काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पछिल्लो समय देशमा संघीयताका दुष्परिणाम हरु देखिन थालेको ठहर गरेको छ । सरकारको सम्पूर्ण कार्यप्रणालीबाट संघीयताका दुष्परिणामहरू झन्‌पछि झन् उदाङ्गो बन्दै गइरहेका जनाइएको छ ।

‘खास गरेर संघीयताको प्रादेशिक संरचनाका कारणले देशमा धेरै कर बृद्धि भइरहेको छ भने विकास कार्यक्रमहरू कुण्ठित हुँदै गइरहेका छन् । त्यसले गर्दा संघीयताको प्रादेशिक संरचनालाई खारेजगर्नु तात्कालिक आवश्यकता भएको छ । उक्त कार्यमा जति ढिलाई हुनेछ, त्यति नै देश बढी वर्वाद हुँदै जाने कुरा प्रष्ट छ’ मंगलबार महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

उपरोक्त परिस्थितिमा पार्टीले सरकारका गलत नीति र कार्यशैलीका विरुद्ध देशव्यापी रूपमा आन्दोलन संगठित गर्दै आएको महामन्त्री सिंहले स्पष्ट पार्नुभएको छ । वक्तव्यमा पार्टी निकट मोर्चा तथा जनसंगठनहरुले राष्ट्रिय महत्वका विभिन्न विषयमा आन्दोलन गरिरहेको पनि महामन्त्री सिंहले बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताका  पक्षमा देशव्यापी रूपमा आन्दोलन संठित गरेको, युवक मोर्चाले नागरिकतासम्बन्धी गलत नीति र भ्रष्टाचारका विरुद्ध महेन्द्रनगरदेखि झापासम्म मोटरसाइकलको र्‍यालीको आयोजना गरेर व्यापक कार्यक्रमहरूको सञ्चालन गरेको, जनजाति मोर्चाले पश्चिम तराईका कैयौँ जिल्लाहरूमा जागरण कार्यक्रम अभियान सञ्चालन गरेको, किसान मोर्चा तथा तराई–मधेश जनवादी मोर्चाले संयुक्त रूपले किसान संघर्षसम्बन्धी कैयौँ कार्यक्रमहरूको सञ्चालन गरिसकेका उल्लेख छ ।

यस्तै, जनजाति र दलित मोर्चाहरूले पनि कैयौँ कार्यक्रमहरूको आयोजना गरेका,  महिला मोर्चाले छिटै नै महिलामाथि हुने बलात्कार, हत्याका विरुद्ध देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको, संसदभित्र पनि बैधानिक मोर्चाले सरकारका गलत नीतिहरूका विरुद्ध लगातार आवाज उठाउँदै आएको छ मसालले जनाएको छ ।

समग्र रूपमा सरकारका सबै गलत नीति वा कार्यशैलीका विरुद्ध पार्टीले देशव्यापी रूपमा आवाज उठाउँदै वा संघर्ष गर्दै आएका र आगामी दिनहरूमा पनि त्यसप्रकारको नीति र कार्यक्रम लगातार अगाडि बढ्दै जाने मसालले स्पष्ट पारेको छ ।