मिति : २०६० साल चैत २२ गते ।                                                                                            स्थान :नेपालगञ्ज विमानस्थल ।                                                                                          समय : बिहान १०-११ बजेतिर ।

‘हाम्रा बालाई पठाई दे, हाम्रो दाजुलाई पठाई दे, हाम्रा मामालाई पठाई दे ।’ यस्तै यस्तै भन्दै नाकको सिंगानलाई पाखुरा वा बाहुलाले पुछ्दै दगुरिन्थ्यो ।  फाटेको जाङे हल्लाउँदै, उस्तै परे सिंगानलाई सो¥याक्क तानेर नाकभित्रै तह लगाएर वा कुर्लुक्क निलेर पछिपछि दगुरिन्थ्यो । हामी केटाकेटीहरुलाई त्यतिविधि आकर्षित गर्ने जन्तु थियो– हवाईजहाज अर्थात चिलगाडी ।  हेलिकोप्टरको नाम ‘भटभटे’ र चिलगाडीको नाम शायद हवाईजहाज थियो । हामीले त्यसलाई चिनेका थियौं, चिलगाडीका रुपमा । किनभने हामीले थाहा पाएकै चिल थियो, गिद्ध थियो । त्यसैले आकाशमा उड्ने त्यो जन्तुको नाम राखियो होला, चिलगाडी । त्यतिबेलाको समयमा ‘प्लेन’ भन्ने अंग्रेजी शव्द हाम्रो बालमस्तिष्कमा पसेकै थिएन होला शायद । हावाको वेगसँगै हाम्रो भूगोलको क्षितिजभित्र प्रवेश गरेदेखि क्षितिज पार नगरेसम्म हवाईजहाजको आवाज र आकृति पछ्याउँदै त्यसैको पछिपछि दगुरिन्थ्यो यस्तै भन्दै– मेरा बालाई पठाई दे, मेरा मामालाई पठाई दे । हाम्रा बा, बाजे, छिमेकी, गाउँलेहरु, आफन्तजनहरु रोटीको खोजीमा मुग्लान पस्ने चलन पुरानै हो । मेरो जन्मभूमि रोल्पामा त झन यो चलन बाक्लै पो छ । लामो समय भो– रोल्पा छोडेको । शायद यो चलन अहिले पनि होला । त्यतिबेला धेरैजसो मानिसहरु कालापार (भारत) जान्थे रोजीरोटीका लागि । शायद अहिले तेस्रो मुलुकहरुमा जानेको संख्या बढी होला ।  राप्तीमा धेरै पानी बगिसक्यो समयक्रममा । परिस्थितिमा धेरै छलाङ मारिसक्यो समयले । तैपनि रोजीरोटी खोज्ने हाम्रो पुरानो चलन आज झन नयाँ आवरणमा परिस्कृत हुँदै नयाँ नयाँ आयाम र आकारमा प्रकट भइरहेकै छ । मुग्लान पस्ने बाउबाजेका छोराछोरी र नाति÷नातिनाहरु अर्थात युवापुस्ताले यतिबेला आफूलाई वैदेशिक रोजगारको नाममा सिंगापुर, इजरायल, कोरिया, जापान, हङकङ, साइप्रस, मलेशिया, साउदी अरेविया, कतार लगायतका मुलुकहरुमा पु¥याइरहेका छन् । दिनहुँ तेस्रो मुलुकहरुमा हुत्तिने र कोही केही कमाएर अनि कोही बाकसमा फर्किने नियति बनेको छ यतिबेला ।  हामी केटाकेटी छँदा हाम्रा बाउबाजेहरु भारतबाहेकका मुलुकमा सीमित संख्यामा मात्रै जान्थे । मूलतः भारत जाने चलन थियो त्यो बेला । हामी केटाकेटीलाई लाग्थ्यो– आकाशमा चारैतिर घुम्ने यो जन्तुलाई पक्कै पनि हाम्रा विदेशिएका आफन्तहरुको बारेमा जानकारी होला । उहाँहरुको नालीबेली थाहा होला । किनभने ऊ चारैतिर घुम्ने गर्छ । त्यही मान्यता भएकैले उसलाई हाम्रो आग्रह हुन्थ्यो– हाम्रा बालाई पठाई दे, हाम्रा बाजेलाई पठाई दे, हाम्रा मामालाई पठाई दे आदिइत्यादि । त्यो बेला र यो बेलामा केही भिन्नता पक्कै छ । विचार, भावना, शिक्षा, स्वास्थ्य सबै दृष्टिले हाम्रो मुलुकले एकप्रकारको फड्को मारिरहेको छ भन्दा अत्युक्ति नहोला । तैपनि हाम्रो त्यो उमेरका केटाकेटीहरु आज रोल्पामा के गर्दै होलान् ? जीवनशैलीमा केही परिवर्तन आएको देखिए तापनि उतिबेलाका हामीहरुको छायाँ आजका केटाकेटीहरुमा नहोला भन्न सकिदैन । हाम्रो पदचिन्हमा हिंडिरहेका केटाकेटीहरु कति होलान् ? प्रश्न अनुत्तरित छ । सिँगान पुछ्दै फाटेको जाङे हल्लाएर हवाईजहाज (चिलगाडी)को पछिपछि दगुर्ने आजका ‘हामी’हरुको संख्या ठूलै छ जसले नजिकबाट हवाईजहाज देख्नै पाएका छैनन् । चढ्ने र उड्नेको कुरा त धेरै परको भयो । तत्कालीन माओवादीले सञ्चालन गरेको संशस्त्र द्वन्द्वका सकारात्मक र नकारात्मक दुबै असर थिए । २०५२ सालमा माओवादीले सशस्त्र युद्धको घोषणा गरेपछि केही सकारात्मक उपलव्धि र पाटाहरु पक्कै जन्मिएका छन् । यही द्वन्द्वकै सेरोफेरोमा हाम्रो पत्रकारितामा थपियो– शान्ति पत्रकारिता । द्वन्द्वका कारणहरु उधिन्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी द्वन्द्वलाई रुपान्तरण गर्ने वा शान्ति स्थापनामा सहयोग पु¥याउने यो पत्रकारिताको मुख्य उद्देश्य हो । यही सिलसिलामा हिमाल एशोसियसन र खोज पत्रकारिता केन्द्रले २०६० चैत २३ देखि २७ गतेसम्म ‘खोजी तथा शान्ति पत्रकारिता तालिम’को आयोजना गरेको थियो काठमाडौंमा । पत्रकारिता क्षेत्रको नोबेल पुरस्कारको रुपमा चिनिएको ‘म्यागेसेसे पुरस्कार’ प्राप्त फिलिपिन्सकी शीला कोरोनेल तालिमको प्रशिक्षक हुनुहुन्थ्यो । द्वन्द्वका कारण नेपाल भित्रिएको ‘शान्ति पत्रकारिता’को तालिमका लागि सहभागी हुन माथिको परिस्थिति झेलिरहेका हामीलाई आफै हवाईजहाज चढ्ने सौभाग्य जुर्नु भनेको खुशीकै कुरा थियो । यस्तो सौभाग्य जुराइदिने खोज पत्रकारिता केन्द्रलाई धन्यवाद नदिइरहन कहाँ पो सकिन्छ र ? यो आलेखको शुरुमा उल्लिखित समय, मिति र स्थानमा उपस्थित महानुभावहरु मेरा लागि सबै नयाँ थिए, सबै अचम्मका । अलि अघि नै बाहिर गेटमा झोला खोलियो । क्यामेराको ब्याट्री निकालियो । त्यो पनि मेरा लागि अचम्मकै थियो । साथी रुद्र खड्का, सुरेन्द्र काफ्ले र कृष्णराज सर्वहारीहरुलाई दुःख दिएर ‘सीता एयर’को टिकट काट्न लगाएको थिएँ । त्यो बेला यी मेरा साथीहरु अहिलेजस्तो राजधानीवासी थिएनन् । उनीहरु नेपालगञ्जवासी थिए । विडम्बना ! सीता एयरको चिलगाडी नेपालगञ्जको आकाशमै देखिएन ।  हतार–हतारमा ‘बुद्ध एयर’को टिकट लिएर तयार भइयो राजधानीका लागि । कसैले केही पो भन्ने हो कि भन्ने धक मान्दैमान्दै भित्र पसियो । जिन्दगीमै पहिलोपटक चिलगाडी चढ्नका लागि विमानस्थलमा छिरेको म बबुरो ! कस्तो भयो होला मेरो हालत ? पहिल्यै चिलगाडी चढेका साथीहरु भए पनि हुने नि ? कताकता यस्तो सोंच पनि आयो । जानै थियो, छिरियो विमानस्थलमा । यात्रामा धेरै सहयात्रीहरु भेटिन्छन् । नेपालगञ्जको विमानस्थलमा पनि भेटिनुभयो– साफ नेपाल नेपालगञ्ज नामक संस्थाकी पार्वती श्रेष्ठ । पहिलोपटक चिलगाडी चढ्ने रोमाञ्चक अनुभूतिका साथ प्रतीक्षालयबाट जाँचपास गरी चिलगाडीनजिक पुगियो ।  आम्मै ! चिलगाडी चढ्न त सिंढी पो हुँदोरहेछ । सिंढी चढेर चिलगाडीमा छिर्नुअघि एउटी सुन्दरीले मुस्कान दिँदै नमस्कार गरिन् । उनको नमस्कार गर्ने शैली यस्तो थियो कि मलाई लाग्यो, यी नानीले मलाई वर्षौंदेखि चिनिरहेकी छिन् । ‘कहाँ चिनेकी रहिछन् यी नानीले ?’ मनमा प्रश्न उब्जियो । खुल्दुली चल्यो । अर्को मनले भन्यो– ‘कतै चिनेकी होलिन् नि ।’ यही ठानेर मैले नि हाँसेरै नमस्कार फर्काएँ । त्यसपछि चिलगाडीमा प्रवेश गरें ।  पछि थाहा भो, यिनीहरुलाई परिचारिका ‘एयर होस्टेज’ भन्दा रैछन् । उनले त्यसैगरी जसरी मलाई नमस्कार गरेकी थिइन्, सबै यात्रुहरुलाई उस्तै दुरुस्तै मुस्कानका साथ नमस्कार गरिन् । बिस्तारै परिचारिकाहरुले सबै यात्रुहरुलाई यस्तै मुस्कानसाथ नमस्कार गर्ने गरेको रहस्य थाहा पाएपछि लाजले थुतुनो रातो पार्नुको विकल्पै रहेन मसँग ।  विमानभित्र छिरेपछि सीट हेरें । ‘साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ’  भन्ने उखान त्यतिखेर ठ्याक्कै ममा लागू भयो । बसमा झ्याँकिदै, फ्याँकिदै, याँकिदै र पछारिँदै हिँडेको यो ज्यान । मलाई लाग्यो, पछाडिको सीटमा बस्दा बसले झैं झ्याँक्ने डर । त्यसपछि अगाडिको सीट रोजेर आनन्दसँग बस्ने सुर कसें । त्यहीअनुसार पार्वतीजीलाई पनि अगाडि नै बसाएँ । नेपाली समयअनुसार केही घण्टा ढिलो गरेर नेपालगञ्जबाट ‘बुद्ध एयर’को चिलगाडी उड्यो । पछाडि फर्केर हेरें– मानिसहरु आनन्दले बसिरहेका थिए । चिलगाडीलाई बस ठानेर झ्याँकिने डरले अगाडि बसेको रहस्योद्घाटन भएपछि पार्वतीजी हाँस्नु भो– मरी मरी । फेरि पनि लज्जाबोधले थुतुनो रातो पार्नुको विकल्प थिएन मसँग । चिलगाडी बादलको घुम्टोमाथि पुगेर आफ्नो गन्तव्यतर्फ हुइँकिइरह्यो, हुइँकिइरह्यो । आहा ! आकाश छङ्ग फाटेको थियो । जमिनका रुखहरु ससाना हुँदै गए । घरहरु पनि झनपछि झन साना हुँदै गए र बिलाउँदै गए । पूर्वपश्चिम राजमार्ग हुनुपर्छ, नागबेलीजस्तै आकारमा आफूलाई सजाइरहेथ्यो । आहा ! कति मज्जा बादलभन्दा माथि अझै माथि झनै माथि … । भन्ने गरिन्छ कि आकाशमा बादल लागेको छ । त्यसो होइन रहेछ । आकाशबाट हेर्दा बादल त जमिनमा लागेको हुँदोरहेछ । मुख्य कुरा त दृष्टिविन्दुको रहेछ । जमिनमा उभिएर हेर्दा आकाशमा लागेको देखिने बादल त आकाशबाट हेर्दा जमिनमा पो लाग्दोरहेछ । कहाँ उभिएर हेर्ने भन्ने कुरा संसारमा महत्वपूर्ण हुँदोरहेछ । जमिनभरि फिटिएको कपासको भुवा पोखिएजस्तो । कति राम्रो ? अँ, चिलगाडी उड्दै गर्दा उनै अघिकी सुन्दरी रुई र चकलेट ट्रेमा लिएर आइन् । अरु यात्रुहरुको सिको गर्दै कानमा रुई कोचारें मैले पनि । त्यसपछि अरुकै सिको गरेर मुखमा चकलेट घुसारें । केहीबेरपछि हातमा पत्रपत्रिका लिएर उनै सुन्दरी मेरो अगाडि उभिइन् । रुचीअनुसार पत्रिका समाए यात्रुहरुले । कसैकसैले पत्रिका पढ्न चाहेनन् । मैले सहजरुपमा ‘कान्तिपुर’ दैनिक समाएँ र पहिलो पृष्ठका समाचार शीर्षकहरुमा आँखा डुलाएँ । अघिल्लो दिन आन्दोलनरत दलका नेताहरुमाथि लाठीचार्ज भएकाले आन्दोलनकारीहरुले त्यस दिन विरोधस्वरुप ‘उपत्यका बन्द’को कार्यक्रम राखेको समाचार पनि थियो त्यसमा । परेन फसाद ? पुनः चिलगाडीलाई बस सम्झिएछु मैले । उपत्यकामा यातायातको साधन नचल्ने ठानेर एकछिन उत्रने सोंच पलायो मनमा । चिलगाडी उडिसकेपछि उत्रने कुनै सम्भावना हुने कुरै थिएन । फेरि पनि हुस्सु बनेकोमा म मनमनै हाँसिरहें, जहाज आफ्नो गतिमा हुइँकिइरह्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सडक सुनसान थियो । यात्रुहरु अलपत्र थिए । सबैका अनुहारमा चिन्ताको भाव सजिलै पढ्न सकिन्थ्यो । नेपालगञ्जबाट काठमाडौं पुग्नुभन्दा विमानस्थलबाट कीर्तिपुर पुग्न कठिन भयो हाम्रा लागि । जहाजमा उडेर काठमाडौं पुगी रिक्सामा गुडेर कीर्तिपुर आउन थालेको जानकारी साथी नवीन विभासलाई गराएँ । त्यसपछि पार्वतीजी र मेरो रिक्सायात्रा प्रारम्भ भयो कीर्तिपुरका लागि । सडकैभरि आन्दोलनको राप थियो । आन्दोलनकारीहरुसँग छलिँदै करीव डेढ घण्टामा कीर्तिपुर प्रवेश गर्न सफल भयौं । साँझ नवीनजीले हातमुखको जोहो गरिरहँदा खाटमाथि पल्टिएर सोचें– कति होलान् नेपालमा चिलगाडीलाई सपना ठान्ने ? कति होलान् सिँगान पुछ्दै र जाङे हल्लाउँदै हाम्रा बा र दाजुलाई पठाई दे भनेर चिलगाडीको पछिपछि दगुर्ने ? कति होलान् बसले झैं झ्याँक्ने डरले चिलगाडीको पनि अघिल्लो सीट ताक्ने ? आज यो संस्मरण लेखिरँदा गमिरहेछु– आजको शहरिया युवापुस्ता धेरै अगाडि पुगिसक्यो । कोठाको कम्प्यूटर अगाडि बसेर यो पुस्ता संसार विचरण गरिरहेको छ । संसार बुझेको यो पुस्ता र हाम्रो त्यो पुस्ताबीच पुस्तान्तरको ठूलो खाडल कहिले पुरिएला ? जबकि हामी विभिन्न बहानामा टेलिफोन काटिरहेछौं, इन्टरनेट प्रतिबन्धित गरिरहेछौं अर्थात विज्ञानलाई निषेध गरिरहेछौं !