स आरम्भ भएको दिन नै नेपालमा आफ्नो सहभागितामा मिर्गौला प्रत्यारोपणको गर्न थालिएको उनी सम्झिन्छन्। तर त्यो दिनको साढेर १२ वर्षपछि सरकार प्रमुखको मिर्गौला प्रत्यारोपण आफ्नै नेतृत्वमा हुने कल्पना सम्भवत: उनले गरेका थिएनन्।

प्रधानमन्त्रीजस्तो व्यक्तिको शल्यक्रिया गरी मिर्गौला प्रत्यारोपण गर्ने जिम्मा पाएको नेपाली चिकित्सकहरूको टोलीका प्रमुख ज्ञवालीका लागि त्यसैले पनि यो बुधवार पनि विशेष रह्यो।

चिकित्सकहरू
प्रा. डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो

आफ्नो शरीरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो रात (मङ्गलवार) ज्ञवालीलाई भनेका थिए, “आज समयमै सुत्नुहोला।”

निद्रा परेन

सकारात्मक उत्तर दिएका ज्ञवालीले प्रत्यारोपणको तयारी तथा अन्य छलफलमा सहभागी हुँदै गर्दा अस्पतालमै ११:३० बजिसकेको थियो।

घर पुगेर सुत्दा घडीले एक बजेको सङ्केत गर्दै थियो। दिनभरिको दौडधुपले थालेको भए पनि उनी निदाउन सकेनन्।

उनी तीन बजे नै बिउँझिए। सुत्ने प्रयास नगरेका होइनन् तर सकेनन्।

बिहान ६ बजेतिरै तयार भए। सधैँ झैँ गाडी चढे। तर अन्य दिनभन्दा फरक भजन सुन्दै उनी बूढानीलकण्ठबाट शिक्षण अस्पताल गए।

“म सधैँ आफैँ सवारी हाँक्छु। सवारी हाँक्दा मलाई सडक र ट्राफिक सङ्केतबाहेक अरूक कुराको हेक्का हुन्न। तर हिजो भने मनमा धेरै कुरा खेलिरहेका थिए,” उनले भने।

ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि उनको पनि चर्चा भइरहेको छ। तर प्राविधिक रूपमा मिर्गौला प्रत्यारोपण गर्ने काम खासै फरक नभएको भए पनि मानसिक दबाव भने निकै धेरै भएको उनी बताउँछन्।

ओली

“शल्यक्रिया गर्दैगर्दा बाहिर मानिसहरूको भिड लागेको रहेछ। बाहिर आएर अन्लाइनहरूमा तस्बिर हेरेपछि भिड हेर्न बाहिर निस्कियौँ। जात्रै लागेको रहेछ,” उनले भने।

“त्यो माहोल शल्यक्रियाअघि देखेको भए निकै गाह्रो हुने थियो। मानसिक दबाव थप बढी हुने थियो।”

उनका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा नयाँ मिर्गौला प्रत्यारोपण गर्न झन्डै ३९ मिनेट लाग्यो। शल्यक्रियाको पूर्ण अवधि भने पाँच घण्टाको थियो।

 

मिर्गौला प्रत्यारोपणको प्रक्रियामा १६ चिकित्सकबाहेक नर्स र अन्य प्राविधिकहरू सहभागी थिए।

“दुइटा मिर्गौला जोडेपछि मिर्गौलामा रगत जानुपर्छ। र मिर्गौलामा दुइटा नसा जोड्नासाथ पिसाब बन्न थाल्नुपर्छ। त्यो हाम्रा लागि खुसीको समय हुन्छ,” उनले भने।

अनि सबैभन्दा बढी डर नि? “सबै भन्दा बढी डर चाहिँ शल्यक्रियाअघि बेहोस बनाउने औषधि दिने बेला हुन्छ,” ज्ञवालीले भने।

“बेहोस बनाउने औषधि प्रयोग गर्दा मुटु, फोक्सोमा असर पर्ने हो कि भन्ने डर हुन्छ। त्यस बेला हामीलाई बढी तनाव हुन्छ।”

प्रधानमन्त्री जस्तो व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न ज्ञवालीकै नेतृत्व किन चुनियो त? यसको उत्तर उनीसँग छैन।

“यसअघि पनि उहाँको उपचारमा म संलग्न थिए। हामी सम्पर्कमै थियौँ। प्रधानमन्त्रीले विभिन्न ठाउँबाट बुझ्नुभयो होला। अरू धेरै कारण हुन सक्छन्,” उनले भने।

प्रधानमन्त्रीको शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएपछि विशेष अनुभूति भएको छ कि भन्ने बीबीसीको प्रश्नमा उनले भने, “पक्कै पनि। हाम्रो अस्पतालहरू, चिकित्सकहरू सक्षम छन् भन्ने भावना दिलाएको छ।”

प्रत्यारोपणको तयारी

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने कुरा झन्डै डेढ महिनाअघि देखि सुरु भएको ज्ञवाली बताउँछन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा झन्डै ७०० जनामा मिर्गौला प्रत्यारोपण भइसकेको छ

बीचमा अपेन्डिक्सको शल्यक्रिया गर्नु परेपछि यो प्रक्रिया केही पछि सर्‍यो।

नेपालमै गर्ने भनिएपछि दुईवटा अस्पतालबारे छलफल भएको थियो। टोखास्थित एउटा निजी अस्पताल र शिक्षण अस्पताल विकल्पका रूपमा अघि सारिएका थिए।

ज्ञवालीका अनुसार प्रधानमन्त्रीले जुन ठाउँमा रोज्छन् त्यहीँ शल्यक्रिया गर्ने तयारी उनीहरूको थियो।

“तर प्रधानमन्त्रीको व्यक्तिगत कुरामा मात्रै भर पर्ने अवस्था पनि थिएन। वहाँ व्यक्तिभन्दा पनि एउटा संस्थाजस्तो भएकाले आफ्नो निर्णय आफैँ गर्ने अवस्था थिएन,” उनले भने।

“हामीले तयारी गरिरहेका थियौँ। एक हप्ताअघि मात्रै शिक्षण अस्पतालमै गर्ने निर्णय भयो। यो प्रधानमन्त्रीको चाहनामै भएको हो।”

Presentational grey line

को हुन ज्ञवाली?

चौवन्न वर्षीय ज्ञवालीले हेल्थ असिस्टेन्ट (एचए)को पढाइ नेपालमै गरे। त्यसपछि कर्णाली अञ्चलका हुम्ला, जुम्ला र मुगुजस्ता जिल्लामा काम गरे।

सरकारी कोटामा छात्रवृत्ति पाए पछि उनी एमबीबीएस पढ्न रुस गए। स्नातकोत्तर तहको अध्ययन पनि उनले रुसमै गरे।

त्यसपछि फर्केर नेपाल आए र मिर्गौला प्रत्यारोपणको तालिम लिन सिङ्गापुर गए।

त्यहाँबाट फर्केपछि सन् २००८ बाट उनीसहितको टोलीले नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने कार्य सुरु गर्‍यो।

उनले नेपालबाट एमपीएच (जनस्वास्थ्य विषयमा स्नातकोत्तर) पनि गरेका छन्।