वीरगंज, १५ फागुन ।
पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले हुण्डी कारोबारीसंग संलग्नता देखिएपछि एकजना असई सहित ४ जना प्रहरीलाई पक्राउ गरी थुनामा राखेकी छिन् ।
हुण्डी कारोबारीसंग साँठगाँठ गरेको आरोपमा प्रहरी सहायक निरिक्षक पुर्ण तामांग सहित चारजना प्रहरीलाई थुनामा राखेर अनुशनधान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा सिमा प्रहरी चौकी इनर्वा गाउँमा कार्यरत इन्चार्ज प्रहरी सहायक निरिक्षक पुर्ण तामांग, सोही चौकीमा कार्यरत प्रहरी हवल्दार विष्णु दयाल चौधरी, जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसनधान शाखामा कार्यरत प्रहरी जवान राजकुमार गुरु· र लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय वीरगञ्जमा कार्यरत प्रहरी जवान अवधेश राय यादव रहेका छन ।
असई तामांगको कमाण्डमा रहेको प्रहरी टोलीले एक हप्ता अगाडी फागुन ७ गते बुधबारका दिन दिउँसो २ बजेको समयमा इनर्वा गाउँकै भुटन देवी मन्दिर अगाडीबाट एकजना हुण्डी कारोबारीलाई २० लाख रुपैया सहित पक्राउ गरेको थियो ।
सिमावर्ती भारतीय शहर रक्सौलका हुण्डी कारोबारी फुलहसनको हुण्डीको रकम लिएर आईरहेको उनका भरियाको साथबाट असई तामांगले २० लाख नेपाली रुपैया बरामद गरेका थिए ।
तर अवैध वित्तिय कारोबार गरेको आरोपमा २० लाख रुपैया सहित पक्राउ गर्नुको साटो असई तामांग नेतृत्वको टोलीले १० लाख रुपैया सहित कारोबारीलाई फिर्ता पठाएर बाकी १० लाख रुपैया चारैजना प्रहरीले आफैमा बाँडेका थिए ।
दुई दिन अगाडी पक्राउ परेका हुण्डी कारोबारीले नै पोल खोल दिएपछि प्रहरी उपरीक्षक पन्तले हिजो चारैजना प्रहरीलाई पक्राउ गरी थुनामा राखेकी छिन् ।
पक्राउ परेका चारैजना प्रहरीको साथबाट हुण्डी कारोबारीसंग लिएको १० लाख रुपैया समेत बरामद भएको तथा पक्राउ परेका चारैजना प्रहरीलाई थप अनुशनधान गरेर अख्तियार दुरुपयोग अनुसनधान कार्यालय हेटौडालाई बुझाउने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।