मनका आँखाले धेरै देखेँ
आँसुका छालहरूले रुझेर छोएँ
जिन्दगी दुखेको बेला पनि
उसका प्यासहरू..

जिन्दगी चङ्गा जस्तै लट्टाइको धागोमा बाँधिएर उड्दै थियो माथी माथी
कहिले दिनको प्रकाशसंगै
कहिले जुनकीरी को उज्यालोसंगै
केही खुसीहरू बेलुनमा भरिएको हावा झैँ फुट्दै उड्दै थिए ।

टुकिको उज्यालोमा पनि
दुबोका गलैँचाहरू टेकेर
स्वागतार्थ निलो आँसुका मसि लिएर सहिछाप गर्न तम्तयार उभिएको आफ्नै छाँया देखेँ जिन्दगीमा ।

जिवनका रंगहरूमा
केहि रहरहरू होमिएका थिए दु:खको वेदीमा

केही मक्किएको गारो झैँ गर्लम्म ढलेका थिए ।

कर्तब्य र जिम्मेवारी ध्यानास्थ ऋषि झैँ बिना हलचल बसेको थियो जिन्दगीमा ।

जिन्दगीका अनेक रंगमा दौडी रहेका
बाटोहरू माझ सबै ~सबै देखेँ
सकिन केवल जिवनको अर्थ देखाएर बुझाउन तिमिलाई
सिसा झैँ चर्किएको हृदयभित्रको दुखाई
अनि …
सकिन शीतका थोपाले अञ्जुली भरेर तिम्रा प्यासहरू मेटाउन ।