विश्व २१ औँ शताब्दीमा बढिरहेको छ । २१ औँ शताब्दीमा बढिरहँदा यसका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक विशेषताहरू हुन पुगेका छन् । नयाँ विशेषताका कारण राजनीतिक एवम् आर्थिक अन्तरविरोधहरू पनि बदलिएका छन् ।

यो शताब्दीको कम्युनिस्ट आन्दोलन पनि नयाँ स्थितिमा छ । पराजय, विचलन र पुनर्गठनका परिघटनाहरू अगाडि आएका छन् । क्रान्तिहरू केही सतहमा र केही सतहभित्र ज्वारभाटाका रूपमा चलिरहेका छन् । पुँजीवादी संसदीय व्यवस्था सङ्कटग्रस्त हुँदै गएको छ । वैज्ञानिक समाजवादी क्रान्ति पुनः अगाडि आउने सम्भावना बढेको छ । विश्वको यस्तो राजनीतिक, आर्थिक, प्राविधिक विशेषतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

क) राजनीतिक चरित्र

विश्व २० औँ शताब्दीबाट २१ औँ शताब्दीमा प्रवेश गर्दा बदलिएका मुख्य राजनीतिक विशेषताहरू निम्न छन् ।
१) बहुध्रुवको निर्माण
२) उत्तरसाम्राज्यवादी चरित्र
३) अन्धराष्ट्रवादको प्रयोग
४) उच्चतम सैन्य शक्तिको विकास
५) पुँजीवाद र संसद्वादको सङ्कट

१) राजनीतिक दृष्टिले बहुध्र्रुवको विकास महत्वपूर्ण परिवर्तन हो । पूर्वसोभियत सङ्घको विघटनपछि स्वघोषित रूपमा एकधु्रवीय बन्न पुगेको अमेरिकी साम्राज्यवाद यतिबेला तोडिएको छ । एकातिर अमेरिकी धु्रव छ भने अर्कोतिर रुसी धु्रव रहेको छ । चीनले पनि एउटा शक्तिका रूपमा आफूलाई विकास गर्दैछ । क्षेत्रीय स्तरमा नयाँनयाँ शक्ति केन्द्रहरू देखापर्दैछन् ।

विश्व बहुधु्रवीय बन्ने क्रमसँगै नयाँ सङ्घर्ष र युद्धहरू सुरु भएका छन् । केही वर्ष अगाडिसम्म अमेरिकाले कमजोर देशहरूविरुद्ध एकतर्फी रूपमा चलाइरहेका युद्धहरू बदलिएका छन् । आज रुस पनि युद्धमा उत्रिएको छ । यता चीन पनि युद्धमनस्थितिमा तानिँदै गएको छ । अर्कोतिर मध्यपूर्वमा साम्राज्यवादविरोधी युद्धहरू बढ्दै गएका छन् । युद्धबाट भइरहेको क्षति हेर्दा भयावह छ । तथ्याङ्कअनुसार मध्यपूर्वमा मात्र दस लाखभन्दा बढीको मृत्यु भएको छ भने खर्बौं डलरबराबरको क्षति भएको छ ।

अमेरिकी योजनामा भएको टर्कीको सैन्य कु असफल भएपछि टर्की अमेरिकी धु्रवबाट रुसी धु्रवमा पुग्ने सम्भावना बढेको छ । दक्षिण चीन सागरको सीमा विस्तारलाई लिएर भइरहेको विवाद यथावत् नै छ । संयुक्त राष्ट्रसङ्घको अदालतले चीनको सीमा विस्तारलाई मान्यता नदिने गरेको गलत निर्णय र राष्ट्रसङ्घ अदालतको निर्णयलाई चीनले मान्न अस्वीकार गरेको घटना निकै पेचिलो बनेको छ ।

उत्तरकोरियाको अणुबम परीक्षणलाई लिएर अमेरिकाले दक्षिणकोरियामा जडान गर्न थालेको उच्चशीतोष्ण सुरक्षा प्रतिरोध प्रणाली (थाड) को विषयले रुस, चीन र अमेरिकाबीच तनाव उत्पन्न भइरहेको छ ।

हालै भारत नियन्त्रित कास्मिरमा कास्मिरी विद्रोहीले आक्रमण गरेपछि भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य हमलाको प्रचार र पाकिस्तानले गरेको प्रतिक्रियाले त्यो क्षेत्र अरू तनावपूर्ण बन्दै जाने देखिएको छ ।

अगस्टमा कोलम्बियाको क्रान्तिकारी विद्रोही शक्ति फार्क र सरकारबीच गृहयुद्ध रोक्ने शान्तिसम्झौता भयो । उक्त सम्झौतालाई अमेरिकी उक्साहटमा जनमतसङ्ग्रहद्वारा अस्वीकृत गर्न लगाइएको विषय पनि गम्भीर खालको छ । यी सबै बहुधु्रवकै अभिव्यक्ति हुन् ।

२) विश्व उत्तरसाम्राज्यवादी चरित्रमा प्रवेश गर्नु अर्को राजनीतिक विशेषता हो । दोस्रो विश्वयुद्धको अन्त्य, शीतयुद्धको आरम्भ, सोभियत सङ्घको पतन र नयाँ धु्रवको विकासले साम्राज्यवाद उत्तरसाम्राज्यवादमा पुगेको छ । उत्तरसाम्राज्यवादका विषयमा सैद्धान्तिक महत्वको शीर्षकमा उल्लेख गरिनेछ ।

३) शक्ति राष्ट्रहरूमा देखापरेको अन्धराष्ट्रवाद तेस्रो राजनीतिक विशेषता हो । रुसमा पुटिनले दिएको रुसी राष्ट्रियताको नारा, बेलायतले जनमतसङ्ग्रहद्वारा ईयूबाट बे्रक्जिट (अलग) हुने गरेको निर्णय, अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले दिएको अमेरिकालाई फेरि महान् बनाउने नारा, अमेरिकाबाट आप्रवासीलाई धपाउने, मुस्लिमलाई अमेरिका पस्न नदिने र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा, भारतमा मोदीले दिएको ‘मेकिङ इन्डिया’ को नारा र चिनियाँ राष्ट्रपति सीले दक्षिण समुद्री सीमा विस्तार गर्न लिएको निर्णय आदिले विश्वराजनीतिमा पुनः अति राष्ट्रवाद वा अन्धराष्ट्रवाद बढेको प्रस्ट देख्न सकिन्छ । शक्ति राष्ट्रहरूमा अन्धराष्ट्रवाद बढ्नुको अर्थ विश्व भयानक युद्धको नजिक जानबाहेक अर्को हुँदैन ।

४) उच्चतम सैन्य शक्तिको विकास चौथो राजनीतिक विशेषता हो । विश्वमा शक्तिको मापन सैन्य श्रेष्ठतामा गरिँदैछ । सैन्य श्रेष्ठता अत्याधुनिक सैन्य प्रविधिद्वारा निर्धारित भइरहेको छ । बीसौँ शताब्दीसम्म हाबी रहेको स्थल र हवाई सैन्य शक्तिको ठाउँ अत्याधुनिक हवाई, साइबर र क्षेप्यास्त्र सैन्य शक्तिले लिँदै गएको छ । अन्तरमहाद्विपीय क्षेप्यास्त्रप्रणाली, नक्षत्र क्षेप्यास्त्रप्रणाली र प्रतिरोध क्षेप्यास्त्रप्रणाली यसको केन्द्र भागमा रहेका छन् ।

५) पुँजीवादी संसद्वादी व्यवस्थाको सङ्कट यतिबेलाको पाँचौँ राजनीतिक विशेषता हो । उत्तरसाम्राज्यवादले जति नै राजनीतिक, आर्थिक, सैनिक शक्तिको प्रयोग गरे पनि यसले विश्वलाई शान्ति, स्थिरता र समृद्धि दिन सकेको छैन । बरु विश्वमा यही व्यवस्थाको असफलताका कारण भयानक युद्धहरू फैलिँदै गएका छन् । एकपछि अर्को देशमा पुरानो सत्ताविरुद्ध विद्रोहहरू जन्मिने गरेका छन् । लेनिनले भन्नुभएको छ, ‘साम्राज्यवाद भनेको युद्ध हो । शान्तिको सर्त वैज्ञानिक समाजवाद मात्र हुन सक्छ ।’ आज पनि यो बहस अगाडि आएको छ ।

ख) आर्थिक चरित्र

यो शताब्दीमा आउँदा विश्वको आर्थिक चित्र पनि बदलिँदै गएको छ । दोस्रो विश्वयुद्धपछि शीतयुद्धकालमा साम्राज्यवादी शक्तिहरूले अगाडि सारेको उदारीकरण असफल भएको छ भने नयाँ खालका आर्थिक विशेषताहरू देखापरेका छन् । चीन विश्व बजारको प्रतिस्पर्धामा उत्रिएर विश्वकै दोस्रो आर्थिक शक्ति बन्न पुगेको छ । आर्थिक चरित्रका दृष्टिले साम्राज्यवाद उत्तरसाम्राज्यवादमा पुगेको छ । खासगरी वैज्ञानिक समाजवादको लोकप्रियताबाट अत्तालिएको पुँजीवाद र साम्राज्यवादले कयौँ क्षेत्रमा समाजवादका विशेषताहरूलाई आफ्नो तरिकाले प्रयोग गर्दै आफ्नो चरित्र सुरक्षित गर्ने कोसिस गरिरहेको छ । वर्तमान विश्वका आर्थिक विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

१) उदार अर्थप्रणालीको असफलता

उदारीकरणको असफलता आजको एउटा विशेषता हो । दोस्रो विश्वयुद्धपछि शीतयुद्धकालमा पुँजीवादले उदारीकरण र निजीकरणको नीति अगाडि बढायो । यसको उद्देश्य विश्व बैङ्क, विश्व मुद्राकोष, ठूला वित्तीय संस्थालाई विश्वभर विशेषतः तेस्रो मुलुकहरूमा प्रवेश गराउने, ती राष्ट्रका नियमकानुनहरूलाई बदलेर वित्तीय संस्थाअनुरूप बनाउने, ठूलो पुँजीलाई निर्बाध रूपले लगानी गर्न दिने, जनताको सस्तो श्रमलाई उपयोग गर्ने, पुँजीलाई भूमण्डलीकृत गर्ने रहेको थियो । उनीहरूले यसलाई पुँजी, सुविधाको विस्तारद्वारा जनताको स्तर उठाउने प्रचार गरेका थिए तर बीसौँ शदीको अन्त्यसँगै उदारीकरणको प्रयोग पनि असफल हुन पुगेको छ । विश्वको अर्थतन्त्र पुनः अन्धराष्ट्रवाद र अतिकेन्द्रित विशेषतातर्फ फर्किएको छ ।

२) निगम पुँजीको प्रयोग

साम्राज्यवादले २० को आठौँ दशकबाट निगम पुँजीको प्रयोग गर्यो । उदारवादको असफलतासँगै निगम पुँजीको प्रयोग अगाडि आएको छ । निगम पुँजीको प्रभुत्व चौतर्फी देखिन्छ । पहिले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष आदिबाट काम गर्दै आएको साम्राज्यवादले पछिल्लो समयमा निगम पुँजीको प्रयोगमा विशेष जोड दिएको छ । यसको प्रमुख चरित्र भनेको आर्थिक उत्पादनको सम्पूर्ण क्षेत्रलाई केन्द्रीकृत संरचनाअन्तर्गत परिचालन गर्ने रहेको छ । यसले पुँजीको उत्पादन, विनिमय, वितरण सबैलाई एउटै डालोबाट नियन्त्रण गर्दछ ।

निगम पुँजीको प्रभाव आर्थिक बजारमा मात्र नरहेर राजनीतिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, स्वास्थ्य आदि क्षेत्रसम्म फैलिएको छ । खुलेआम चर्चा छ कि पुँजीवदी राष्ट्रहरू (अमेरिका, भारत, युरोप र एसिया) मा देशको राजनीतिक नेतृत्व कसलाई दिने भन्ने निर्णय निगम पुँजीपतिहरूको हातमा पुगेको छ । त्यसैगरी समाजमा कस्तो संस्कृति जन्माउने, हुर्काउने र फैलाउने, कुन धर्मलाई प्रोत्साहन गर्ने भन्ने मामिला पनि निगम पुँजीपति वर्गद्वारा निर्धारित हुने गरेको छ ।

३) चीनको तीव्र आर्थिक विकास

यो शताब्दीको अर्को आर्थिक विशेषता चीनको तीव्र आर्थिक विकास र चीनले हासिल गरेको दोस्रो स्थान रहेको छ । बीसौँ शताब्दीको अन्त्यमा विश्व बजारमा प्रवेश गरेको चीनले आर्थिक क्षेत्रमा तीव्र विकास गर्दै विश्वको दोस्रो स्थान लिन पुगेको छ भने गार्हस्थ उत्पादनमा अमेरिकालाई उछिन्दै पहिलो हुन पुगेको छ । चीनको आर्थिक विकाससँगै गठन भएको ब्रिक्स र ब्रिक्सको नेतृत्वमा स्थापना भएका न्यु डेभलपमेन्ट बैङ्क र एसियन एन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैङ्कजस्ता संस्थाहरूले अमेरिकाको नेतृत्वमा सञ्चालित विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोषको एकलौटी प्रभुत्वलाई कमजोर बनाउँदै लग्ने अवस्था छ । केही विश्लेषकहरूको दृष्टिमा चीनको आर्थिक विकास विश्वमा ठूलो युद्धबिना गरिएको विकास हो ।

४) आर्थिक उत्पादनमा जोड

उत्तरसाम्राज्यवादले पछिल्लो समयमा आफ्नो प्रभाव क्षेत्रहरूमा आर्थिक उत्पादनमा निकै जोड दिने गरेको छ । विश्वका रणनीतिक र सामरिक महत्वका क्षेत्रमा दलालहरू खडा गर्ने, ती देशहरूमा आफ्ना कम्पनी र कारखानाहरू खडा गर्ने, त्यहाँका जनताको सस्तो श्रमलाई उपयोग गर्ने र आर्थिक वृद्धिमा जोड दिने नीति साम्राज्यवादले लिएको छ । पैसा उसकै, उद्योग उसकै, प्रविधि उसकै, केबल श्रम र बजार मात्र प्रयोग गरी भौतिक सुविधा दिएर राजनीतिक रूपले प्रभुत्व जमाउने काम गर्दै आएको छ । श्रमिक वर्गलाई अधिकार, मुक्ति र स्वाधीनताको चेतनाबाट सम्पूर्ण रूपले यन्त्रजस्तो बनाएर राजनीतिक सत्ता टिकाउनमा लागेको देखिन्छ । यसलाई उनीहरूले उदार अर्थप्रणालीको संज्ञा दिन खोजे पनि यो आर्थिक विशेषता यो शताब्दीको विशेषता हो । दक्षिणकोरिया, मलेसिया, साउदी अरब, कतार, सिङ्गापुर आदि यसका उदाहरणहरू हुन् ।

५) समन्वयकारी रूपको प्रयोग

यो शताब्दीमा उत्तरसाम्राज्यवादले आर्थिक क्षेत्रमा प्रयोग गरेको समन्वयकारी आर्थिक रूप पनि एउटा विशेषता बनेको छ । यसको प्रयोग आर्थिक उत्पादन र वितरण गर्न खोजिएको छ । उत्पादनमा मालिक र श्रमिकको बीचमा रहेको अन्तरविरोधलाई भ्रमित गर्न र वर्गसङ्घर्षलाई भुत्ते पार्न यस्तो रूपलाई प्रयोग गरिएको छ । उद्योगहरूमा मजदुरको सेयरको व्यवस्था, मुनाफाबाट बोनस र अतिरिक्त वेतनको व्यवस्था, मुनाफाको सानो हिस्साबाट श्रमिकको जीवन व्यवस्थापन र सामाजिक कार्यमा विनियोजन यसका उदाहरणहरू हुन् ।

६) भूमण्डलीकृत चरित्र

उत्तरसाम्राज्यवादले पछिल्लो समयमा पुँजीको चरित्रलाई भूमण्डलीकृत गरिदिएको छ । गतिशीलता र भूमण्डलीकृत यसको विशेषता बनेको छ । पुँजीपतिले आफ्नो पुँजीलाई केन्द्रबाट आधुनिक प्रविधिको उपयोग गर्दै मुनाफाको सर्तमा जता पनि पठाउन सक्ने र जताबाट पनि फिर्ता गर्न सक्ने विशेषतामा ढालेको छ । यसलाई कुनै ठाउँविशेषको मतलब नभई मुनाफासँग मतलब छ । मुनाफा हुन्छ भने विश्वको कुनै पनि कुनामा पुग्न तयार हुन्छ । मुनाफा छैन भने सुविधा सम्पन्न ठाउँमा पनि रहँदैन । पृथ्वीको कुनै पनि भूभाग यसको पहुँचबाट बाहिर छैन ।

६) उपभोगवादी चरित्र

उत्तरसाम्राज्यवादले पछिल्लो समयमा पुँजीको चरित्रलाई अधिकतम रूपले उपभोगवादी बनाइदिएको छ । एउटा शबद नै खुब प्रचलनमा रहेको छ– प्रयोग गर्नु र मिल्काउनु (Use and throw) । यसको मतलब हो पुँजीको लगानी र उत्पादन नागरिकको आवश्यकतासँग सम्बन्धित नभएर पुँजी निर्यात गर्ने देश र पुँजीपतिलाई बढीभन्दा बढी फाइदा कसरी हुन्छ, कसरी बजार ठूलो बनाउन सकिन्छ, कसरी नागरिकलाई उपभोगका लागि तान्न सकिन्छ भन्नेसँग मात्र सरोकार छ । उपभोगवादी चरित्रले मानवीय जीवनका मूल्य, मान्यता, आदर्श, संस्कार सबैलाई तहसनहस गर्दै मान्छेलाई पुँजीको खेलौना बनाइदिने गरेको छ ।

ग) सैन्य चरित्र

२१ औँ शताब्दीमा पुग्दा विश्वको सैन्य चरित्र पनि बदलिएको छ । दुनियाँको नियन्त्रण र सञ्चालन सैन्य शक्तिको भरमा गरिँदैछ । बदलिएको सैन्य चरित्रलाई बुझ्न हामी निम्न विशेषताहरू उल्लेख गर्न सक्छौँ :

१) सैन्यीकृत विश्व

सैन्यीकृत विश्व आजको विशेषता बनेको छ । विश्वराजनीतिको केन्द्रमा सैन्य शक्ति रहेको छ । शक्ति केन्द्रको मापन पनि सैन्य शक्तिका आधारमा गरिन्छ । पूर्वसोभियत सङ्घको समयमा नेटो र वार्सा प्याक्टले विपरीत सैन्य गठबन्धनले गरेका थिए भने आज अमेरिकी गठबन्धन र रुस चीनलगायतको मोर्चा सक्रिय हुँदै गएका छन् । दुनियाँका सबै राजनीतिक एवम् आर्थिक मामिलाहरूलाई सैन्य शक्तिको प्रभावमा राखेर सुल्झाइने गरिएको छ । सैन्य प्रतिस्पर्धाको कारण विश्व विभाजन, भागबन्डा, धु्रव, प्रतिधु्रवको अवस्था सिर्जना भएको छ ।

२) अत्याधुनिक सैन्य प्रविधिको विकास

अत्याधुनिक सैन्य प्रविधिको विकास अर्को सैन्य विशेषता हो । जुनसुकै आधुनिक प्रविधि पहिले सुरक्षा क्षेत्रमा प्रयोग भएर मात्र नागरिकहरूको उपयोगमा जाने गरेका छन् । सूचना, हवाई, ऊर्जा, रसायन, सुरक्षा, यातायात सबै प्रविधिहरूमा यो लागू भइरहेको छ । नयाँ प्रविधिको अनुसन्धान पनि सैन्य आवश्यकतालाई केन्द्र राखेर गरिँदैछन् ।

३) ठूलो धनराशिको प्रयोग

सैैन्य क्षेत्रमा ठूलो धनराशिको प्रयोग तेस्रो सैन्य विशेषता हो । सबै शक्तिशाली देशहरूले आफ्नो बजेटको ठूलो हिस्सा सैन्य क्षेत्रमा लगानी गरिरहेका छन् । अमेरिकाले सेनामा लगानी गरेको बजेट विश्वका अधिकांश देशको कुल बजेटभन्दा कयौँ गुणा बढी रहेको छ । अमेरिकी सैन्य बजेट नेपालको कुल बजेटको ५८ गुणा ठूलो रहेको छ । त्यसैगरी रुस, चीन, भारत, ब्रिटेन आदि देशका सैन्य बजेट पनि निकै ठूलो परिमाणमा रहेका छन् । शक्ति राष्ट्रहरूले सैन्य क्षेत्रमा खर्चिरहेको रकम मानवजीवनको सुधारमा लगाउने हो भने पनि विश्वले आजको गरिबी भोग्नु पर्नेछैन ।

४) दक्ष जनशक्ति प्रयोग

दक्ष जनशक्तिको प्रयोग चौथो सैन्य विशेषता हो । सबै शक्ति राष्ट्रहरूले सबैभन्दा दक्ष जनशक्ति सेनामा प्रयोग गरिरहेका छन् । बीसौँ शताब्दीसम्म बलियो मानिएको स्थल सेना घटाउँदै हवाईसेना, साइबर सेना र आईटी सेनामा शक्ति बढाइँदैछ । अमेरिका, रुस, चीन, ब्रिटेन आदि देशमा हवाईसेनाको सङ्ख्या लाखौँ पुर्याइएको छ ।

घ) सामाजिक विशेषताहरू

२१ औँ शताब्दीमा पुग्दा विश्वका सामाजिक विशेषताहरू पनि नयाँ बनेका छन् । खासगरी उत्तरसाम्राज्यवादी, दलाल पुँजीवादी राजनीतिक विशेषताहरूका कारणले नयाँ सामाजिक स्थिति बनेको हो जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

१) पुँजीवादी विश्व व्यवस्था

पुँजीवादी विश्व व्यवस्था यो शताब्दीको पहिलो सामाजिक विशेषता हो । पूर्वसोभियत सङ्घ विघटन भएपछि विश्वमा अस्थायी रूपले भए पनि पुँजीवाद हाबी हुन पुगेको छ । अमेरिकी नेतृत्वमा उत्तरसाम्राज्यवाद हाबी भइरहेको छ । अमेरिकाले संयुक्त राष्ट्रसङ्घमार्फत शासनलाई पनि कम गर्दै प्रत्यक्ष नेतृत्व र निर्देशन गर्न खोजिरहेको छ । यसलाई विश्व व्यवस्थाका रूपमा हेरिएको छ ।

२) नवऔपनिवेशिक अवस्था

नवऔपनिवेशिक अवस्था आजको अर्को सामाजिक विशेषता हो । शीतयुद्धकालको अन्त्यपछि साम्राज्यवादको चरित्रमा परिवर्तन भयो । साम्राज्यवाद राजनीतिक रूपले उत्तरसाम्राज्यवादमा पुग्दा साम्राज्यवादी कालको उपनिवेशवाद बदलिएर नवउपनिवेशमा पुगेको छ । यसको विशेषता भनेको राजनीतिक र आर्थिक क्षेत्रमा दलालहरू खडा गरेर राज्यको समग्र नेतृत्व आफ्नो नियन्त्रणमा राख्ने हो । दलालहरू रूप र अनुहारमा सम्बन्धित देशकै भए पनि अर्थ, सुरक्षा, राजनीतिको नेतृत्व शक्तिकेन्द्रको हातमा कायम हुन्छ । यस्तो सामाजिक अवस्था नेपालजस्ता अविकसित देशमा मात्र नभएर जापान, दक्षिणकोरिया, जर्मनी, मलेसियाजस्ता आर्थिक रूपले विकसित देशमा पनि रहेको छ जहाँ अमेरिकी सेना तैनाथ छ र मुख्य नीतिहरू ऊबाट नै निर्देशित छन् ।

३) प्राविधिक समाजको विकास

प्राविधिक समाजको विकास तेस्रो विशेषता हो । १९ औँ र २० औँ शताब्दीमा विज्ञान र प्रविधिको सम्बन्ध यो स्तरमा जनताको हातमा आइसकेको थिएन । प्रायः प्रविधिको नियन्त्रण राज्यसँग नै थियो । परन्तु यो शताब्दीमा प्राविधिक क्षेत्रमा अभूतपूर्व क्रान्ति हुन गयो । यसलाई विज्ञहरूले चौथो क्रान्ति पनि भनेका छन् । प्रविधिमा जनताको पहुँचले गर्दा विगत कालका सामाजिक सम्बन्धहरू बदलिएका छन् । प्राविधिबिनाको समाज अपाङ्ग बन्ने स्थिति छ । प्रविधिले समाजलाई एकातिर पूरा खुला र व्यापक बनाइदिएको छ भने अर्कोतिर निकै साँगुरो र बन्द पनि बनाइदिएको छ । यसमा कम्प्युटर, टीभी, मोबाइल फोन, अनलाइन, फेसबुक, यातायात, बिजुली आदि मुख्य रहेका छन् ।

४) धार्मिक एवम् जातीय प्रवृत्ति विस्तार

धार्मिक र जातीय प्रवृत्ति विस्तार पनि आजको समाजको विशेषता बनेको छ । १९ औँ शताब्दीमै पुँजीवादले धर्मसँग सम्बन्धविच्छेद गरेको थियो । तर वैज्ञानिक समाजवादले भौतिकवादलाई जनतामा स्थापित गर्न थालेपछि उत्तरआधुनिकतावादी, उत्तरसाम्राज्यवादी प्रवृत्तिले उल्टो फन्को मार्दै धर्म र जातीयतालाई प्रोत्साहन दिन पुगेको छ । उत्तरसाम्राज्यवादले एकातिर विज्ञानलाई प्रयोग गरेर दुनियाँमा प्रभुत्व जमाउने, अर्कोतिर समाजलाई धार्मिक र जातीयकरण गर्दै दुनियाँलाई अन्धत्व लाद्ने काम गरिरहेको छ । उसले धर्मको आडमा सत्ता टिकाउने खेल खेलिरहेको छ । अर्बाैं डलर धर्मको प्रचारमा लगाएर धर्म विस्तार गर्ने कार्य गरिरहेका छन् । अन्धविश्वासलाई कतिसम्म प्रश्रय दिइएको छ भने धार्मिक ग्रन्थ छोएमा बिरामी सन्चो हुन्छ भन्नेजस्तो झूटो र भ्रामक चेतना फैलाइँदैछ । धर्मकै नाममा ठूलठूला युद्ध छेड्ने स्थिति बनेको छ ।

च) सांस्कृतिक अवस्था

२१ औँ शताब्दीमा पुग्दा विश्वको सांस्कृतिक विशेषतामा पनि परिवर्तन देखापरेको छ । विगतकालको साम्राज्यवादी, पुँजीवादी, समाजवादी सांस्कृतिक चरित्रमा फेरबदल भएको छ । विश्व उत्तरआधुनिकताको चपेटामा पर्दै गएको छ । समाजका मानवीय मूल्यमान्यताहरू विघटित र विखण्डित हुँदै गएका छन् । वर्तमान संस्कृतिका विशेषतालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :

१) उत्तरआधुनिक संस्कृति

उत्तरआधुनिकतावादी संस्कृति आजको मुख्य विशेषता हो । सबै वस्तुलाई विभाजन, विखण्डन र विसर्जनमा हेर्नु यसको सार हो । यो संस्कृतिले मानवजीवन, समाज र राज्यलाई प्रगति र परिवर्तनतिर नलगेर विकृति, विसङ्गति र अराजकतातर्फ धकेल्ने गरेको छ । यसले सबै वस्तुलाई केवल उपभोगको दृष्टिले मात्र हेर्छ । राजनीतिक दृष्टिले पुरानै राज्यव्यवस्थालाई कायम राख्न सहयोग पुर्याउँछ ।

२) उपभोगवादी चरित्र

उपभोगवादी र प्रयोगवादी प्रवृत्ति संस्कृतिको अर्को विशेषता हो । जनता, समाज र राज्यलाई फाइदा पुग्छ–पुग्दैन यसलाई मतलब हुँदैन । केवल आफ्नो ग्रुप, कम्पनी र लगानीकर्तालाई मुनाफा हुन्छ कि हुँदैन भन्नेसँग मात्र मतलब छ । यो कति उपभोगवादी छ भने निजी फाइदाका लागि जे पनि गर्न पुग्छ । समाजमा हुर्किरहेका सबै विकृतिको स्रोत यही संस्कृति बनेको छ ।

३) अप्राकृतिक चरित्र

यो संस्कृति अप्राकृतिक र अराजकतावादी पनि छ । यतिसम्म कि गर्नै नहुने पशुवत्खालका क्रियाकलाप गरिरहेको छ । पुरुषले पुरुषलाई र महिलाले महिलालाई विवाह गर्ने, पर्यावरण र प्राकृतिक हुने नाममा छाडा र अराजकतापूर्ण क्रियाकलाप सञ्चालन गर्ने, पैसाको स्वार्थमा शरीर किनबेच गर्नेजस्ता कार्यहरू यसैका परिणाम हुन् ।

उल्लिखित राजनीतिक, आर्थिक, सैनिक, सामाजिक, सांस्कृतिक विशेषताहरूले गर्दा अन्तर्राष्ट्रिय राजनीतिक अन्तरविरोधहरू पनि नयाँ विकास भएका छन् जो निम्न रहेका छन् :

१) शक्तिकेन्द्रहरूबीचको सङ्घर्ष

शक्तिकेन्द्रहरूबीचको सङ्घर्ष पहिलो अन्तरविरोध रहेको छ । रुस र चीनको उदयले एकधु्रवीय विश्व टुट्न पुगेको छ । पूर्वसोभियत सङ्घको ठाउँ रुसले र आर्थिक शक्तिको स्थान चीनले लिँदा यो अन्तरविरोध बढ्दै गएको छ । यो अन्तरविरोधले गर्दा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा नयाँ स्थिति देखापरेको छ । उदाहरणका लागि सिरिया, युक्रेन, उत्तरकोरिया र दक्षिण चीन सागरको विवादलाई लिन सकिन्छ ।

२) शक्तिराष्ट्र र मुस्लिम देशहरूबीचको अन्तरविरोध

पश्चिमा शक्ति राष्ट्रहरू र मुस्लिम दुनियाँबीचको सङ्घर्ष दोस्रो राजनीतिक अन्तरविरोध रहेको छ । अमेरिकी जुम्ल्याहा भवनमाथि अलकायदाले गरेको हमला र कुवेतमा इराकले गरेको सैन्य हस्तक्षेपपछि अमेरिका र युरोपले अफगानिस्तान र इराकविरुद्ध सैन्य हस्तक्षेप गरे । त्यसपछि फैलिएको युद्धले मध्यपूर्वका मुस्लिम देशहरूलाई लपेटामा पार्यो । हालै अमेरिकी राष्ट्रपति ट्रम्पले ६ वटा मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएपछि यो अन्तरविरोध अरू चर्किएर मध्यपूर्वबाहेक एसिया, अफ्रिकाका देशहरूमा विस्तार हुँदै गएको छ । अफ्रिकाको नाइजेरिया एसियाका इन्डोनेसिया, बङ्गलादेश, पाकिस्तान आदि देशमा भएका घटनाहरू यसका उदाहरण हुन् ।

३) उत्तरसाम्राज्यवाद र समाजवादी शक्तिबीचको सङ्घर्ष

उत्तरसाम्राज्यवाद र समाजवादी शक्तिबीचको सङ्घर्ष तेस्रो अन्तरविरोध रहेको छ । यो अन्तरविरोध उत्तरसाम्राज्यवाद, दलाल पुँजीवाद र सत्तामा रहेका र नरहेका समाजवादी शक्तिसँग केन्द्रित छ । जुनसुकै बहाना बनाए पनि उत्तरपुँजीवादी–साम्राज्यवादी शक्तिहरूको एउटा सङ्घर्ष चीन, कोरिया, क्युबा, भियतनामविरुद्ध केन्द्रित छ । ती देशहरूभित्र पुँजीवादी तत्वहरूलाई विद्रोहसम्म पुर्याएर होस्, क्षेत्रीय एवम् धार्मिक विद्रोहहरू उचालेर होस्, नाकाबन्दी लगाएर होस् वा अनेक बहानामा विश्वबाट अलग गरेर होस् पुँजीवादी र साम्राज्यवादीहरूले पुँजीवाद स्थापना गर्ने सङ्घर्ष छेडिरहेका छन् । त्यसैगरी क्रान्तिमा रहेका वा क्रान्तिको तयारीमा जुटिरहेका पार्टी र शक्तिविरुद्ध उनीहरूले दृश्य, अदृश्य सङ्घर्षहरू सञ्चालन गरिरहेका छन् ।

४) दलाल तत्वहरू र जनताबीचको अन्तरविरोध

दलाल तत्वहरू र जनताबीचको सङ्घर्ष चौथो अन्तरविरोध हो । उत्तरसाम्राज्यवादले अन्य देशहरूमा बढीभन्दा बढी दलालहरू निर्माण गर्ने र दलालहरूमार्फत नै साम्राज्यवादी स्वार्थ पूरा गर्ने तरिका प्रयोग गर्दै आएको छ । दलालहरू अनुहार र नागरिकको दृष्टिले तत् देशकै हुने गर्दछन् परन्तु दलालहरूले उनीहरूका स्वार्थहरूलाई आँखा चिम्लिएर पूरा गरिदिन्छन् । उनीहरूले देशका प्राकृतिक स्रोतसाधन, जनशक्ति, अर्थतन्त्र, सुरक्षा सारा कुराहरू साम्राज्यवादीलाई सुम्पिदिने गरेका छन् । यसले गर्दा विश्वव्यापी रूपमा दलाल पुँजीवादी तत्वहरू र जनताको बीचमा सङ्घर्ष रहँदै आएको छ । हाम्रो देशमा पनि साम्राज्यवादी दलाल र नेपाली जनताबीचको अन्तरविरोध चर्किंदै गएको छ ।

५) उत्तरसाम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको सङ्घर्ष

उत्तरसाम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको सङ्घर्ष पाँचौँ अन्तरविरोध रहेको छ । जुन बेला साम्राज्यवादी र साम्राज्यवादी शक्तिको बीचमा युद्ध र विश्वयुद्ध हुने गर्छ त्यसबेला मात्र अन्तरविरोध उनीहरूबीचमा मुख्य बन्ने गर्छ अन्यथा सामान्यतः साम्राज्यवादी शक्ति र कमजोर देशहरूबीचमा नै सङ्घर्ष हुने गर्छ । आज मध्यपूर्वमा धर्मका नाममा होस् वा ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा लादिएका राजनीतिक हस्तक्षेपहरू नै हुन सबै सङ्घर्षहरू उत्पीडित देशसँगको सङ्घर्ष नै हो ।

निष्कर्ष

माथि उल्लेख गरिएका राजनीतिक–आर्थिक अन्तरविरोधहरूमा पनि उत्तरसाम्राज्यवाद र उत्पीडित राष्ट्र एवम् जनताबीचको अन्तरविरोध नै प्रमुख अन्तरविरोध रहेको छ ।

छ) विश्व कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन १६९ वर्षबाट अगाडि बढ्दैछ । पुँजीवादको विकासपछि खोज गरिएको वैज्ञानिक समाजवादी विचारधारा र राजनीति नयाँ शिक्षा र अनुभवसहित गतिशील छ । इतिहासमा यसले ऐतिहासिक सफलता, अतुलनीय लोकप्रियता, भयानक पराजय भोगेको छ । पीडादायी पराजय बेहोरेर पनि वैज्ञानिक समाजवादको सम्भावना कसैले पन्छाउन नसक्ने गरी अगाडि आउँदैछ । साम्राज्यवाद त्रसित छ भने केवल वैज्ञानिक समाजवादको प्रवाहबाट नै त्रसित छ । कम्युनिस्ट आन्दोलनको यो प्रवाहलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

१) प्रारम्भ

कम्युनिस्ट आन्दोलनको प्रारम्भ सन् १८४७ मा माक्र्स–एङ्गेल्सको नेतृत्वमा गठित कम्युनिस्ट लिगबाट भयो । यसले व्यवस्थित रूप सन् १८४८ को कम्युनिस्ट घोषणापत्र प्रकाशित भएपछि प्राप्त ग¥यो । यसको पहलकर्ता स्वयम् माक्र्स र एङ्गेल्स रहनुभयो । कम्युनिस्ट आन्दोलनको प्रारम्भले माक्र्सकै भाषामा ‘युरोप कम्युनिस्टको भूत’ ले काँप्न पुग्यो । उहाँहरूकै पहलमा सन् १८६४ मा पहिलो अन्तर्राष्ट्रिय गठन हुन पुग्यो । माक्र्सको निधनपछि सन् १९८९ मा एङ्गेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन भयो । यस अवधिमा कम्युनिस्ट आन्दोलन युरोप, अमेरिकामा फैलिन सक्यो । सन् १८९५ मा एङ्गेल्सको निधनसँगै यसको क्रान्तिकारी चरण अन्त्य भयो ।

२) सफलता र लोकप्रियता

रुसमा बोल्सेभिक पार्टीको निर्माण भई सन् १९१७ मा महान् अक्टोबर क्रान्ति सम्पन्न भयो । भीआई लेनिनको नेतृत्वमा युरोपको पछौटे तर शक्तिशाली साम्राज्यवादी देश रुसमा समाजवादी क्रान्ति सफल भयो । रुसमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भएपछि कम्युनिस्ट पार्टीको प्रभाव र लोकप्रियता निकै बढ्यो । दोस्रो अन्तर्राष्ट्रियको संशोधनवाद पराजित र पतन भयो भने वैज्ञानिक समाजवाद एक सफल सिद्धान्तका रूपमा स्थापित बन्न पुग्यो । लेनिनको नेतृत्वमा सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रिय गठन भयो । पुँजीवादी देशहरू तीसको दशकमा गम्भीर आर्थिक मन्दीमा पर्दा पनि सोभियत सङ्घ त्यसबाट मुक्त रह्यो । तेस्रो अन्तर्राष्ट्रको सहयोग, दोस्रो विश्वयुद्धमा समाजवादको विजयपछि समाजवादको विजय पूर्वीयुरोप, चीन, कोरिया, भियतनाम, क्युबासम्म पुग्यो । सन् १९१७ को रुसी अक्टोबर क्रान्तिदेखि सन् १९४९ को चिनियाँ नयाँ जनवादी क्रान्तिसम्मको अवधि नै विश्वकम्युनिस्ट आन्दोलन अधिकतम लोकप्रिय भएको अवधि हो ।

४) समाजवादी मार्गमा विचलन र असफलता

सन् १९५३ मा कमरेड स्टालिनको निधन र गद्दार ख्रुस्चोभ सत्तामा पुगेपछि वैज्ञानिक समाजवादी मार्गमा विचलन आयो । खु्रस्चोभले सन १९५६ मा भएको सोभियत सङ्घ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनमा तीन स (शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण सहकार्य) को धारणा ल्यायो । उसले स्टालिनमाथि हदैसम्मको तुच्छ आरोपहरू लगायो । त्यसले विश्व कम्युनिस्ट आन्दोलनमा बहस र विभाजन सिर्जना गर्यो । माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले खु्रस्चोभी संशोधनवादको विरोध गर्यो । साठीको दशकमा पुग्दा बहस निकै माथि पुग्यो । चीनले क्रान्तिकारी धारको र रुसले संशोधनवादी धारको प्रतिनिधित्व गर्यो । यही बहसलाई दुई धारबीचको महाबहस भनियो ।

सन् १९९० मा पुग्दा खु्रस्चोभी लाइन बोरिस एल्सिनमा पुगेर प्रतिक्रान्तिमा पतन भयो । लेनिन–स्टालिनको नेतृत्वमा स्थापना भएको वैज्ञानिक समाजवाद विघटन भएर पुँजीवाद स्थापना भयो । संशोधनवादी लाइनकै कारण पूर्वीयुरोपका समाजवाद पनि पतन हुन पुगे । यसैलाई आधार बनाएर उत्तरआधुनिकतावादी र उत्तरसाम्राज्यवादीहरूले हल्ला मच्चाएका छन्, ‘इतिहासको अन्त्य भयो’, ‘विचारधारात्मक युगको अन्त्य भयो ।’ कम्युनिस्ट आन्दोलनको इतिहासमा यो अवधि नै सबैभन्दा उतारको अवधि हुन पुग्यो ।

५) पुनर्गठनको प्रक्रिया

माओको मृत्युपछि अन्तर्राष्ट्रिय आन्दोलन केन्द्रविहीन बन्न पुग्यो । तर रिमले ८० को दशकमा माओवादीहरूको नेतृत्व गर्ने पहल ग¥यो । त्यसैगरी भाकपा (माओवादी), इटली, टर्की, फिलिपिन्स आदि देशका पार्टीहरूले पनि साझा कामहरू गर्न प्रयत्न गरे । कामहरू प्रभावकारी हुन नसके पनि क्रान्तिकारी कम्युनिस्टहरूलाई पुनगर्ठन गर्ने पहल भइरहेको छ । पूर्वसोभियत सङ्घको विघटनपछि देखापरेको निराशालाई क्रान्तिकारीहरूले क्रमशः चिर्दै अगाडि बढ्न आरम्भ भएको छ । यो पहलमा क्रान्तिमा रहेका पार्टीहरूको प्रेरणा छ भने सचेततापूर्वक क्रान्तिकारी पार्टीहरूले गरिरहेका कामहरू पनि महत्वपूर्ण छन् । यसमा हाम्रो पार्टीको पहल पनि एक हो ।

६) स्टालिनको विषय

कमरेड स्टालिन रुसी सामाजिक जनवादी मजदुर पार्टीका एक नेता र कमरेड लेनिनका घनिष्ट कमरेड थिए । उनी उत्पीडित वर्गबाट हुर्केका सचेत, सक्षम र जनताका प्रिय नेता थिए । उनी अक्टोबर क्रान्तिका कमान्डर पनि थिए । लेनिन, स्टालिनलगायतका नेताहरूको नेतृत्वमा नै विश्वमा पहिलो सर्वहारावर्गीय क्रान्ति सफल भएर वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना भएको थियो । उनले साम्राज्यवादी र संशोधनवादीहरूले गरेका सबै षड्यन्त्र र हमलालाई असफल पार्दै वैज्ञानिक समाजवादको रक्षा गरे र विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गरे । लेनिनको साथमा स्टालिन नभएको भए सम्भवतः सोभियत समाजवाद पहिले नै समाप्त हुने थियो ।

सन् १९५३ मा कमरेड स्टालिनको मृत्यु भयो र नेतृत्वमा खु्रस्चोभ पुग्यो । खु्रस्चोभले आश्चर्यजनक ढङ्गले वैज्ञानिक समाजवादको क्रान्तिकारी मार्गलाई परिवर्तन गर्दै ‘तीन स’ को धारणा ल्यायो । गद्दार खु्रस्चोभले स्टालिनमाथि समेत अस्वाभाविक र आश्चर्यजनक ढङ्गले तुच्छ र असह्य आरोपहरू लगायो । उसले स्टालिनलाई तानाशाह, हत्यारा, जँड्याहा, जुवाडेजस्ता अपशब्दले आरोपित गर्यो । खु्रस्चोभको यो विचारविरुद्ध माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले दुई लाइन सङ्घर्ष सञ्चालन गर्यो । सङ्घर्षमा विश्वभरका कम्युनिस्ट पार्टीहरू विभाजित हुने स्थिति आयो । चिनियाँ कम्युनिस्ट पार्टीले क्रान्तिकारी धारको नेतृत्व गर्यो भने सोभियत सङ्घले संशोधनवादी धारको प्रतिनिधित्व गर्यो । यो सङ्घर्षलाई नै महाबहस भनियो ।

कमरेड स्टालिनप्रति गद्दार खु्रस्चोभले हमला नगर्दै उनका क्रान्तिकारी विचार र व्यक्तित्वबाट तर्सिएका साम्राज्यवादी तत्वहरूले स्टालिनलाई तानाशाहको आरोप लगाइरहेका थिए भने केही वामपन्थी बुद्धिजीवीहरूले समेत सोभियत समाजवादलाई समाजवादी सिद्धान्तअनुरूप नचलेको अनि स्टालिन कम्युनिस्ट नेताभन्दा तानाशाह भएको टिप्पणी गरिरहेका थिए । त्यसमा जर्मनीको फ्रेङ्कफर्ट स्कुलका बुद्धिजीवीहरू र अन्य विश्लेषकहरू थिए । यो प्रचार सोभियत सङ्घको विघटनपछि अझ धेरै बढ्यो । नेपालमा एमालेका केही नेताले स्टालिनबारे यस्तो विश्लेषण गर्दथे । पछि बाबुराम थपिए भने आज प्रचण्ड पनि यही निष्कर्षमा छन् । यो प्रचारबाट कयौँ क्रान्तिकारी कम्युनिस्टहरू पनि भ्रमित भएको देखिन्छ ।

स्टालिनबारे समीक्षा गर्दा हाम्रो के स्पष्ट दृष्टिकोण छ भने उनका केही कमजोरी थिए तर ती कमजोरी जटिल वस्तुस्थितिले गर्दा आउने र कामका क्रममा एक कम्युनिस्ट नेतामा हुनसक्ने कमजोरी नै थिए । किनकि स्टालिनले नै सर्वहारावर्गीय सत्तामा अरू कुनै नेताले नगरेका कामहरू गर्दै थिए र कसैले नदेखेका चुनौतीसँग लड्दै थिए । तर जसरी स्टालिनमाथि हमला भयो र भइरहेको छ त्यो सत्य होइन । बरु स्टालिनका विषयमा क्रान्तिकारी नेताहरूले गरेका केही टिप्पणी असान्दर्भिक त भएनन् भन्ने समीक्षा गर्न सकिन्छ । खासगरी लेनिनले सन् १९२४ को १२ औँ महाधिवेशनमा ‘स्टालिन महासचिवका लागि योग्य नभएको’ भन्दै अर्को उत्तम मान्छे खोज्न गरेको टिप्पणी र माओले खुला रूपले ‘स्टालिनका ३० प्रतिशत कमजोरी थिए’ भनेर गरेको यसका उदाहरण हुन् । जुन टिप्पणीहरूले स्टालिनको क्रान्तिकारी नेतृत्व र योगदानमाथि हमला गर्न सघाउ पुर्याए ।

हामीले कमरेड स्टालिनलाई दृढताका साथ पकड्नुपर्छ । उनीमाथि थोपरिएका खु्रस्चोभी र साम्राज्यवादी आरोपहरूलाई चिर्दै उनले वैज्ञानिक समाजवादी सत्ता र अन्तर्राष्ट्रिय सर्वहारा वर्गप्रति निर्वाह गरेको जिम्मेवारीलाई स्थापित गर्नुपर्छ साथै उनको क्रान्तिकारी व्यक्तित्व र योगदानको रक्षा गर्नुपर्छ । उनले विश्व कम्युनिस्ट आन्दोलनमा प्रदान गरेका शिक्षाहरूलाई यो शताब्दीका क्रान्तिहरूमा प्रयोग गर्नुपर्छ । यसको मतलब स्टालिनका कमजोरीहरूप्रति आँखा चिम्लिनुपर्छ भन्ने होइन । नेतृत्वका हिसाबले स्टालिनबाट भएका कमजोरीहरूलाई पनि समाधान गर्नुपर्छ तर क्रान्तिकारी नेताका कमजोरीहरूलाई क्रान्तिकारी विचारको विकासबाट मात्र हटाउन सकिन्छ । हाम्रो विचारमा यो नै स्टालिनका सन्दर्भमा सही दृष्टिकोण हुन्छ ।