अखिल नेपाल युवक संघले भ्रष्टाचार र नागरिकता ऐन संशोधन विधेयक विरुद्ध सञ्चालन गर्न लागेको ‘मेची महाकाली खबरदारी अभियान’ को तयारी पुरा भएको छ । उक्त अभियानको उद्घाटन बुधबार कञ्चनपुरको महेन्द्रनगरस्थित मदनचोकमा बाट हुनेछ ।

माघ १५ गते महेन्द्रनगरबाट सुरु हुने अभियान तराईका विभिन्न जिल्लाहरुमा सभा, अन्तरक्रिया, कोणसभा, जनभेटभाट गर्दै २९ गते झापाको काँकडभिट्टामा समापन हुनेछ । संघका अध्यक्ष अनिलकिशोर घिमिरेको नेतृत्वमा सञ्चालन हुने मोटरसाइकल यात्रामा उपाध्यक्षहरु चित्र एमसी, मुकुन्द रोकाया, लक्ष्मण पुन, महासचिव कृष्णराज पाण्डे, सचिवहरु हस्त बिक र प्रशान्त थापा, कोषाध्यक्ष भिमसेन वनलगायतका नेताहरु सहभागी हुने युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेले जानकारी दिएको छ । साे अवधिमा करिब ४ दर्जन मोटरसाइकलहरू नियमित गुड्नेछन् भने स्थानीयस्तरमा थप हुँदै जानेछन् ।

कार्यक्रमले भ्रष्टाचार र राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध जागरण पैदा गर्ने युवक संघका महासचिव कृष्णराज पाण्डेको विश्वास छ । ‘देशमा कहाली लाग्दो भ्रष्टाचार छ । त्यस विरुद्ध जनतालाई जागृत बनाउँदै र आन्दोलित हुन आह्वान गर्दै हामी अघि बढ्नेछौं’ महासचिव पाण्डेले भन्नुभयो, ‘संसदमा विचाराधिन नागरिकता संशोधन विधेयक पास भएमा नेपाल फिजी हुँदै सिक्किमीकरण हुनेछ । त्यसविरुद्ध पनि हामी जनतालाई सचेत र संगठित पार्नेछौं ।’

यस्तो छ, अभियानको रुट तथा कार्यक्रम
माघ १५ गते- महेन्द्रनगरमा कार्यक्रमको उद्घाटन, बेलौरीमा जनभेटघाट र कोणसभा, धनगढीमा भेटघाट, अत्तरियामा सांस्कृतिक सभा र बास
१६ गते- लम्की, भुरिगाउँ, नेपालगञ्जमा कोणसभा, जनभेटघाट गर्दै कोहलपुरमा बास
१७ गते- शमसेरगञ्ज, कुसुम, अमेलिया, तुल्सीपुर कायक्रम गर्दै घोराहीमा बास
१८ गते- घोराही पत्रकार भेटघाट, लमही, लालमटियामा कोणसभा, जनभेटघाट गर्दै भालुवाङमा सांस्कृतिक सभा र बास
१९ गते- चन्द्रौटा, गोरुसिङे सभा, प्रचारप्रसार गर्दै चार नम्बर बास
२० गते- चार नम्बर कार्यक्रम, पिपरा, सालझण्डी प्रचारप्रसार गर्दै हरैया भेटघाट र बास
२१ गते- मुर्गिया, नयाँगाउ, बेलबास कोणसभा गर्दै बुटवल कार्यक्रम र बास
२२ गते- सुनवल, परासी, बर्दघाट, कार्यक्रम गर्दै सोह्र नम्बर जनभेटघाट र बास
२३ गते- गैंडाकोट जनभेटघाट, नारायणघाट सांस्कृतिक सभा र टाँडीमा बास
२४ गते- हेटौंडा कोणसभा, प्रचारप्रसार गर्दै सिमरा सांस्कृतिक सभा र बास
२५ गते- निजगढ, चन्द्रनिगाहपुर कार्यक्रम गर्दै रौतहट बास
२६ गते- सर्लाही, महोत्तरी, धनुषा, सिराहा प्रचारप्रचार गर्दै सप्तरी बास
२७ गते- इटहरी, धरान, विराटनगर कार्यक्रम र इटहरी बास
२८ गते- दमक प्रचारप्रचार, बिर्तामोड सांस्कृतिक सभासहित बास
२९ गते- काकडभित्ता प्रचारप्रचार, सभासहित समापन