काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास हुने बताएका छन् । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सोबारे के हुन्छ भनेर चिन्ता गर्नु नपर्ने बताउँदै सरकारदेखि सरकारबीचको सम्बन्ध रहेको जानकारी दिए । सत्तारुढ दल नेकपाभित्र एमसीसीको विषयमा चर्को बहस भइरहेको बेला सरकारका प्रवक्ताबाट भने यस्तो धारणा आएको हो । राजनीतिक दलको विचारधाराले सरकारको प्रतिनिधित्व नगर्ने बताउँदै मन्त्री बाँस्कोटाले  देश देशबीचको सम्बन्धमा राजनीतिक विचारधाराले अर्थ नराख्ने बताए ।

उनले अमेरिकाले सबै देशसँग सम्बन्ध राख्ने बताउँदै भने, ‘नेपालले कुन–कुन कम्युनिष्ट राष्ट्र छन् भन्ने खोजेर सम्बन्ध राख्दै हिँड्छ त ? अनि अमेरिकाको कम्युनिष्ट पार्टी रहेको चीन अमेरिका सम्बन्ध छैन ? त्यहाँ त पार्टीले नै सरकार बनाउछ, यहाँ त जनताले बनाउछ नि सरकार । नेपाली जनताले सरकार बनाउने हो नी कम्युनिष्ट पार्टी वा काँंग्रेस पार्टीले बनाउने हैन नि । यो पास हुन्छ फेल हुन्छ भनेर राजनीतिक दलको बैठकमा त अनेक कुरा उठ्छ नि ।’

मन्त्री बाँस्कोटाले संसदको अघिल्लो अधिवेशनमै पास गर्न लगेको बताउँदै अब संसद बैठक बस्न लागेकोले यो कार्ययोजना पास हुने बताए ।

एमसीसीलाई इन्डोप्यासिफिक परियोजना भनिनु कि धेरै बुझेको हुनुपर्ने कि केही नबुझेको हुनुपर्ने उनको तर्क छ । एकदम धेरै बुझेपछि पनि यस्तो समस्या हुने भन्दै उनले कटाक्ष गरे ।

उनले यो विषय सन् २०१२÷१३ तिर आएको बताउँदै त्यो बेला इन्डोप्यासिफिक भन्ने शब्द नभएको उनले बताए ।

उनले सरकारले बारम्बार कसैको सैन्य गठबन्धनमा सहभागी नहुने बताएको उल्लेख गर्दै  परराष्ट्र नीतिको बारेमा अल्मिलिनु जरुरी नरहेको बताए । विकासको सन्र्दभमा कनेक्टिभिटी लाइन र ट्रान्समिसन लाइनको कुरामा नेकपाकै विदेश विभागले पनि विरोध नगरेको मन्त्री बास्कोटाको भनाइ छ ।

यो प्रजातन्त्र, सुशासन, पारदर्शीता, मानव अधिकार भएको देशहरुमा अमेरिकाले दिने सहयोग रहेको उनले बताए ।

उनले यो परियोजना ५० अर्बको रहेको बताउँदै नेपालको लागि लाभदायक रहेको दावी गरे ।