भक्तपुर, २६ असोज । सत्तासीन दलका नेताहरू भित्री मनदेखि भ्रष्टाचार अन्त्य गर्न लागेका छैनन्, भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ सरकारले पाइलै चालेको छैन ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा व्यक्त गर्नुभएको हो ।
नेपाली जनता र भारतीय जनताको समस्या उस्तै भएको हुँदा जनताको समस्या समाधान गर्न नेपाल र भारतको राम्रो सरकार चाहेको आशा गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “तर, भारत र नेपाल सरकार पुँजीपति वर्गको सरकार हो ।”
चीनको आर्थिक र प्राविधिक सहयोग भारतको भावना बदल्न होइन, उहाँले भन्नुभयो ।
नेपाललाई आत्मनिर्भर बनाउन नदिन नै भारतले अनेक असमान सम्झौता र सन्धि तथा षड्यन्त्र गरिरहेको उल्लेख गर्दै उहाँले राम्ररी सञ्चालन भइरहेको छाला जुत्ता कारखाना र कागज कारखाना सरकारले निजीलाई सस्तोमा बेच्यो भन्नुभयो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणसम्बन्धी राखेको जिज्ञासाको जवाफमा अध्यक्ष रोहितले नेपाल र नेपालीको निम्ति फाइदा हुने काममा सम्झौता गर्नुपर्छ, सरकारले चलाउन नसक्ने कुनै योजनामा सम्झौता गर्नु उपयुक्त हुँदैन भन्नुभयो ।
मित्र देश चीनले गर्ने सहयोग दीगो हुने विचार व्यक्त गर्दै उहाँले नेपालीले स्वच्छ मनले मागेको सहयोग सही हुने विश्वास व्यक्त गर्नुभयो ।
के वर्तमान सरकार कम्युनिस्ट होइन ? भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “वर्तमान सरकार कम्युनिस्ट सरकार होइन, यो बुर्जुवा सरकार हो, यो सरकारले बुर्जुवा वर्गले जति काम गरे पनि राम्रो हुनेछ ।” राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणले प्राचीनदेखिको सम्बन्ध अझ राम्रो र दीगो हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपालका योजनाहरू विदेशी कम्पनीलाई जिम्मा (ठेक्का) दिंदा नेपालीले काम नपाउने उल्लेख गर्दै अध्यक्ष रोहितले नेपाली कम्पनीले काम गरे नेपालीले काम पाउँछन् र जनशक्ति पनि तयार हुन्छ भन्नुभयो ।
मेलम्चीको पानी उपत्यकावासीले उपयोग गर्न पाउने आश्वासन सरकारले बाँडेको दसकौं बिते पनि योजना सफल नभएकोमा चिन्ता व्यक्त गर्दै उहाँले सरकारी नेताहरूको कमजोरीले गर्दा देश परनिर्भर हुँदै गएको हो भन्नुभयो ।
सरकारले सोचेर काम गरे नेपाल र नेपालीको लागि फाइदा हुन्छ, नेपालीहरू भोकभोकै मर्ने छैनन् अध्यक्ष रोहितले भन्नुभयो ।