नेपालको सात प्रदेशमध्ये कर्णाली प्रदेश सबैभन्दा पिछडिएको, विकट, र दुर्गम भूभाग समेटेर बनाइएको प्रदेश हो । यस प्रदेशमा रुकुम (पश्चिम), सल्यान, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी दश जिल्ला रहेका छन् । यो प्रदेश, पिछडिएको विकट र दुर्गम भएता पनि प्राकृतिक स्रोत र कला–संस्कृतिले धनी प्रदेश हो ।

मानसरोवर, राक्षसताल एवं कैलाशको रसायन क्षेत्र तिब्बत उद्गम भई हिल्साबाट नेपाल प्रवेश गरी हुम्ला जिल्लाको माझ छाती चिरेर प्रवाहित भएको कर्णाली नदी, डोल्पाको तिब्बती प्राकृतिक नाकाबाट उद्गमस्थल बनाई सुर्खेतको जामुकुइनेसम्म प्राकृतिक बाटो बनाएको ठुलीभेरी नदी, बागलुङको उत्तरगङ्गा क्षेत्रका साथै रोल्पाको जलजला क्षेत्रबाट उद्गमस्थल भई रुकुमको छाती चिरेर बग्ने सानीभेरीजस्ता थुप्रै खोलानाला, नदी र झरनाका साथै थुप्रै आकर्षक तालतलैया, शैपाल, अपि, चाङ्लाजस्ता अनेकौँ हिमशृङ्खला र हिमाल, यार्सागुम्बा, पाँचऔँले, कटुकी, शिलाजित, जटामसी, भुटकेश जरालगायतका सयौँथरि जडिबुटी, मृग, नाउर, चितुवा, भालु, घोरल, डाँफे, कालिज, लुइचे च्याखुराजस्ता असङ्ख्य पशुपङ्क्षी, अनेकौँ जातजाति मिलेर रहेको सुरम्य गाउँबस्ती, गाउँ नै पिच्छे फरक फरक शैलीमा देखा पर्ने देउडा, सिँगारू, टप्पा, मयुरनाचजस्ता विविध कला, संस्कृति र प्राकृतिक दृष्यले शुशोभित कर्णाली प्रदेशमा प्रगतिशील साहित्यको विकासका लागि प्रशस्त सम्भावनाका साथै अनेकौ चुनौती पनि रहेका छन् ।

नेपालमा प्रगतिशील साहित्य लेखनको इतिहास धेरै पहिलेदेखि चल्दै आएको छ । तर यसको खास विस्तार भने वामपन्थी विचारको बिजारोपणपश्चात् हुन थालेको हो । नेपालमा कम्युनिस्ट पार्टी स्थापना २००६ सालमा भएलगत्तै सर्वप्रथम वीरगञ्जमा प्रगतिशील लेखक संघ बनाई प्रगतिशील लेखक–कलाकार क्रियाशील हुने प्रयत्न गरेको पाइन्छ । तर आधिकारिक रूपमा प्रगतिशील लेखक संघको स्थापना भने २०१६ मङ्सिर २१ गतेको दिन गरिएको थियो । प्रगतिशील लेखक संघको स्थापनापश्चात् नेपालमा प्रगतिशील कला र साहित्यको क्रमशः विकास, विस्तार तथा प्रचार प्रसार भइरहेको छ । प्रगतिशील लेखक सङ्घ सबै वामपन्थी आस्थावान लेखक–साहित्यकारको साझा सङ्गठनको रूपमा क्रियाशील भइरहेको छ । यसले प्रगतिशील साहित्यलाई टेवा पुग्नेगरी थुप्रै गतिविधिका साथ आफ्नो सांगठनिक संरचनालाई केन्द्र, प्रदेश हुँदै जिल्ला जिल्लासम्म पनि विस्तार गर्दै गइरहेको छ ।

यसै सन्दर्भमा कर्णाली प्रदेश र यहाँका जिल्लामा पनि क्रमशः प्रलेस विस्तारको प्रक्रिया सुरु हुन थालेको छ । तसर्थ यस प्रदेशमा क्रियाशील प्रगतिशील लेखक–कलाकार तथा साहित्यकारको बिचमा यस प्रदेशमा रहेको प्रगतिशील कला–साहित्यको सम्भावना र चुनौतीको सम्बन्धमा व्यापक छलफलको आवश्यकता रहेको छ । यस प्रकारको छलफलको उद्देश्य कर्णाली प्रदेशमा प्रगतिशील कला र साहित्यको विकास कसरी गर्न सकिन्छ भन्ने नै हुनुपर्दछ । यसका लागि निम्न बुँदाका आधारमा हाम्रो छलफललाई विस्तार गर्दै लैजान सकिन्छ ।

नीति, कार्यक्रम तथा योजना
कुनै पनि कार्यलाई निश्चित लक्ष्यसम्म पु¥याउनका लागि सही नीति, कार्यक्रम तथा योजनाको अनिवार्य आवश्यकता पर्दछ । आज कर्णाली प्रदेशको प्रगतिशील कला–साहित्यको विकासका लागि पनि यस प्रकारको नीति, कार्यक्रम तथा योजनाको अभाव रहेको छ । चाहे प्रदेश सरकारले होस्, चाहे गाउँपालिका र नगरपालिकाअन्तर्गत रहेका स्थानीय सरकारले होस्, प्रगतिशील कला, साहित्यको विकासतर्फ कुनै पनि ध्यान दिएको पाइँदैन । यो निकै दुःखको कुरा हो । यसैले यस प्रदेशमा प्रगतिशील कला–साहित्यको विकासलाई व्यवस्थित रूपमा अगाडि बढाउन हरेक तहका सरकारलाई हामीले प्रगतिशील कला, साहित्यको मूल्यबोध गराउन जरुरी छ । सबै तहका सरकारलाई आफ्ना वार्षिक नीति, कार्यक्रम तथा योजनाअन्तर्गत प्रगतिशील कला–साहित्यको विकाससम्बन्धी योजना तथा कार्यक्रम ल्याउन दबाब सिर्जना गर्न जरुरी छ । यसका लागि हामी हाम्रो सङ्गठन प्रगतिशील लेखक सङ्घको तर्पmबाट पनि यस प्रकारको नीति, योजना तथा कार्यक्रमको स्पष्ट मार्गदर्शक ढाँचा तयार पारी सम्बन्धित क्षेत्रमा लैजाने प्रयत्न गर्नुपर्दछ ।

संगठन
हामीले देख्दै र बुझ्दै आएका छौँ कि कुनै पनि कुराको विकासको निम्ति व्यक्ति एक्लैले केही गर्न सक्दैन । समाजको समग्र विकास प्रक्रिया सामूहिकताको आधारमा अगाडि बढ्ने गरेको छ । मानव जीवनको व्यवहारमा देखा परेको सामूहिक अभ्यासको अनुभवबाटै मान्छेले संगठन बनाउन सिकेको हो । आज कुनै पनि क्षेत्रमा सशक्त संगठन अनिवार्य बन्न पुगेको छ । यस कर्णाली प्रदेशको प्रगतिशील कला र साहित्यको विकासका निम्ति पनि यस प्रकारको सशक्त संगठनको अनिवार्यता र आवश्यकतामा हामी सबैले विशेष जोड दिन जरुरी छ । यस क्षेत्रको प्रगतिशील साहित्य र कलाको विकासका लागि सबै प्रगतिशील लेखक–कलाकार र साहित्यकारको सक्रियता र क्रियाशीलताको खाँचो छ । शहरका केन्द्र भागदेखि दूरदराजका कुनाकन्दरासम्म प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासका लागि व्यापक गतिविधिको आवश्यकता छ । यो आवश्यकताको परिपूर्ति मजबुत सङ्गठनले मात्रै गर्न सक्दछ । कर्णाली प्रदेशमा यस प्रकारको सशक्त संगठन निर्माणमा सबैले ध्यान दिन जरुरी छ ।

नेपालको राजनीतिक इतिहासले वर्तमानमा गणतन्त्रसम्म फड्को मारिसकेको छ । यसरी राजनीतिले गणतन्त्रमा फड्को मारिसक्दासम्म पनि कर्णाली प्रदेशको प्रगतिशील लेखक सङ्घले भने भर्खर भर्खर मात्रै वामे सर्न थालेको अवस्था छ । वास्तवमा कर्णाली प्रदेशको समग्र सङ्गठन र यसको गतिविधि सुर्खेत जिल्लाभन्दा बाहिर निस्कन सकेको छैन । सुर्खेत जिल्लामा प्रगतिशील लेखक संघ २०४७ सालमा स्थापना भई हालसम्म तेह्रौँ जिल्ला सम्मेलन गरिसकेको छ । रातो थुंगाजस्तो साहित्यिक पुस्तक नियमित प्रकाशन गर्दै आइरहेको छ । यसका अतिरिक्त त्यस जिल्लामा अन्य थुप्रै साहित्यिक गतिविधि सञ्चालन भइरहेका छन् । यसरी सुर्खेत जिल्लामा प्रगतिशील लेखक संघको यति राम्रो प्रशंसनीय कार्य हुँदै गर्दा यस प्रदेशको अन्य जिल्लामा भने न्यून गतिविधि हुनु वा गतिविधि नै हुन नसक्नु रुकुम, दैलेखजस्ता जिल्लाबाहेक अन्य अधिकांश जिल्लामा प्रगतिशील लेखक सङ्घ गठन नै नहुनु हाम्रो लागि सोचनीय विषय हो ।

राज्य पुनः संरचनाको क्रममा रुकुम (पश्चिम), सल्यान, जाजरकोट, हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, सुर्खेत, दैलेख दश जिल्ला मिलाएर कर्णाली प्रदेश बनिसकेपछि २०७५ मा प्रगतिशील लेखक संघ कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट निर्माण भएको प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेश समितिले हाल विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्ने जमर्काे गरिरहेको छ, जसमध्ये ‘प्रगतिशील कर्णाली साहित्यिक यात्रा’ कार्यक्रम मुख्य छ । यो विभिन्न जिल्लाका विभिन्न स्थानमा त्रैमासिक रूपमा आयोजना गरिने कार्यक्रम हो । यस कार्यक्रमको उद्देश्य पनि कर्णालीभरि नै प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासका लागि माहोल तयार पार्ने र प्रत्येक जिल्लामा प्रगतिशील लेखक सङ्घको सङ्गठन निर्माणका लागि आधार तयार पार्ने नै रहेको छ । यसैगरी पुस्तक प्रकाशन गर्ने, अन्य साहित्यिक गतिविधि सञ्चालन गर्नेलगायतका तमाम गतिविधि सञ्चालन गर्नका लागि यस सङ्घले प्रयत्न गरिरहने छ ।

अध्ययन
प्रगतिशील लेखक संघमा सङ्गठित भएका वा हुन चाहने लेखक, कलाकार तथा साहित्यकार समाजका अन्य तप्काका मानिसभन्दा कैयौं गुणा सचेत, जागरुक र कर्मशील हुन जरुरी छ । हामी सचेत, जागरुक र कर्मशील हुन सकेनौं भने हामी आफ्नो उद्देश्य चुम्न सक्दैनौँ । हामीले प्रगतिशील लेखक संघलाई यही सचेत, जागरुक र कर्मशील स्रष्टाहरूको संगठन बनाउनुपर्दछ । यसलाई गफाडी र कामचोर प्रवृत्ति भएकाको संगठन बनाउनबाट जोगाउनुपर्दछ । यसका लागि हामीमा निकै उच्चस्तरको अध्ययनको आवश्यकता पर्दछ । हामीहरू आपूmलाई प्रगतिशील भन्ने तर व्यवहारमा पिछडिएको सोच राख्ने, रूढीवादको हरेक कुरामा संलग्न भएर बाँच्न खोज्ने, पदप्रतिस्था र सम्पत्तिको लोभ गर्ने, सुर्ती, चुरोट, मदिरालगायतको कुलतको संसर्गमा रहनेजस्ता नीच जीवनस्तरमा गिराउनु हँुदैन । समाजलाई प्रगतिशील संस्कार र संस्कृति हामीले आफ्नै व्यवहारवाट सिकाउन जरुरी छ । यसका लागि प्रगतिशीलतासम्बन्धी हाम्रो स्पष्ट दृष्टिकोण हुन जरुरी छ । अध्ययन नगरी हामीमा यस्तो दृष्टिकोण निर्माण हुन असम्भव छ । तसर्थ हामी यस क्षेत्रका प्रगतिशील पक्षधर स्रष्टाले यस प्रदेशको प्रगतिशील कला, साहित्यको विकास गर्न व्यापक रूपमा उच्चस्तरको पठन संस्कृतिको निर्माण गर्नुपर्दछ ।

जनप्रतिनिधि र कर्मचारीको भूमिका
कर्णाली प्रदेशको प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासका लागि जनताको मत प्राप्त गरी नीति निर्माण र निर्णय थलोमा क्रियाशील जनप्रतिनिधिका साथै बौद्विक प्रतिस्पर्धा गरी निर्णय कार्यान्वयनको क्षेत्रमा क्रियाशील सम्पूर्ण कर्मचारीले पनि सकारात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको छ । जनप्रतिनिधिले भाग लिने हरेक निर्णय प्रक्रियामा कला, साहित्य र संस्कृतिको विकासको एउटा एजेन्डा कहिल्यै छुट्नु हुँदैन । केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म रहेका हजारौं जनप्रतिनिधिका साथै यस क्षेत्रमा क्रियाशील कर्मचारीले प्रगतिशील कला, साहित्य र संस्कृतिको क्षेत्रमा सकारात्मक दृष्टिकोण राख्न सक्ने हो भने कर्णाली प्रदेशको प्रगतिशील कला, साहित्य र संस्कृतिको विकास तीव्र गतिमा अगाडि बढाउन सम्भव छ । यस प्रदेशलाई सभ्यता र सम्पन्नताको शिखरमा पु-याउन लामो समय लाग्ने छैन । खासगरी निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीले नेपालको संविधानको भाग ४ अन्तर्गत रहेको धारा ५१ उपधारा (ग) मा उल्लेखित कला, साहित्य र संस्कृतिको मूलमर्मलाई कार्यान्वयन गर्ने दिशामा थोरै मात्र पनि ध्यान दिन सक्ने हो भने प्रगतिशील लेखक, साहित्यकार र कलाकारले आफ्ना गतिविधि सञ्चालन गर्न, बलियो सङ्गठन निर्माण गर्न र प्रगतिशील कला–साहित्यको विकास गर्न महत्वपूर्ण योगदान दिन सक्ने छन् ।

शिक्षक बुद्धिजीवीको भूमिका
शिक्षक, बुद्धिजीवी समाजका सचेत र मार्गदर्शक तप्का हो । शिक्षक, बुद्धिजीवीको साथमा लाखौंलाख नयाँ पुस्ताले भविष्य निर्माणको बाटो पहिल्याइरहेका हुन्छन् । यसका साथै यिनै लाखौँ नयाँ पुस्ताका अभिभावक पनि यिनै शिक्षक, बुद्धिजीवीकै भरोसा गरिरहेका हुन्छन् । तसर्थ नयाँ पुस्तामा प्रगतिशील कला, साहित्य र संस्कृतिको छाप बसाल्नका लागि शिक्षक, बुद्धिजीवीको ठुलो भूमिका हुनुपर्दछ । कुनै पनि शिक्षक, बुद्धिजीवीले आफ्ना पहँुचमा रहेका नयाँ पुस्तालाई प्रगतिशील कला–साहित्य सिर्जनामा उत्प्रेरित गर्न सक्नुपर्दछ । प्रगतिशील कला–साहित्यको क्षेत्रमा क्रियाशील व्यक्ति, सङ्घ÷सङ्गठनलाई मद्दत गर्नुपर्दछ । शिक्षक, बुद्धिजीवीको भूमिका यस्तो हुनुपर्दछ कि कुनै एउटा स्कुल पढ्ने विद्यार्थी दश कक्षा उत्तीर्ण गरेर विद्यालय छाड्ने बेलासम्म प्रगतिशील विचार र संस्कृतिले लैस भइसकेको होस् । त्यसैगरी, समाजमा भएका पुराना रूढीवादी संस्कार संस्कृतिको क्षेत्रमा सांस्कृतिक रूपान्तरण गर्नका लागि यस प्रदेशका सम्पूर्ण शिक्षक, बुद्धिजीवी वर्गले भूमिका खेल्न सक्ने हो भने कर्णाली प्रदेशको प्रगतिशील कला–साहित्यको विकासमा थप मद्दत पुग्न सक्ने छ ।

पत्रकार तथा सञ्चारकर्मीको भूमिका
पत्रकार तथा सञ्चारकर्मीलाई राज्यको चौथो अङ्गको रूपमा चिन्ने गरिन्छ । समाजको हरेक पक्षलाई उजागर गरी आम नागरिकलाई सुुसूचित गर्ने काममा पत्रकार तथा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तसर्थ प्रगतिशील कला, साहित्य तथा संस्कृतिको विकासका लागि पत्रकार तथा सञ्चारकर्मीले पनि आफ्नोतर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ । यसका लागि पत्रकार तथा सञ्चारकर्मी सबैले प्रगतिशील कला, साहित्य र संस्कृतिको पक्षमा लेखेर, प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासका लागि गरिने गतिविधिको व्यापक प्रचार प्रसार गरेर आम नागरिकलाई प्रगतिशील कला, साहित्य र संस्कृतिको विषयमा सुुुसूचित पार्नुपर्दछ ।

उद्योगी तथा व्यापारीको भूमिका
उद्योगी तथा व्यापारी वास्तवमा राष्ट्रिय अर्थतन्त्रको मुख्य मेरुदण्ड हो । तसर्थ राष्ट्रका हरेक उद्योगी तथा व्यापारीमा पनि प्रगतिशील सोच र चिन्तनको विकास हुन जरुरी छ । मानिसको दिमागमा जति बढी प्रगतिशील सोच छ, त्यत्ति नै बढी उद्योग तथा व्यापार–व्यवसाय पनि प्रगतिशील ढङ्गले अगाडि बढ्न सक्दछ । आजको सन्दर्भमा आफ्नो उद्योग, व्यापार–व्यवसायलाई कसरी समाजवादी अर्थव्यवस्थाको मार्गमा अगाडि बढाउन सकिन्छ भन्ने सोचका साथ अगाडि बढ्नु नै उद्योगी तथा व्यापार–व्यवसायीका मुख्य चुनौती रहेको छ । उद्योगी तथा व्यापार–व्यवसायी यो चुनौतीलाई पार गर्नका लागि उनीहरूमा प्रगतिशील कला, साहित्य तथा संस्कृतिले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । तसर्थ हरेक चेतनशील उद्योगी तथा व्यापारीले अन्य क्षेत्रमा भैmँ प्रगतिशील कला–साहित्य तथा संस्कृतिको विकासको क्षेत्रमा थोरै भए पनि लगानी गर्नु जरुरी रहेको छ ।

राजनैतिक दलको भूमिका
चुनावी मतको आधारमा हेर्ने हो भने आज देशमा वामपन्थी राजनैतिक दल शक्तिशाली अवस्थामा देखा परेको छ । नेकपा (नेकपा) लाई हेर्ने हो भने स्पष्ट बहुमतका साथ सरकारमा बसेको छ । यो अवस्थामा यो सरकारले कुनै उदाहरणीय र राम्रो कार्य गर्नलाई कसैले छेक्न सक्ने अवस्था छैन । त्यति मात्रै होइन, सरकारबाहिर पनि नेकपा (मसाल), नेकपा विप्लव समूह, नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) जस्ता अन्य वामपार्टी पनि क्रियाशील रहेका छन् । यी तमाम वामपन्थी राजनीतिक दलका लागि प्रगतिशील लेखक संघ एकताको प्रतीक पनि हो । आफ्नो स्थापनाकालदेखि नै हरेक वामपन्थी प्रगतिशील लेखक तथा कलाकारलाई एकताबद्ध पार्दै यस सङ्घले वामपन्थी एकताको सन्देश दिँदै आएको छ । यसका साथै आम जनताको बिचमा वामपन्थी विचार, संस्कार र संस्कृतिको प्रचार प्रसार गर्ने कार्यमा पनि यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । वास्तवमा नेपालमा वामपन्थी राजनैतिक पार्टीको अवस्थालाई यो अवस्थामा ल्याइपु-याउनका लागि वामपन्थी राजनीतिको वैचारिक क्षेत्रमा प्रगतिशील लेखक संघको योगदान अतुलनीय छ ।

तसर्थ प्रगतिशील लेखक संघलाई मजबुत बनाउन, यसको सङ्गठनलाई विस्तार गर्न र यसले सञ्चालन गर्ने हरेक गतिविधिलाई सहयोग पु¥याउन विशेषतः वामपन्थी राजनैतिक दलले खुल्ला दिलले काम गर्न जरुरी छ । जसरी सिंगो देशमा वामपन्थीको अवस्था मजबुत देखिन्छ, ठिक त्यसैगरी यो प्रदेशमा पनि वामपन्थीको अवस्था मजबुत नै देखिन्छ । यो प्रदेशका थुप्रै वामपन्थी नेता÷कार्यकर्ता सत्ता र शक्तिको पहुँचमा पुगेको अवस्था रहेको छ । यी वाम पार्टीका यिनै नेता÷कार्यकर्ताले प्रगतिशील कला, साहित्यको क्षेत्रमा थोरै मात्र पनि ध्यान दिने हो भने हामीले कर्णाली प्रदेशको प्रगतिशील कला, साहित्य र संस्कृतिलाई नयाँ नमूनाका साथ विकास गर्न सक्छौँ । यसरी वामपन्थीको शक्तिलाई पनि हामीले यस प्रदेशको कला–साहित्यको विकासको सम्भावनाको रूपमा हेर्न सक्दछौँ ।

सामन्ती तथा रूढीवादी संस्कारको पहिचान र यसको विरोध
कर्णाली प्रदेशमा प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासका लागि हाम्राबिचमा अनेकौँ चुनौती रहेका छन् । यसरी प्रगतिशील कला–साहित्यको विकासमा चुनौती भएर खडा हुने हरेक पक्षको हामीले पहिचान गर्न जरुरी छ । विशेषगरी युगौँदेखि समाजमा जरा गाडेर रहेको सामन्तवादी संस्कारअन्तर्गत रहेका विभेद, शोषण, उत्पीडन, भ्रष्टाचार, छुवाछूत, धामीझाक्री, बोक्सीजस्ता अन्धविश्वास तथा रूढीवादी परम्परा, मदिरा सेवन, जुवातास, बहुपतिप्रथा, बहुविवाह, बालविवाहजस्ता अनेकौँ कुप्रथा र कुसंस्कारको भुमरीमा यो प्रदेशको सामाजिक जनजीवन चलिरहेको छ । समाज र मानव जीवनका लागि अनुपयोगी यस्ता अनेकौँ कुसंस्कारको विरुद्धमा चेतनाको द्वीप नजलाएसम्म हाम्रो समाज अगाडि बढ्न सक्दैन । यस प्रकारको चेतनाको द्वीप जलाउने कार्य प्रगतिशील लेखक सङ्घले गर्दै आएको छ र यसलाई यस प्रदेशमा झन् चम्किलो बनाएर बाल्न जरुरी छ । यसरी यस प्रदेशमा रहेका अनेकौँ यस्ता चुनौतीको सामना गरेर मात्रै हामीले यस प्रदेशमा प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासको सम्भावनाको खोजी गर्न सक्ने छौँ ।

निष्कर्ष
आफ्नो स्थापनाकालदेखि नै नेपालमा प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासका निम्ति प्रगतिशील लेखक संघले निरन्तर योगदान दिँदै आएको छ । यसको गतिविधिले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा साथै राजनैतिक परिवर्तनको क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । वैदेशिक हस्तक्षेप, सरकारका गलत नीति तथा क्रियाकलापका साथै समाजमा रहेका हरेक प्रकारको शोषण, दमन, अन्याय, अत्याचार, रूढीवादलगायतका सबै प्रकारका विकृति, विसङ्गतिका विरुद्धमा क्रान्तिकारी विचार बोकेर प्रगतिशील लेखक सङ्घ अगाडि बढिरहेको हुँदा समाजमा हुने सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि प्रगतिशील लेखक सङ्घको भूमिका महत्वपूर्ण रहेको छ । सामाजिक तथा सांस्कृतिक रूपान्तरणको यही कार्यदिशा बोकेर नै हाल प्रगतिशील लेखक संघ अगाडि बढिरहेको छ ।

यही कार्यदिशालाई आत्मसात गर्दै हामी कर्णाली प्रदेशमा प्रगतिशील कला, साहित्य र संस्कृतिको विकास कसरी गर्न सकिन्छ भन्ने सोचाइमा अगाडि बढिरहेका छौँ र यसको लागि प्रगतिशील लेखक संघ कर्णाली प्रदेशको तर्फबाट सक्दो प्रयत्न गरी नै रहेका छौँ । यसरी हाम्रोतर्फबाट प्रयत्न गरिरहँदा हाम्राअगाडि थुप्रै चुनौती खडा रहेका छन् । नीति, कार्यक्रम तथा योजनाको अभाव, भौगोलिक विकटता, कमजोर साङ्गठनिक अवस्था, आर्थिक समस्या, सांगठनिक कामका लागि सक्रिय लेखकको अभावजस्ता अनेकौँ चुनौती हाम्रासामु खडा छन् । तसर्थ यस प्रदेशमा प्रगतिशील लेखक संघको सङ्गठनलाई मजबुत बनाउनका लागि साथै यस प्रदेशमा प्रगतिशील, कला, साहित्यको विकासका लागि प्रगतिशील लेखक संघ केन्द्रीय समितिले बेग्लै योजना र कार्यक्रम बनाई लागु गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको छ ।

कर्णाली प्रदेश पिछडिएको र विकट भौगोलिक बनावट भएको प्रदेश भएता पनि यो प्राकृतिक स्रोतसाधनले सम्पन्न हुनुको साथै यो प्रदेश विविध जात/जाति र कला–संस्कृतिले धनी प्रदेश पनि हो । यसका साथै यो प्रदेशमा वामपन्थी राजनीतिक दलको अवस्था पनि मजबुत नै रहेको छ । यति हुँदाहुँदै पनि यहाँ पुरानो सामन्ती तथा रूढीवादी चिन्तन, संस्कार र संस्कृति पनि युगौँदेखि चल्दै आएको छ । तसर्थ यी र यस्तैखाले अनेकौँ विषयवस्तुको बिचबाटै हामीले कर्णाली प्रदेशमा प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासमा देखा पर्ने चुनौतीको सामना गर्दै नयाँ नयाँ सम्भावनाको खोजी गर्दै अगाडि बढ्नुपर्दछ ।