इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले “मानवीय त्रुटिका कारण” विमान खसालिएको हो। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ।

इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा “मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमानको दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको” निष्कर्ष निस्किएको एउटा ट्वीटरमा लेखेका छन्।

उक्त घटनालाई “ठूलो विपत्ति र अक्षम्य गल्ती” भन्दै उनले कसले त्यसो गर्‍यो त्यो पत्ता लगाउन र कारबाही गर्न अनुसन्धान भइरहेको जनाएका छन्।