ब्लग:कर्णाली प्रदेश र रारासम्म को यात्रा।

290
कर्णाली प्रदेश भन्दा बित्तिकै धेरै मानिसको मस्तिष्कमा एउटा कुरा खेल्द्छ,त्यो हो अविकसित र पिछडिएको क्षेत्र।तर यो क्षेत्र अथाह सम्पत्तिले भरिएको छ।त्यो हो प्रकृतिले उपहारस्वरूप दिएको बिश्वकै अनुपम सौन्दर्य। यहि कर्णाली प्रदेशका बारेमा थुप्रै भिडियो हेरियो,कैयौंपटक समाचार सुनियो।तर भनिन्छ नि मानिसको एउटा बानी हुन्छ,उ आफैले नदेखेसम्म कुनै कुरा पत्याउन गाह्रो मान्दछ।त्यसैले यस बर्षको मेरो अविस्मरणीय भ्रमणको रुपमा रह्यो कर्णाली प्रदेश र अझ मुख्य गन्तव्य बन्यो रारा।पाल्पाबाट असोज ११ गते सुर्खेतको एक कार्यक्रमका लागि निस्किदा नै मेरो उत्साह थियो,नया ठाउँ को अवलोकन हुने भयो।अझ बिरलै हिडेको र घुमेको बुटवलबाट पश्चिम् लागेर कर्णाली प्रदेशसम्म पुग्न पाइने भयो।करिव ३७० कि.मि दुरि पार गरेर यस प्रदेशको केन्द्र सुर्खेतको बिरेन्द्रनगर पुग्दा साच्चै नै कर्णाली अविकसित रहेनछ है भन्ने महसुस भयो।तर पुरै प्रदेश भ्रमण नगरी राजधानीलाई मात्र केन्द्रमा राखेर आकलन गर्नु गलत हुने भान भयो।यद्यपि हाम्रो सुरुको यात्रा सुर्खेत सम्मको नै थियो।तर एउटा अमुर्त योजना पनि बनेको थियो सुर्खेत बाट रारा पुग्ने।अन्ततः दुई दिने कार्यक्रम सकेर आफ्नो योजनालाई मुर्त रुप दिदै हामी ६ जनाको टोलि रारा लागियो।
हाम्रो कर्णाली र रारा यात्राको सुखद सुरुवात भने भएन।यश बर्ष धेरै समयसम्म रहेको मनसुननै हाम्रो यात्राको च्यालेन्जका रुपमा रहेको थियो।किनभने रारासम्म पुग्नका लागि कठिन बाटाहरु तय गर्न पर्ने थियो।नभन्दै हाम्रो यात्राको उद्घाटन पनि झरीबाट नै भयो।तर बिस्तारै मौसम खुलेपछि भने मनमा छुट्टै आनन्द आयो।सुर्खेत बाट दैलेख पुग्दा सम्मनै हामीले विभिन्न दृश्यहरु नियालीसकेका थियौ।हुस्सुको बिचबाट कर्णाली राजमार्गको सुरुवाती यात्रा तय गरेकोमा दैलेखको डुङेस्वर पुग्दा सम्म भने मौसम खुलिसकेको थियो।दैलेखको यश ठाउमा हामीलाई दुई चिजले स्पर्श गर्यो।एउटा कर्णाली नदिको पहिलो झल्को र अर्को भाइरल भाइहरुले गाएको ‘काफल कमला’ गित।यी चिजहरुको आनन्द लिइसकेपछि हामी हाम्रो यात्रामा अघि बढ्यौं।उकाली ओराली हुँदै अघि बढेको कर्णाली राजमार्गले दैलेखको थुप्रै भुभागलाइ समेटेको रहेछ।दैलेख कटेर कालिकोट प्रवेश गर्दा तलबाट एउटा सुन्दर बजार देखियो।पहाडमा खोपिएका जस्ता देखिने ढुङ्गा र त्यस सङै रहेको बस्ती थियो,कालिकोटको सदरमुकाम मान्म।
कालिकोटको मान्म हुँदै नाग्म पुग्ने हाम्रो पहिलो दिनको योजना थियो।तर कर्णाली राजमार्गको कठिन साघुरो बाटोले केही हदसम्म हामीलाई दुख दियो।नाग्म पुग्नु भन्दा करिब १० कि.मि. अगाडी नै बाटोमा बिगि्रएको एउटा जिपका कारणले राजमार्ग नै अवरुद्द हुन पुग्यो।त्यसलाइ छिचोलेर नाग्म पुग्दा रातिको करिब २ बजिसकेको थियो।त्यो रात गाडीमै बिताएपछी भोलिपल्ट बिहानै एउटा उत्साह र उर्जाका साथ हामिले यात्रालाइ निरन्तरता दियौ।कालिकोट छाडेर जुम्ला प्रवेश गरिसके पछि हामीले हाम्रो यात्राको करिब आधा भन्दा धेरै बाटो पार गरिसकेका थियौ। नाग्म पछि आउने जुम्ला जिल्लाको सिजा उपत्यकाको मनोरम दृश्य अहिले पनि मस्तिष्कमा गहिरो छाप बनेर बसेको छ।यस उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ।चक्कुले काटे जस्तो मिलेर बनेको पहाडमा चरिरहेका गाइबस्तु देख्दा त्यो दृश्यलाई आँखा बाट ओझेल बनाउन मन लागेन।तर गन्तव्यमा पुग्न यात्रालाई निरन्तरता दिनुपर्ने थियो।गाडीबाट नै सिजाका सुन्दर दृश्य नियाल्दै अफ्ठ्यारा बाट हरु छिचोल्दै हामी जुम्लाकै गुठिज्युला पुग्यौ।पछिल्लोपटक निकै चर्चा कमाएको मार्सी चामलको भात पहिलो पटक यसै ठाउमा खाने सौभाग्य प्राप्त भयो।
त्यहा बाट रारा पुग्न धेरै समय नलाग्ने कुराले हामीलाई थप उत्साही बनाएको थियो।करिब २ घण्टाको यात्रा पछि हामी रारा राष्ट्रिय निकुञ्जको सुरुवाती स्थान भुलभुले पुगेका थियौ।रारा राष्ट्रिय निकुञ्जनै प्रवेश गरिसकेपछी रारा ताल धेरै टाढा नभएको आकल काट्यौ।तर यात्रामा सबै कुरा सोचे जस्तो कहाँ हुन्छ र?यस्तै नसोचेका कुराले त यात्रालाइ झन उत्कृष्ट अनुभव बनाइदिन्छ।नभन्दै हामी केही तल झरेर पिना भन्ने स्थानमा कठिन बाटो र गाडी फसेका कारण हामी गाडीको यात्रा अघि बढाउन सकेनौ।त्यहाबाट हामी पैदल नै रारा पुग्नु पर्ने भयो।त्यहाबाट करिब ५ घन्टा पैदल हिडेपछी हामी रारा पुग्दा रातीको करिब १० बजिसकेको थियो।कस्तो बिडम्बना रारा तालको किनारमै आइसकेपनी त्यसको सौन्दर्य अवलोकन गर्न हामीलाई अझै केही समय कुर्नु पर्ने भयो। अर्को दिन सबेर हामी राराको भ्यु पोइन्ट मानिने मुर्मा टपकालागी निस्कियौ।मुर्मा गाउका जनताको दैनिकी नियाल्दै करिब २ घन्टा हिडेपछी हामि मुर्मा टप पुग्यौ।त्यहाबाट देखिएको सुन्दर,स्वच्छ र कन्चन रारा तालमा आकासको बादलको छाया थियो।दिनमा ३ पटक रङ फेर्ने राराको रङ केही सेतो जस्तो देखिएको थियो।तर अलिकती आकाश खुलेकाले केही भाग निलो पनि देखिएको थियो।यस्तो कठिन यात्राको स्मरण राराको सौन्दर्यले केही क्षणमै बिलिन बनाइदियो।आकाशमा लडिबुडी गर्दै खेलेका बादलले राराको दृश्यलाई केही धमिलो बनाइदिएको थियो।तर पछि पनि परेर खुलेको आकास सङैको राराको दृश्य भने हेर्न लायक थियो।यहाको दृश्य देख्दा लाग्यो अहा कति भाग्यमानी ती मानिस जसले दैनिक रुपमा यस्तो सौन्दर्यलाई स्पर्श गर्न पाएका छन।केही समय मुर्मा टपमा बिताएपछी हामी त्यहाबाट झरेर रारा किनारमा पुग्यौ।रारा किनारमा बसेर रारा तालको पानीलाइ स्पर्श गर्न पाउदाको क्षण हामीले कल्पिने स्वर्गको भन्दा कम थिएन।
साच्चै नै यो एउटा अविस्मरणीय यात्रा बन्न पुग्यो।हामीले सुनेको,हेरेको भन्दा निकै पृथक लाग्यो कर्णाली प्रदेश।अथाह सम्भावना लुकेको खजानामा सानो प्रयास मात्र गर्न सक्ने हो भने यस क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउन सक्छ।पर्यटनका साथ साथै यहाँ उत्पादन हुने बस्तुलाइ बजारको खाचो रहेको र त्यसमा राज्यको उचित ध्यान नपुगेको महसुस हामीले पनि त्यहा पुग्दा गर्यौ।यस प्रति गम्भीर भएर लाग्ने हो भने यस प्रदेशले छिट्टै नै बिकासको फड्को मार्न सक्छ।यिनै निश्कर्श सहित जिन्दगीमा एक चोटि रारा पुग्ने धोको पूरा गरेर हामी त्यहा बाट फर्कियौ।