तलमिज अहमद

जनरल कासिम सोलेमनी पक्कै पनि आफ्नो अपराजयमा विश्वस्त थिए। पश्चिम एसियाका निम्ति कुनै बेला इरानको सैनिक र राजनीतिक प्रभाव दुर्लभ विषय थियो। बितेका केही वर्षमा सोलेमनीकै कारण इरानले त्यो क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सक्यो। त्यसकारण सोलेमनीको प्रतिष्ठा इरानको राष्ट्रनायकजत्तिकै थियो। सन् २०१५ मा एकजना इरानी टिप्पणीकारले सोलेमनीको ‘लार्जर ड्यान लाइफ’ व्यक्तित्व सञ्चारमाध्यम, चलचित्र र लोक संकृतिमा समेत छाएको लेखेका थिए।

सम्भवतः त्यही कारण जनरल सोलेमनीमा एक प्रकारको आत्मविश्वास बलियो बन्यो। नत्र पश्चिम एसियाको हवाई र जल मोर्चामा अमेरिकी सेनाको यति बाक्लो उपस्थिति र केही दिनअघि मात्र इराकी लडाकु समूहले अमेरिकी दूतावासमा भीषण हमला गरेको घटनाबीच उनी कसरी इराकको राजधानी बग्दादमा अघिपछि मोटर ताँती लगाएर हिँड्न सक्थे ?

सोलेमनीको हत्या
यही जनवरी ३ तारिख बिहानै अमेरिकी रक्षा विभाग पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा ड्रोन हमला गरी इरानी अल कुद फौजका प्रमुख जनरल सोलेमनीको हत्या गरिएको घोषणा ग¥यो।  हमलामा इरान समर्थित काटैब हजबोल्लाह लडाकु तथा पपुलर मोबिलाइजेसन युनिट (पिएमयु)का सह–कमान्डर अबु मेहदी अल मुहान्दिस पनि मारिए। मोसुलको पतनपछि इस्लामिक स्टेट (आइएस)विरुद्ध लड्न सन् २०१४ मा सिया लडाकुले पपुलर मोबिलाइजेसन युनिट अर्थात् जनपरिचालन एकाइ स्थापना गरेका थिए।

सैनिक शक्तिद्वारा होइन, कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने सोच अमेरिकामा आयो भने कासिम सोलेमनीको हत्याले निम्त्याउने संकट टार्न सकिनेछ।

सोलेमनीको हत्याले पश्चिम एसिया क्षेत्रीय लडाइँका एकजना सफल व्यक्तिको जीवनवृत्ति समाप्त भयो। ९–११ को हमलापछि सन् २००१ मा उनले तालिबानविरुद्धको लडाइँमा अमेरिकीहरूलाई निकै महत्वपूर्ण गुप्तचर सूचना उपलब्ध गराएका थिए। सन् २००७ मा उनले इराकमा बढ्दो साम्प्रदायिक द्वन्द्व नियन्त्रण गर्न सहयोग गरेका थिए। मोसुलमा आइएसविरुद्धको लडाइँमा जनरल सोलेमनी कमान्डर थिए। अमेरिकी विशेष सेना, इराकी राष्ट्रिय सेना र मूलतः पिएमयुका लडाकुबीच समन्वयन गरी आइएसविरुद्धको लडाइँमा उनी प्रभावशाली व्यक्ति थिए।

आइएसको पराजयपछि सोलेमनीले अमेरिकीहरूस“ग समन्वय गर्न छाडे। अब दुवै पक्ष (अमेरिका र इरान) आआफ्ना क्षेत्रीय स्वार्थ सिद्ध गर्न प्रतिस्पर्धा गर्दै छन्। सिरियाली राष्ट्रिय सेनाको पुनर्गठन गर्ने र सिरियाका अधिकांश भूभाग सरकारकै नियन्त्रणमा फिर्ता ल्याउने विषयका प्रमुख रणनीतिकारमध्ये सोलेमनी एक थिए।

अमेरिका–इरान प्रतिस्पर्धा
अमेरिका र इरानबीच घनिभूत प्रतिस्पर्धाको केन्द्र आज इराक बनेको छ। इराकमा इरान पक्षधर दलको परिचालनमा सोलेमनीले केन्द्रीय भूमिका निर्वाह गरिरहेका थिए। साथै इराकी चुनावमा इरान समर्थक व्यक्तिलाई प्रधानमन्त्री निर्वाचित गराउन पनि उनले भूमिका खेल्ने गरेका थिए। अमेरिका र साउदी अरबले इरानी प्रभाव कम गर्न आफ्ना सबै स्रोत÷साधन व्यापक परिचालन गरे पनि सोलेमनीले आफ्ना विरोधीलाई समेत एकै ठाउ“मा ल्याएर इरानी प्रभाव विस्तारमा सफलता हासिल गरेका थिए।

विभिन्न सम्प्रदाय परिचालन गरी इरानले हासिल गरिरहेको सफलता समयक्रममा इराकमा झाङ्गिँदो राष्ट्रवादी भावनासँग जुध्न थाल्यो।  इराकी जनताले आफू सिया हुनुमा भन्दा अरबी हुनुमा बढी गौरव गर्न थाले। यस्तो परिस्थितिको सबभन्दा लाभ साउदी अरबले उठायो। बितेका २ वर्षयता साउदी सरकारले बग्दाद सरकारसमक्ष राजनीतिक, व्यापार र लगानीमा सहयोग गरिरहेको छ। उसले गर्ने सहयोग सम्प्रदायका आधारमा हुने गरेको छैन।

भर्खर आकार लिँदै गरेको इराकी राष्ट्रवाद सन् २०१९ अक्टोबरदेखि इराकका विभिन्न सहरमा भइरहेका जनप्रदर्शनमा प्रस्ट रूपमा प्रकट भएको देखिन्छ। लाखौं लाख इराकी युवा विद्यमान जातीय–साम्प्रदायिक राजनीतिक व्यवस्थाविरुद्ध सडकमा उत्रेका छन्। इराकको वर्तमान व्यवस्थाले राज्यका सम्पत्ति, राजनीतिक नेताका अस्थायी मोर्चाबीच बा“डचु“ड गर्ने र व्यक्तिगत फाइदामा मात्र ध्यान दिने गरेको प्रदर्शनकारी युवाको बुझाइ छ। तर यसरी राजनीतिक नेताले फाइदा लुट्दैगर्दा जनताको रोजगारी, सेवा र आर्थिक विकासका पक्ष ओझेलमा परेका छन्। युवा प्रदर्शनकारीले चुनावमा उम्मेदवारी दिँदा कुनै जाति वा सम्प्रदायका आधारमा नभई प्रत्यक्ष, निर्वाचन क्षेत्रमा आधारित हुनुपर्ने आवाज उठाइरहेका छन्।

जनआन्दोलन
इराकमा भएका प्रदर्शनमा इरानविरोधी आवाज उठ्ने गरेका छन्। इराकको भ्रष्ट राजनीतिक प्रणालीको प्रमुख वास्तुकार र लाभग्राही इरान भएको विचार बोक्ने इराकी पनि धेरै छन्। जनरल सोलेमनीको प्रचारबाजीका कारण उनलाई इराकमा इरानकै पर्यायवाचीका रूपमा चर्चा गर्ने गरिएको छ। इराकी प्रदर्शनहरूमा एउटा नारा निकै लाग्ने गरेको छ– इरान फर्की जा, इराकी स्वतन्त्रता जिन्दावाद।

इरानबाट हुन सक्ने तीखो प्रतिरोध रोक्न संसारका शक्तिले विशेष पहल गर्नेछन्। तर त्यसले अन्ततः पश्चिम एसियालाई द्वन्द्वको दलदलमा फसाउनेछ।

इराकी प्रदर्शनकारीविरुद्ध कडा व्यवहारको वकालत गरेको भन्ने समाचार र इरानसमर्थक लडाकु तथा इराकी प्रदर्शनकारीबीच भिडन्तका घटनाले इरान र व्यक्तिगत रूपमा सोलेमनीप्रति इराकमा नकारात्मक धारणा फैलिएको हुन सक्छ। आन्दोलनमा पा“च सयभन्दा बढी मानिसको मृत्यु, मुख्य नेताहरूको अपहरण र हजारौं प्रदर्शनकारी घाइते हुनुको दोष इरानलाई नै लगाउने गरिएको छ।

अब्देल अब्दुल महेदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रदर्शनकारीले कुनै पनि राजनीतिक खेमाबाट स्वतन्त्र र ‘स्वच्छ’ छविका व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन्। त्यस्तो व्यक्ति सबैथरी वैदेशिक प्रभावबाट मुक्त हुनुपर्ने उनीहरूको माग छ। यी आन्दोलनकै बीच ‘जस्तालाई तस्तै’को भावनाले अमेरिका र इरानबीच द्वन्द्व बढाएको छ। इरान पक्षधर लडाकुले लगातार अमेरिकी सैनिक शिविर र आधारमा रकेट बर्साइरहेका छन्। आइएसको पराजयपछि अब अमेरिकी सेना त्यहा“बाट फर्कोस् भन्ने अभिप्रायले हमला भइरहेको देखिन्छ। फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा ट्विटरमार्फत चा“डै इराकबाट अमेरिकी सेना फिर्ता हुने घोषणा गरे पनि पछि इरानी गतिविधि अनुगमनका लागि उनीहरू त्यहीं रहने भनी कुरा फेरे।

अमेरिका–इरान हमला
दुई पक्षबीच हानाहानकै सिलसिलामा गत डिसेम्बर २७ मा इरान पक्षधर काटैब हजबोल्लाहले किर्कुटस्थित अमेरिकाको सैनिक आधारमा हमला ग¥यो। जसमा एकजना अमेरिकी सैनिक ठेकेदार मारिनाका साथै केही अमेरिकी र इराकी लडाकु घाइते भए। प्रतिकारमा अमेरिकी सेनाले इराक र सिरियास्थित काटैब हजबोल्लाहका एकाइहरू आक्रमण ग¥यो। ती हमलामा परी एकजना स्थानीय कमान्डरसहित २५ लडाकु मारिए।

घटनाप्रति इराकी लडाकु दस्ता र इरानले कडा प्रतिक्रिया दिए। अमेरिकीहरूलाई ‘हस्तक्षेपकारी’ संज्ञा दिँदै पिएमयुको वक्तव्यमा अमेरिकालाई ‘क्षेत्रीय अस्थिरता, अराजकता, तनाव र ध्वंसको प्रमुख दोषी’ भनिएको छ। अल–कुदको माउ इरानी इस्लामिक रिभोलुस्नरी कोर्पले ‘बदला लिने’ उपयुक्त समय यही भएको बताएको छ। इरानी सेनाका परराष्ट्र मन्त्रालयका प्रवक्ताले इराकमा अमेरिकी कब्जा अन्त्य हुनुपर्ने बताएका छन्। इराकमा पनि सम्मानित धर्मगुरु आयोतोल्लाह अली सुस्तानीले अमेरिकी हमलाको भत्र्सना गर्दै ‘क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वार्थ पूरा गर्न’ इराक कुनै पनि देशबाट प्रयोग हुन नहुने सुझाव दिएका छन्। उनको प्रस्ट संकेत अमेरिका–इरान छद्म युद्धतिर थियो।

अमेरिकी बमबारीको प्रतिक्रिया स्वरूप इराकी लडाकुले तजीस्थित  अमेरिकी आधारमा अर्को हमला ग-यो। त्यसपछि उनीहरूले बाक्लो सुरक्षा घेराभित्र रहेको बग्दादस्थित अमेरिकी दूतावासको हरित क्षेत्र पार गरे। जनवरी १ सम्म पनि उनीहरूले दूतावासवरपर घेरेर  नाकाबन्दी जारी राखेका थिए। अन्ततः जनसमर्थन कमजोर हु“दै गएपछि उनीहरू पछि हटे।

अमेरिकी दूतावासमा भएको हमलाले इराकी प्रदर्शनलाई इरानबाट अझ अलग बनायो। लडाकुहरूले दूतावास अगाडि लडाकु समूहको झन्डा र इरानका सर्वोच्च नेता अली खामेनीको तस्बिर बोकेका थिए। इराकको झन्डा बोकेका थिएनन्। त्यहा“ नारा लाग्यो– ‘कासिम सोलेमनी हाम्रा नेता हुन्’, ‘संयुक्त राज्य अमेरिका फर्की जा’, ‘इरानी स्वतन्त्रता जिन्दावाद !’

अमेरिकी दूतावास घेराउ
पर्यवेक्षकहरूका अनुसार इराकी आन्दोलनकारीका साथै केही पिएमयु लडाकुसमेतले अमेरिकी दूतावासमा नाकाबन्दी गर्ने विषयमा असहमति जनाएका थिए। सिया तथा गैरसिया समूह र वरिष्ठ सरकारी अधिकारीले दूतावासमा भएको हमलाको विरोध गरेका छन्। फलतः केही इरानसमर्थित लडाकुबाट अमेरिकी दूतावासमा भएको हमला निष्प्रभावी बन्यो।

आक्रोशित ट्रम्पले ट्विटरमार्फत दूतावासमा भएको धनजन क्षतिको जिम्मेवारी इरानले लिनुपर्ने बताए। उनले भने, ‘उनीहरू(इरान)ले यसको निकै ठूलो मूल्य चुकाउनुपर्नेछ। यो मेरो चेतावनी होइन, धम्की हो।’ आयोतोल्लाह खामेनीले पनि ट्विटरबाटै जवाफ दिए, ‘तिमीले जे पनि गर्न पाउ“दैनौ। तिमी विवेकी भएको भए (जो तिमी होइनौ), तिमी देख्दैनौ इराक, अफगानिस्तानमा भएका तिम्रा युद्ध अपराध ! त्यसकारण ती देश आज तिमीलाई घृणा गर्छन्।’

त्यसको भोलिपल्ट लेबनान वा सिरिया जान बग्दाद गाडीमा विमानस्थलतर्फ जाँदै गर्दा कासिम सोलेमनीलाई अमेरिकी ड्रोनले आक्रमण गरी हत्या ग¥यो। पेन्टागनले हमलालाई ‘प्रभावकारी प्रतिरक्षा’ बतायो। ‘भविष्यमा इरानबाट हुन सक्ने हमला रोक्न’ त्यो हमला गरिएको उसको भनाइ थियो।

यो हत्या, केही महिनादेखि खाडीका समुद्रमा अमेरिका र इरानबीच जारी हानाहानकै उच्चतम रूप मात्र थियो। पश्चिम एसियामा अमेरिकाका शब्दमा इरानका ‘खराब’ गतिविधिका मुख्य योजनाकार सोलेमनी भएको निष्कर्षसहित ट्रम्पले उनको हत्या गर्ने आदेश दिएको हुनुपर्छ। इरानका गतिविधिले अमेरिकी स्वार्थ र योजनामा धक्का पु¥याइरहेको थियो। अमेरिकाले आफ्ना सयौं सिपाहीको मृत्युका दोषी भन्दै सोलेमनीलाई ‘आतंकवादी’ घोषणा गरेको थियो।

सोलेमनी हत्यामा ट्रम्प नियत
पर्यवेक्षकहरू, सोलेमनीको हत्या गर्न ट्रम्पले दिएको आदेश बिनासोचविचार गरिएको निर्णय भएको बताउ“छन्। फ्लोरिडामा बिदामा बसेका ट्रम्पले आवेगमा यस्तो निर्णय गरेको धेरैको बुझाइ छ। बग्दादस्थित अमेरिकी दूतावासमा गरिएको आक्रमणलाई अमेरिकाले आफ्नो स्वार्थका लागि ठूलो खतराका रूपमा बुझेको हुन सक्छ।

राजदूतावास घेरेर बसेका लडाकुले सबै अमेरिकी सेनाले इराक नछाडुन्जेल र राजदूतावास बन्द गर्ने निर्णय नहु“दासम्म यताउता नजाने घोषणा गरेका थिए। जसबाट राजदूतावास घेराउ लामो समयसम्म जारी रहने देखिएको थियो। तर राजदूतावासआसपास जारी प्रदर्शन जनवरी १ बाट बन्द भए पनि आगामी दिनमा यस्ता घटना नदोहोरिएलान् भन्नेमा ट्रम्प ढुक्क थिएनन्।

यसले अमेरिकासाम दुईवटा खतरनाक सम्भावना देखापरे ः पहिलो– सन् २०१२ मा लिबियाको बेनगाजीस्थित अमेरिकी दूतावासमा भएजस्तो हमला हुन सक्ने। जुन हमलामा अमेरिकी राजदूत र अन्य केही कूटनीतिक प्रतिनिधि मारिएका थिए। पहिलोपटक आफू निर्वाचित भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले यो घटना बारम्बार उल्लेख गरेर घटना हु“दाको समयका विदेश सचिव एवं आफ्ना प्रतिस्पर्धी हिलारी क्निटनलाई छेड हानेका थिए।

दोस्रो खतरा– सन् १९७९ मा इरानको राजधानी तेहरानस्थित अमेरिकी दूतावास कब्जा दोहोरिने सम्भावना। तेहरान घटनामा अमेरिकी कूटनीतिक प्रतिनिधिहरू ४ सय ४४ दिन दूतावासभित्रै बन्दी बनाइएका थिए। संसारभर यो अमेरिकाको अपमानको विषय बनेको थियो। यही घटनाका कारण दोस्रो कार्यकालका लागि भएको चुनावमा तत्कालीन राष्ट्रपति जिम्मी कार्टर पराजित भएका थिए।

यी सम्भाव्यताबीच संसद्मा महाभियोग सामना गरिरहेका ट्रम्पलाई अमेरिकी दूतावासमा भएको नाकाबन्दीले कुनै बलियो र आक्रामक निर्णय गर्ने अवस्थामा पु¥याएको हुनुपर्छ। उनी त्यसै पनि इरानप्रति आक्रामक व्यवहार गरिरहेका थिए। सोलेमनीको हत्याले आफू सधैं अमेरिकी हित र स्वाभिमान रक्षकका रूपमा चिनिने ट्रम्पले सोचेको हुनुपर्छ। यस घटनाद्वारा तत्कालीन राष्ट्रपति ओबामाको कार्यकालमा ओसामा बिन लादेन हत्या घटनालाई नै ओझेलमा पार्ने दाउ ट्रम्पको थियो।

तत्कालीन प्रभाव
सोलेमनीको हत्याले अन्तर्राष्ट्रिय जगत्लाई चकित तुल्याएको छ। इरानका सर्वोच्च नेता अली खामेनीले हत्याका दोषीले ‘घातक बदला’ सामना गर्नुपर्ने चेतावनी दिएका छन्। इरानी विदेशमन्त्री जाभेद जरिफले घटनालाई ‘अन्तर्राष्ट्रिय आतंकवादी कार्य’, ‘असभ्य दुस्साहस’ र ‘खतरनाक र मूर्खतापूर्ण उत्तेजना’को संज्ञा दिएका छन्। रुसी विदेशमन्त्रीले पनि यसलाई क्षेत्रीय तनाव बढाउने कदम भनेका छन्।

युरोपेली संघका सदस्य देशहरू घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिनबाट सजग भए। फ्रान्सका युरोपेली मामिला मन्त्रीले शक्तिको प्रतिस्पर्धा रोक्न युरोपेली संघका सदस्यहरूलाई सामूहिक पहलका लागि आह्वान गरेका छन्। अधिकतर युरोपेली नेता भने यो घटनाबाट इरान आणविक सम्झौता उल्लंघन हुनेमा चिन्तित छन्। इरानलाई सम्झौताका थप बु“दा उल्लंघन गर्न यो घटनाले अझ उत्साहित बनाउने उनीहरूको आशंका छ। आगामी फेब्रुअरीमा हुने इरानी निर्वाचनमा मध्यपन्थी राष्ट्रपति हसन रोहानीलाई कट्टरपन्थीले पराजित गर्नेमा अन्तर्राष्ट्रिय चासो छ।

इराकलाई पनि यो घटनाले आफ्नो भूमिमा रहेका पा“च हजार अमेरिकी सेनालाई फिर्ता गराउने कानुन पारित गर्न उत्साहित बनाउन सक्छ। जसले त्यहाँ अमेरिकाको प्रभाव कमजोर पार्नेछ। इरान एक्लैको मात्र सैनिक उपस्थिति रहनेछ। इराकी नेताहरूले पनि यही मौका छोपेर देशमा गर्नुपर्ने सुधारको साटो अमेरिकाविरोधी र इरानपक्षीय कुरा गरेर विद्यमान भ्रष्ट प्रणालीलाई टेवा दिन सक्छन्। फलतः तीन महिनायता इराकमा जारी जनआन्दोलनलाई कमजोर पार्दै विद्यमान जातीय/साम्प्रदायिक व्यवस्थाले नयाँ जीवन पाउन सक्छ।

क्षेत्रीय लडाइँ हुन्छ ?
सोलेमनीको हत्यापछि सबैको मनमा जिज्ञासा छ– अब क्षेत्रीय लडाइँ हुन्छ ? अथवा संयम, धैर्यता र संवादबाट यो समस्या समाधान हुन्छ ? युद्धको सम्भावना वास्तविक हो। ट्रम्प इरान र इरानी नेताप्रति आ“खा चिम्लेर विरोधमा लागेका छन्। रिपब्लिकन पार्टी र सिनेटमा पनि इरानविरोधीकै बाहुल्य छ। ट्रम्पको दक्षिणपन्थी मूल समूह (कोर गु्रप)मा पनि इरानविरोधी मात्र छन्। आजसम्म इरानमा युद्ध भएको छैन, किनभने पश्चिम एसियामा द्वन्द्वबाट अमेरिकाले कुनै फाइदा देखेको छैन। बरु त्यो द्वन्द्वले अमेरिकातर्फ घाइते सेनाको संख्या मात्र बढाउने उसको सोचाइ छ। यसैले अमेरिकी सेनालाई सकेसम्म चा“डो घर फर्काउने ट्रम्पको मनसाय छ।

उनको यो विचार पश्चिम एसियामा अमेरिकी उपस्थिति बलियो बनाउन चाहने केही दक्षिणपन्थी थिंकट्यांक र लबिस्टहरूका कुरास“ग बाझेको छ। इरान, रुस र चीनको प्रतिरोध गर्न पश्चिम एसियामा अमेरिकाको उपस्थिति आवश्यक भएको उनीहरूको तर्क छ। त्यहा“ अमेरिकाको बलियो उपस्थितिले इजरायलको पनि सेवा गर्नेछ भने र इरानी प्रभावलाई पनि कमजोर बनाउनेछ।

त्यही भएर ट्रम्प बेलाबेला दोहोरो कुरा गरिरहेका हुन्छन्। उनी सार्वजनिक रूपमा सेना फिर्ता गर्ने घोषणा गर्छन् र लगत्तै भनाइ सच्याउँछन्। ट्रम्पका अधिकारीहरूले गर्ने नीति सुधार्ने (कोर्स करेक्सन) कुरा इरान र त्यहाँ अमेरिकी सैनिक र कूटनीतिक प्रतिनिधिको सुखद बसाइका सन्दर्भमा प्रभावकारी हुने गरेका छन्। यस्ता घटनाले नै ट्रम्पको सस्तो लोकप्रियतावादी विचारलाई  प्रोत्साहन गर्नाका साथै हतारमा प्रतिक्रिया दिने बानीलाई बल दिए। उदाहरणका लागि गत वर्ष अफगानिस्तानमा एक सिपाहीको हत्यालगत्तै ट्रम्पले सेप्टेम्बरमा तालिबानस“ग वार्ता गर्न पहल गरेका थिए।

तर राष्ट्रपतिको यो प्रस्तुतिले विनाशकारी परिणाममा पु¥याउन सक्छ। इरानी प्रतिरोधले खाडीको तेलमा गम्भीर प्रभाव पार्न सक्छ। हजारौं मानिसको मृत्यु हुन सक्छ। मारिनेमा अमेरिकी सेना पनि पक्कै पर्नेछन्। कदाचित् इरानले तत्काल प्रतिरोध गरेन भने पनि संसारभर विभिन्न ठाउ“मा बसेका अमेरिकी नागरिकविरुद्ध गोप्य हमला हुने सम्भावना छ। आखिर जुनसुकै खालका द्वन्द्व भए पनि तेलको मूल्यमै असर पर्ने हो। जसले भारतजस्तो आयातमा आधारित अर्थतन्त्रलाई अझ कमजोर बनाउनेछ।

शान्ति प्रक्रिया
इरानबाट हुन सक्ने तीखो प्रतिरोध रोक्न संसारका शक्तिले विशेष पहल गर्नेछन्। तर त्यसले अन्ततः पश्चिम एसियालाई द्वन्द्वको दलदलमा फसाउनेछ। त्यसबाट कुनै पनि पक्षलाई कुनै फाइदा हुने छैन। केही दिनभित्रै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी नेता रोहानी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच संवादका लागि पहल थाल्नेछन्। रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ क्षेत्रीय कूटनीतिमा सक्रिय हुनेछन्।

यस्ता पहलले तत्कालै द्वन्द्व हुने खतरा टार्नेछ। तर क्षेत्रीय खेलाडीका प्रतिस्पर्धी स्वार्थ मिलाउन क्षेत्रीयस्तरको शान्ति प्रक्रिया आवश्यक छ। यो प्रक्रिया निकै जटिल र लामो समय लाग्ने खालको हो। एउटा उत्तम आरम्भ बिन्दु भनेको इराकी राजनीतिमा कुनै पनि विदेशी शक्तिको हस्तक्षेप हुन नदिनु र त्यहा“को राजनीतिक व्यवस्थाबारे निर्णय गर्ने अधिकार इराकी जनतालाई दिनु हुन सक्छ।  यसो गर्दा तीन महिनायता आन्दोलनरत इराकी युवाको भावनाको सम्मान हुनेछ। विद्यमान जातीय÷साम्प्रदायिक प्रणाली अस्वीकार गर्ने जनभावनाको कदर हुनेछ। र, आगामी दिनमा इराकको आन्तरिक राजनीतिमा इरान, साउदी अरब वा अमेरिकालाई हस्तक्षेपका लागि कुनै ठाउँ हुने छैन।

पश्चिम एसियामा दिगो शान्ति र स्थायित्वका लागि अमेरिकाले आफ्नो विचार बदल्न जरुरी  छ। कूटनीतिक माध्यमबाट समाधान हुने समस्यामा पनि सैनिक शक्ति प्रयोग गर्ने अमेरिकी नीति यसको बाधक भएको धेरै टिप्पणीकारको भनाइ छ। अमेरिकी वरिष्ठ कूटनीतिज्ञ विलिम्य बर्नले हालै एक अन्तर्वार्तामा यही विषयमा जोड दिएका छन्। आफ्नो प्रभावबारे अतिरञ्जिनापूर्ण कुरा गर्ने तर समस्या आइपर्दा समाधान गर्न नसक्ने अमेरिकी नीतिको उनले आलोचना गरेका छन्।
सारमा सैनिक शक्तिद्वारा होइन, कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने सोच अमेरिकामा आयो भने कासिम सोलेमनीको हत्याले निम्त्याउने संकट टार्न सकिनेछ।
(लेखक भारतका पूर्वकूटनीतिज्ञ हुन्।)
स्रोत: द वायर
नेपाली अनुवादः नीरज लवज