लण्डन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले राजपरिवारको विशेष जिम्मेवारी त्यागेको घोषणा गेरका छन् ।  आर्थिक रूपमा आत्मनिर्भर हुन उनीहरुले काम गर्ने घोषणा गरेका हुन् । एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन्। उक्त विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको बताइएको छ। राजपरिवारका वरिष्ठ सदस्यहरू ह्यारी दम्पतीको घोषणाबाट ‘आश्चर्यचकित’ भएको बुझिएको छ। गत अक्टोबर महिनामा राजकुमार ह्यारी र मेगनले सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन आफूले सङ्घर्ष गर्नुपरेको बताएका थिए। बुधवार अप्रत्याशित रूपमा निकालिएको विज्ञप्तिमा आफूहरूले धेरै महिना सोचविचार र छलफल गरेर उक्त निर्णय गरेको उल्लेख गरेका छन्। उनीहरूले उक्त विज्ञप्ति सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन्।